कोरियाबाट कोरोना गन्थन

5069
नेपाल अनि युरोप अमेरिकातिर भएका आफ्ना धेरै आफन्त र साथीहरू लकडाउनमा छन् र यस्तो बेलामा फेसबुक लगायतका सन्जाल मार्फत आफ्ना अनुभव र पाएका सूचना मार्फत भलाकुसारी गर्न पाए भौतिक दूरि भए पनि मानसिक दूरिमा नजिकिने थिइयो । तर आफ्ना स्थिति उल्टो, यही बेला आफू काम गर्ने कम्पनी व्यस्त भएको र जसरी पनि भ्याउनु पर्ने व्यत्तिगत जिम्मेवारीका केही कामले गर्दा अत्यन्तै व्यस्त भइयो । बाल वाङमयका साहित्यकार मित्र नेत्र तमाङ मार्फत भिडियो भेला मार्फत कोरोना शिर्षकमा बाल कथा लेखन वर्कशपमा पाएको निम्तामा पनि सहभागी हुन पाइएन । आाज आइतबार विदा पाएकोले फेसबुकमा केही गन्थन गर्दैछु । आधिकारिक लकडाउन नगरिकनैै कोरियाले कसरी नियन्त्रण गर्न सफल भयो भनेर साथीहरू सोध्नुहुन्छ । हुन म समाचारमा त्यति अपडेट नहुने हुनाले मैले भन्दा पनि न्युज र सामाजिक संजालमा अपडेट हुने नेपालतिरका साथीहरू कोरियाको बारेमा बढी जानकार हुनसक्नु हुन्छ । तर मैले प्रतक्ष्य देखेका केही अनुभव शेयर गर्दैछु । सुरुमा कोरिया कोरोना सङ्क्रमणमा चीन पछि दोस्रो थियो । यद्यपि अझै पनि नयाँ सङक्रमण देखिदैछ , अन्य ठाउँको तुलनामा कोरियामा नियन्त्रण भएको जस्तो देखिन्छ । कसरी सम्भव भयो होला ?
मैले अनुभव गरेको तीन वटा कुरा….
१) मास्क संस्कृति
अहिलेको समस्यामा मात्र होइन । कोरियामा पहिले पनि मास्क लगाउने दृष्य प्रशस्त देखिन्थ्यो । कोरियाको हावामा चीनको मरुभूमिबाट उडेर आएको र वायुप्रदर्शनले उत्पादन गरेको मिसिमन्जी(मिहिन धुलो)को समस्या छ । समस्या धेरै हुने दिन मोबाइलमा सुरक्षामेसेज आइरहन्छ । त्यसैले धेरै कोरियाली विशेषत बुढाबुढी र केटाकेटीलाई मास्क लगाएर हिँड्थे । तसर्थ मास्क उत्पादन र विक्रीवितरण पहिले देखि प्रसस्तै हुन्थ्यो । महामारी भए पछि पनि अरू देशको जस्तो यहाँ ठूलो समस्या भएन । यहाँ पनि सुरुमा त ह्वात्तै माग बढेकोले समस्या भयो र मान्छेले कोटामा पाउने दुईवटा मास्क किन्न पनि दुईतीन घन्टासम्म पनि लाइनमा बसे । तर नागरिक परिचयपत्रको आधारमा निश्चित जन्मवर्ष भएकाले निश्चित दिनमा र हुलाक जस्ता सरकारी कार्यालयबाट पनि किन्न पाउने गरी सबैले सहजै मास्क किन्न पाउने व्यवस्था भयो । पैसा धेरै हुनेले कालाबजारीबाट महङ्गोमा धेरै किन्न पाउने घिनलाग्दो समाचार कोरियामा सुनिदैन । तर अत्यावश्यक भएको मास्कको मूल्य केही बढी भयो भन्ने जनगुनासोचाहिँ सुनिन्छ । तर मास्क लगाए पछि मास्कमा नै बढी जिवाणु जम्मा हुने र त्यही मास्कलाई हातले छुने र त्यही हात मार्फत जीवाणु फैलने समस्याले गर्दा धुन मिल्ने मास्कलाई धुने र डिस्पोज गर्नुपर्नेलाई सही ठाउँमा डिस्पोज गरिहाल्ने कुरामा कोरियाली सचेत छन् । त्यसकारण मास्क सहयोगी होइन समस्या पनि हुन सक्छ भनेर सचेत हुनु पर्दो रहेछ ।
२) चुस्त स्वास्थ्य व्यवस्था
कुनै पनि देशको स्वास्थ्य व्यवस्था महामारीको समयमा रातारात चुस्त बनाउन सकिने कुरा हैन । नेपालमा यो छैन उ छैन सरकारले यो गर्न सकेन भनेर टाउको दुखाएर काम छैन । सामान्यसमयमा राम्रो भएको व्यवस्थापनले नै महामारीमा राम्रो गर्न सक्ने हो । कोरियामा अनिवार्य स्वास्थ्य विमा छ । त्यही वीमा नविकरण गर्न पनि अनिवार्य रूपमा विभिन्न स्वास्थ्य परीक्षण गरिरहनु पर्छ । आफ्नो स्वास्थ्य स्थिति प्रति सचेत रहेर स्वस्फुर्त परीक्षण गर्ने संस्कृति पनि धेरै छ । त्यसैले धेरै आधुनिक परीक्षण विधि र प्रयोगशालाको विकास भएको छ । त्यसैले कोरोना समस्या हुना साथ कोरोना परीक्षणको समाधान तुरुन्त भइहाल्यो । तसर्थ नेपालमा किन कोरोना परीक्षण सर्वसुलभ र सहजै हुन सक्दैन भनेर टाउको दुखाउनु भन्दा पनि मैलै बनबाट खोजेर ल्याएको च्याउ, भिरमौरी जस्ता खाद्यान विषालु छन कि छैनन् अथवा मेरो कुवाको पानीमा आर्सिनिक छ कि छैन भनेर जाँचिदिने प्रयोगशाला मेरो गाउँमा किन भएन भनेर चिन्ता गरेर त्यस्ता प्रयोगशाला नै पहिले बनाउँदै नयाँ र जटिल प्रयोगशाला बनाउने तिर उन्मुख भएमा भइपरिआउँदा पनि परीक्षणको समस्या हुँदैन ।
