कोरोना संकटका विच कोरियामा आम निर्वाचन सम्पन्न, सत्तारुढ डेमोक्रयाटिक पार्टीको जीत

1038

कोरियामा हिजो सम्पन्न २१ औँ आम निर्वाचनमा सत्तारुढ डेमोक्रयाटिक पार्टी विजयी भएको छ।  यस अघि पनि डेमोक्रयाटिक पार्टीले लगातार ३ चोटी जीत हासिल गरिसकेको थियो। कोरिया सहित विश्वब्यापी रुपमा फैलिरहेको कोरोनाको त्रासका बिच पनि मतदाताहरुको बाक्लो उपस्थितिमा आमनिर्वाचन सम्पन्न भएको यो पहिलो उदाहरण हो। यो पटकको आमनिर्वाचनमा ६६.२ प्रतिशत मतदान भएको छ, जुन पछिल्लो २८ वर्षकै उत्कृष्ट सहभागिता प्रतिशत रहेको बताईएको छ। निर्वाचनमा सत्ताधारी दल डेमोक्रयाटिक पार्टी अफ कोरिया (डिपीके) र मुख्य विपक्षी पार्टी युनाइटेड फ्युचर पार्टी (युएफपी) प्रतिष्पर्धामा देखिएका थिए।

निर्वाचनमा सत्तारुढ डिपीकेले कुल ३०० सिटको लागि भएको निर्वाचनमा १६३ सिटमा जीत हासिल गरेको राष्ट्रिय निर्वाचन आयोगले बताएको छ। यता मुख्य विपक्षी पार्टी युएफपीले भने जम्मा ८४ सिट आफ्नो पोल्टामा पार्न सफल भयो। आफ्नो पार्टी पराजित भएसँगै असन्तुष्ट रहेका युएफपीका अध्यक्ष ह्वांग क्यो अहनले पार्टीवाट राजिनामा दिने घोषणा गरेका छन्।

सन् २०१७ मे मा सम्पन्न २० औँ राष्ट्रपतिय निर्वाचनबाट आएका मुन जे इन हाल कोरियाका राष्ट्रपति छन्। हिजो सम्पन्न भएको आमनिर्वाचनलाई राष्ट्रपति इनले विशेष चासोका साथ हेरेका छन्। कार्यकाल सकिन करिब २ बर्ष बाँकी रहेको अवधिमा पार्टीले हासील गरेको परिणामले कोरियाको अर्थ-व्यवस्था, कुटनिती, न्यायिक सुधार र अन्य क्षेत्रमा मुख्य नितिहरु अघि बढ्ने कुरामा आफू विश्वस्त भएको उनले वताए।

निर्वाचनमा कुल ३५ वटा दलले प्रतिष्पर्धा गरेका थिए भने निर्वाचन स्थलमा सुरक्षा तथा सामाजिक दुरी कायम गरेरै मत हाल्ने व्यवस्था गरिएको थियो।

कोरियामा अहिले कोरोनाको केन्द्र बिन्दु मानिएको थेगु शहरमा संक्रमितको संख्या शुन्य भइसकेको छ भने दैनिक जसो देखा परेका नयाँ संक्रमित पनि ३० भन्दा कम रहेका छन्। कोरोनाको वावाजुत पनि मतदाताहरु मास्क लगाएरै भए पनि मतदान गरि आम निर्वाचन सफल पार्नु कोरियाको अर्को सफलता मान्न सकिन्छ।

 

प्रतिक्रियाहरू