सम्माननिय प्रधानमन्त्री ज्यु लाई कोरिया बाट खुल्ला पत्र , नेपालका नदीमा दलितले अझै कति रगत बगाउनु पर्ने ?

1284

सम्माननिय प्रधानमन्त्री ज्यु नमस्कार ,

पछिल्लो समय बिश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ ले देशलाइ ग्रस्त बनाउदै गैरहेको छ ।त्यससगै झन्डै एक महिनादेखि मौलाएको राजनीतिक खिचातानी को ग्राफ पनि निकै उच्च बिन्दुमा पुगेको अनुभब आम जनताले गरेका छन् ।दैनिक जसो एक पछि अर्को गर्दै विभिन्न शिर्षकमा थपिएका जटिलता कारण पक्कै पनि तपाइले सन्तोषको सास फेर्न पाउनु भएको छैन होला भन्ने मलाइ लागेको छ ।एक त तपाईं आफै शारीरिक रुपमा अस्वस्थ हुनुहुन्छ अर्को कुरा आफ्नै जेट बिमानका ‘क्रु मेम्बर’ हरु बीचमा आएको एक प्रकारको असमान्जस्यताले उडान भर्दै गरेको विशाल जेटलाइ ‘सेफ ल्यान्डिङ ‘ गराउन झन्डै फलामको च्युरा चपाउन सरह भैसकेको अबस्थाबाट समय गुजारिरहनु भएको छ ।यद्यपि तपाइको क्षमता ,कुटिलता र अनुभबताले यी सबै समस्या सकारात्मक तरिकाले हल हुनेछन् भन्ने कुरामा आशाबादी पनि छौ ।

प्रधानमन्त्री ज्यु , तपाईं देशको एउटा कार्यकारी प्रमुख भएको हैसियतले जनताका राम्रा-नराम्रा, शुभ-अशुभ, सफल-असफल, हासो-रोदन ,भोक-तिर्खा सबै सुन्नु पर्ने र हेर्नू पर्ने हुन्छ ।राज्यका तर्फबाट कतिपय सवालमा हुँदै नभएको त हैन तर जति हुन सक्थ्यो र गर्न सकिन्थ्यो त्यति बिल्कुल भएको छैन ।राज्य सन्चालनका कुरा म जाबो बबुरोले यहा भन्न पर्ने त हैन सारा जगले नै देखिरहेको छ ।तर यस्ता समस्याहरुलाइ एउटा कुशल नेतृत्व ले सम्भब भए सम्म राज्यका तर्फबाट यथाशक्य चाडो एड्रेस गर्नु पर्ने स्थानमा बिराजमान हुनुहुन्छ ।तर यस्तो ऐतिहासिक सुबिधा पाएको स्थानमा रहदा पनि किन किन्तु परन्तु आउछन् ? जनता जान्न चाहन्छन् । त्यसकारण हजारौं पिडाहरुको प्रतिनिधित्व गर्दै केही गन्थन कोरेको छु ।बिज्ञानले प्रबिधिलाइ बरदान दिएको छ यो गन्थन तपाईं समक्ष पुग्न पनि सक्छ नपुग्न पनि सक्छ ।

प्रधानमन्त्री ज्यु , कोभिड -१९ का कारण देशको राजधानीमा हजारौ मजदुर हरु भोकभोकै छन् ।कतिपय मजदुर हरु खाली खुट्टा सयौ किलोमिटर पैदल पार गरेर अफ्नो घर फर्किएका छन् ।त्यसरी पैदल यात्रा तय गरेका कतिपयले आफ्नो परिवार भेट्नै नपाइ बाटोमै ज्यान गुमाएका छन् ।त्यति मात्र हैन सिमानाका नेपालीहरुको त कुरै छाडौ त्यसले देशको इज्जत माथि नै धज्जी उडाइसक्यो । प्रबासमा अलपत्र त्यतिनै छन् ।बिडम्बना हिजो मात्र भक्तपुर मा एक युबतीले पाल्न नसक्ने निर्णय गर्दै आफ्नै नबजात शिशुको हत्या समेत गरिछन् ।यो भन्दा दुखको कुरा अरु के हुन सक्छ ?  भोकका कुरा छाडौ देशको राष्ट्रिय स्वाधीनताका पक्षमा तपाइले गर्नु भएको त्यो बोल्ड डिसिजन ले धेरै नेपाली को मन जित्यो ।नक्सा जारी गर्दै गर्दा गुमेको भुमी फिर्ता आएछ भने सम्माननिय केपी शर्मा ओलीको तस्बिर छातीमा ट्याटु खोपेर राख्छु भनेर म आफैले घोषणा गरेको थिए ।यो मेरो तपाईं प्रतिको सम्मान थियो ।भरोसा थियो ।तर नया नक्सा कोरेको मसी सुक्न नपाउदै आकाशमा कालो बादल हरु मडारिन थाले तैपनी आशा छ कालो बादल भित्र चादीको घेरा लुकेको हुन्छ ।महाकाली सन्धी धेरैले भुलिसकेका छन् अब बिबादित एम सी सी ले तपाइको उचाइ र अहिले सम्मको सम्पुर्ण साख को निर्धारण पक्कै मुल्यांकन गर्ने छ ।मलाइ लाग्छ यो धुर्तता बाट पछाडी हटेर तपाइले आफुलाइ स्खलित हुन बाट जोगाउनु हुने छ भन्ने झिनो आशा अझै बाकी चाहिँ छ ।

