जातजातिलाई जोडेर शब्द प्रयोग गर्दा गालिगलौजको अर्थ लागेर विवाद हुन्छ नै । भर्खरै पूर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले कुनै प्रसङ्गमा टपरे बाहुन भन्ने शब्द प्रयोग गरेकोमा त्यसको पक्ष र विपक्षमा सामाजिक संजालमा थुप्रै टीकाटिप्पणी हेर्न पाइन्छ । बाबुराम जस्तो यो शब्द प्रयोग उचित हुन्थ्यो हुँदैनथ्यो बहसको विषय हो तर हिन्दु सनातन संस्कृति अनुसार कर्मकांड गर्ने पुरोहितलाई गुरु भन्न पर्नेमा किन टपरे बाहुन भनेको होला भनेर खुल्दुली जागेकोले केही लेख्दैछु ।
लेख्नु भन्दा अगाडि आफैलाई प्रश्न गर्छु । टपरे बाहुन व्राह्मण जातिलाई गालि गर्ने शब्द हो ? कदापि होइन । वैदिक कालमा वर्णव्यवस्थाको सुरुवात हुँदा जन्मको आधारमा नभएर गुण र कर्मको आधारमा वर्ण व्यवस्था गरिएको थियो । जस अनुसार व्राह्मणलाई उच्च वर्ण मानियो किनभने उनीहरूलाई वेदको पाठक र परात्माको ज्ञाता भनेर ठानिन्थ्यो । विस्तारै वर्णको आधारमा नभएर जन्मको आधारमा व्राह्मण मान्न थालियो र जाति बन्दै गयो । वैदिक सभ्यतामा सुरु भएको वर्ण व्यवस्था विस्तारै वैज्ञानिक हुँदै मान्छेको क्षमता र कर्म अनुसारको पेसामा परिवर्तन भई समाजको व्यवस्थापन हुनु पर्नेमा बाउले गरेको पेसा नै छोराछोरीले गर्नु पर्ने चलन चलेर जाति प्रथाको सुरुवात भई वैदिक सभ्यताको सुन्दरतामा सबैभन्दा कडा कोरोना भाइरस लाग्यो । वुद्धको समयसम्म आइपुग्दा यो प्रथा पुरै विकृत भइसकेको थियो । त्यसैले बुद्धले भनेका थिए “ब्राह्मण जन्म र गोत्रले बन्ने होइन । विषयभोगमा लिप्त नभएर धर्ममा रही पवित्र हुन सक्ने नै ब्राह्मण हो ।“
हुँदा हुँदा जाति प्रथा यति विकृत भयो कि शिल्पी समुदायलाई शुद्र मानी छुवाछुत प्रथाको सुरुवात भयो । मेरो विचारमा हिन्दु धर्म प्रभावित भारत वर्षमा छुवाछुत प्रथा नै सबैभन्दा कलङ्कित र अक्षम्य सामाजिक अपराध हो । यदि शिल्पी समुदायको शीप, ज्ञान र कलाको सम्मान गर्दै उनीहरूलाई उचित सम्मान दिएको भए आज हिन्दू समाज अति नै सुन्दर समाज हुने थियो । तर लोभि पापीले अर्कै इतिहास बनाइदिए । यसमा एउटा मनोविज्ञानले काम गरेको हो । त्यो के भने मान्छे रिन, गर्भ र शक्ति पाउँदा असाध्यै रमाउँछ । त्यसलाई फिर्ता गर्दा वा डेलिभरी गर्दा असाध्यै पीडाको महसुस गर्छ । सुरुका व्राह्मणहरूले जुन इज्जत र आर्थिक लाभ पाए त्यो अरूका सन्तानले नपाउन भन्ने लोभ जागेर आफ्ना सन्तानले मात्रै वेद पढ्ने प्रथा चलाए । त्यो बेलाका शासकरूपी राजाहरूलाई विष्णु भगवानको अवतार भन्दै चाकरी गर्न भ्याए र राजाहरूले पनि यही भ्रम व्राह्मण मार्फत जनतामा फैलाएर आफ्नो सामन्ती सत्ता लम्ब्याउन सफल भए । नेपालमा राणाकाल सम्म पनि जातीय भेदभाव कति अन्यायपूर्ण थियो भने राज्यद्रोहको मुद्दामा अरू जातकाले काटिनु पर्ने तर बाहुन भएमा जेल बसे मात्र हुने अनि राणा थरका जन्मिएमा लुते पनि जर्नेल हुने तर सक्षम तामाङ युवाले चाहिँ पिपाभन्दा माथि जागिर नपाउने, शिल्पी समुदायमाथिको अन्याय त कुरै नगरौँ । आज यो प्रथा कानुनी रूपले हटिसकेको छ तर हिजोको घाउ अझै दुःख्न नछोडेको र सामाजिक रूपले अझै पनि केही अवशेष रहेको हुनाले बाबुरामले टपरे बाहुन भन्दा केहीले मन दुखाए पनि ताली बजाउने पनि धेरै हुँदा रहेछन् ।