३) सामाजिक दूरि, जनचेतना र सरसफाइ
आधिकारिक लक डाउन नभए पनि कोरियाली सरकारले सुरुमा नै सामाजिक दूरि कायम राखौँ भनेर सार्वजनिक कार्यक्रमहरू तथा चर्च आदिमा भेला नहोऔँ आह्वान भयो । फिल्महल विद्यालयहरू बन्द भए र अनलाइन शिक्षा सुरु भयो । कार्यस्थल बन्द नगरे पनि सचेतना अप्नाइयो र अनलाइनबाट हुन सक्ने काम अनलाइनबाटै(यद्यपि पहिले पनि यस्तै थियो) गर्न प्रोत्साहित गरियो । यदि मानव भाइरस नभएको भए त कोरिया अहिले जस्तो समस्या पनि हुने थिएन । मानव भाइरस धैरै जस्तो धार्मिक समुदायमा रमाएर बस्दा रहेछन् । कोरियामा सामाजिक दूरि कायम राखौँ भनेर भन्न सुरु भइसकेकै बेलामा थेगुशभन्ने एउटा क्रिश्चियन समूह सिन्छन्जी Church of Jesusले हामीलाई नयाँ जिससको रूपमा जन्मिएका हाम्रा बास्टरले बचाउँछन् भन्दै भेला भए । त्यही भेला नै कोरियामा धेरै संक्रमण फैलिनुमा प्रमुख कारण मानिन्छ । अहिले इन्डियामा कुनै एउटा मुस्लिम भेला प्रमुख कारण भए जस्तै । पछि त्यो समूह यति बदनाम भयो कि अरू समूहले पनि भेला गर्ने आँट गरेनन् ।
र अन्त्यमा कोरियाका साथीभाइलाई …आफू आफ्नै स्वार्थ र जिजीविषाले गर्दा विदेश पलायन भए पनि मन नेपाल मै हुँदो रहेछ । मेरो सबैभन्दा नजिकको भनेको मेरो आमा । तर म ढुक्क छु । मेरो दाइ रामशरण कार्की पौरखी र सुपुत्र निस्कोले मैले कुनै चिन्ता गर्न परेको छैन । छोराछोरीहरू लुलो गरी भए पनि दरो गरी भए आफ्नो खु्ट्टा टेक्न सक्ने भइसके । जिरो दशमलब केही प्रतिशत केही गर्न सकिन्छ कि भनेर अघिल्लो हप्ता एनआरएन कोरियाको अभियानमा केही सहयोग गरेँ । उनीहरू के गर्दैैछन् मैले न्युज हेरेको छैन तर हामी आन्सानमा भएका केही साथीभारूले नेपालमा केही पिपिइ पठाउन सकिन्छ कि भन्ने प्रयत्न गर्ने सल्लाह गर्दा हामीले गर्ने सहयोगको मात्रा र नेपालको समस्या(पैसा होइन कि सोच र व्यवस्थापन) लाई ध्यानमा दिँदै अहिले हाम्रो फेसबुके अभियान भन्दा पनि नेपालकै माटोमा आफ्नो जीवन खियाउने महादेव पुनको अभियान जस्ता आफ्नो मन खाएको अभियानलाई सहयोग गरौँ सल्लाहा भएकोले उनले बनाउन लागेको पिपिइमा थोरे धेरै थोरै (अहिले फेसबुकमा गन्थन नगरेर घुम्न गएको भए हुने जति खर्च ) सहयोग गर्दैछु । मन शान्तिको लागिको लागि ।
फेरि अन्त्यमा ,
मेरो एउटा साथी, उसकै अनुरोधमा नामचाहिँ गोप्य, ले सोध्यो ।
दाइ, तपाईँ के पठाउनु हुन्छ , म पठाइदिन्छु ।
मैले भनेँ ।
म उत्तर कोरियाको किम जोङइललाई पठाइदिन्छु । किनभने उसले मानवता र प्रकृति पूजा गर्ने वैदिक सभ्यतालाई नबुझ्ने तर गाईको मुत खाएर बाहुनलाई दान गरेमा कोरोना लाग्दैन भन्ने बाहुने हिन्दू गुरु वा जिसस र अल्लाहाले कोरोनाबाट मुक्त गर्छन भन्ने बास्टर र मुर्कट्टालई गोलि हान्न सक्छ ।
उसले सोध्यो ,
दाइ, उसले के भन्यो त ?
मैले लाज लागेर मनमनै उसको उत्तर भनेँ ,
ठूलो कुरा नगर , सकेमा आफ्नै गाउँठाउँ र छिमेकमा सकेको सानो सहयोग गर । नसके सरकारको लकडाउन आज्ञा मान्दै गमलामा सकिन्छ कि छेउको खाली करेसामा रोप्दै खाने तरकारीको व्यवस्था गर । बाइ ।
प्रतिक्रियाहरू