अब आऔँ, कर्मकाण्ड र टपरे बाहुन शब्दको वियुत्पत्तिबारे । मानिस व्यत्तिगत विचारमा जस्तोसुकै होस् । उसका परिवारमा हुने जन्म, मृत्यु, विवाह जस्ता अवसर अथवा पूजामा उसको सम्प्रदाय र समाजका चलेको संस्कृति अनुसारको कर्मकांड गर्न परेको हुन्छ । नेपालको हिन्दु समुदायले यस्तो बेलामा व्राह्मण जाति कै पुरोहित चाहिने चलन छ । त्यसको कारण व्राह्मण पवित्रतामा बसेका हुन्छन् र संस्कृत पढेकाले वेद मन्त्र उच्चारण गर्न सक्छन् भन्नाले हो । गुरु भनेर सम्मान पाउने वा टपरे बाहुन भनिनेमा उनीहरूको आचरण र व्यवहारमा भर पर्छ । उनीहरू समाजमा सदाचारमा बसेका छन् र पढेलेखेको मानिएमा पण्डित वा गुरु भनिन्छ र समाजमाचाहिँ अनेकौँ कुकिर्ति गरेको सबैलाई थाहा हुने तर बाहुनकै छोरो भएकै भरमा कनीकुथी किताब पढिदिएर टपरी सोहर्न मात्र लागेमा टपरेबाहुन भनिन्छ । यसमा दक्षिणा मनोविज्ञान पनि हुन्छ । कर्मकांडगर्नेलाई गक्ष अनुसारको दक्षिणरूपी पारिश्रमिक दिने चलन हुन्छ । कतिपय पुरोहित बढी लोभी भएर दानलाई मात्र बढी प्राथमिकता दिई जजमानलाई बोझ दिन्छन् । मान्छे मरेमा बाहनुलाई गाईदान दिने चलन छ । तर एउटा गाउँमा घरमा गाई नभएमा बाहुनलाई बाख्रा दिए पनि हुन्छ भनी पुरोहितले गरीब विधुवाको घरमा भएको एउटा बाख्रा पनि लिएर गयो रे । यस्ता पुरोहितले पनि आफूलाई टपरे कहलाएका छन् । तर अहिले हाम्रो समाजले कर्मकांड गर्ने अशल आचरणका पुरोहितलाई पनि टपरेबाहुन भनेर होच्याउने चलन बढेको छ । यसमा जातीय उत्पीडनको विद्रोह नै मुख्य कारण हुन सक्छ र हिन्दू धर्म नै नमान्ने जनजाति समुदायमा हिन्दु धर्मको कर्मकांड लादेर पनि वितृष्णा जागेको हुन सक्छ । त्यसैले धेरै पुरोहितका छोराहरू यो पेसा अप्नाउन अस्वीकार गरिरहेका छन् र कति ठाउँमा कर्मकांड गरिदिने पुरोहितकै अभाव भएको छ । मेरो विचारमा यदि हामीले कर्मकांड पेसालाई मर्यादित बनाउने हो भने र साँच्चीकै जातीय भेदभाव पनि अन्त्य गर्ने हो भने अब पुरोहितको रूपमा बाहुन जातिकै पुरोहित नखोजेर आआफ्ना कुलवंश वा सम्प्रदायले संस्कृत पढेका र सदाचारमा बसेका व्यक्ति जुनसुकै जातको भए पनि पुरोहित बनाउने, अझ महिलालाई पनि पुरोहितको रूपमा स्वीकारेमा सुनमा सुगन्ध हुन्छ होला । अनि कर्मकांड विधिका किताबहरूलाई नेपालीमा पनि प्रकाशित गरी सर्वसुलभ बनाउन पनि सकिन्छ ।
भारतमा धेरै सम्प्रदायले पुराहितका रूपमा व्राह्मण नै चाहिने चलन हटाएर कर्मकांड पेसालाई मर्यादित बनाउँदै छन् । आर्ट अफ लिभिङ, आर्य समाज, गायत्री परिवार आदि सम्प्रदायमा पुरोहित हुन व्राह्मण नै हुनुपर्छ भन्ने छैन । आवश्यक शिक्षा हासिल गरेको र त्यो सम्प्रदायको आचरणमा बसेको व्यक्ति पुरोहित हुन्छ । उसको पारिश्रमिका पनि तोकिदिएको हुन्छ जसले गर्दा ऊ पनि अति लोभ गर्दैन र जजमानले पनि दक्षिणाको भार महसुस गर्दैन ।