प्रधानमन्त्री ज्यु ,माथी रोग, भोक देखि राष्ट्रिय स्वाधिनता सम्मका बिषयमा अत्यन्तै छोटो गन्थन पोखे ।मुख्य दुखको कुरा त अब लेख्दै छु । हामी बसेको समाजलाइ उपहास गर्ने गरि,मानव सभ्यता र मानबिय सम्बेदनाको धज्जी उडाउने गरि, गणतन्त्र र कानुनी राज्यलाई खुल्ला चुनौती दिने गरि रुकुम चौरजहारीमा दलित माथी भएको बर्बर नरसंहारका बारेमा पक्कै जानकार हुनुहुन्छ होला ।मलाइ चाहिँ यो नरसंहार सम्झदा पनि कहाली लागेर आयो । रगत उम्लेर आयो । मलाइ मात्र होइन यो घटनाले अन्तर्राष्ट्रिय जगतको समेत मथिङ्गल हल्लाइदिएछ ।त्यसै कारण हुन सक्छ संयुक्त राष्ट्रसंघ ले बिग्यप्ती निकाल्ने देखि कोरियाको चर्चित पत्रीका योन्हाप ले यो घटनाका बारेमा प्रथामिकताका साथ समाचार छापेर नेपालको जातिय घटनाको पराकाष्ठा प्रती आफ्नो चिन्ता ब्यक्त गर्यो ।अन्तर्राष्ट्रिय जगतलाइ समेत चिन्तित बनाएको यो बिषय ले तपाइलाइ पनि पक्कै छुन त छोयो होला तर यो घटाना सग सम्बन्धित समाचार पढ्दा तपाईं बिराजमान कुर्सी लाई ‘क्याक्टस’ माथी बसे जस्तो चाहिँ लाग्यो कि लागेन ?

प्रधानमन्त्री ज्यु , इतिहासलाइ केलाउदै जाने हो भने  नेपाल एकीकरण गर्दा दुई पैसा खल्तीमा राखेर उखु चुस्दै युद्द लड्न हिड्ने पृथ्वीनारायण शाहलाइ बिषे नगर्चीले प्रशस्त आर्थिक सहयोग गरेका कारण मात्र नुवाकोट जस्तो शक्तिशाली राज्य माथि आक्रमण गर्न सफल भएको थियो भन्ने कुरा इतिहासकारका अभिलेख हरुमा पढ्न पाइन्छ ।यी अभिलेख का कुरालाइ तपसिलमा राखेर धेरै अगाडी नजाउ ।हाम्रै जिबनकालका घटनाहरुलाइ खोतल्ने हो भने पन्चायती ब्यबस्थाका बिरुद्द तपाईं सग सहकार्य गर्ने दलित योद्दा देखि गणतन्त्रका निमित्तका अहिले सम्म हजारौ दलितले बगाएको रगत फगत तपाइहरुको सत्ताको भर्र्याङ्का निमित्त मात्र थियो त ? हेक्का राखौ जनयुद्ध को थालनी हुदा गोर्खाका बालक दिल बहादुर रम्तेल ले नै पहिलो कुर्बानी दिएका थिए ।जसलाइ जनयुद्ध को पहिलो सहिद भनेर भनिन्छ ।जो दलित थिए ।त्यस पछि १० बर्षे शशस्त्र जनयुद्दमा हजारौ दलितहरुले आफ्नो जिबनको आहुती दिएका कुरा घाम जत्तिकै छर्लङ्ग छ ।त्यतिकै संख्यामा बेपत्ता भएका छन् । घाइते र अपांग भएका छन् ।त्यति मात्र हैन ऐतिहासिक १९ दिने जनअन्दोलनमा पनि सहिद देखि घाइते हुने सम्म दलितको संख्या ठूलो छ ।जो अहिले दुई छाक गाँस का निमित्त बडो सङघर्श गर्दै छन् ।के यो ब्यबस्था परिबर्तनका निमित्त दलितले बगाएको रगतको कुनै मुल्यांकन हुन्न ?

प्रधानमन्त्री ज्यु , मैले यसो भन्दै गर्दा नेपालमा २०२० देखि नै कानुनले जातिय विभेद र छुवाछुत लाई गैरकानुनी घोषणा गरेको छ । ०६३ जेठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भएको छ ।अझ ०६८मा जातिय भेदभाव तथा छुवाछूत कसुर ऐन सजाय बनेर उक्त ऐन को दफा ४ को उपदफा २,३,४,५,६र ७ मा कसुर गर्ने ब्यक्तिलाइ एक महिनादेखी एक बर्ष सम्म कैद वा ५ सय देखि ५० हजार सम्म जरिवाना वा दुबै हुने ब्यबस्था छ ।तर दुखका साथ भन्नू पर्छ हिजो एउटा जात ब्यबस्था थियो ।दलित जातका यी कुराहरु संविधानका लिपिहरुमा लिपिबद्द भए पछि छुवाछूत र बिभेद केही गैरसरकारी सस्थाहरुको माइन्युमा हट्यो ।केही नेताहरुको भाषण र आमसभा स्थलको परिधी भित्र हट्यो ,चुनाबी समय अबधिभर भट्टी र होटेलहरुमा हट्यो बिडम्बना धारा,पार्टी पौवा,काजभोज मठमन्दिरमा हटेन ।प्रेममा हटेन ,मानबिय सम्बेदनामा हटेन, ब्यबहारमा हटेन, दृष्टिकोणमा हटेन ।

प्रधानमन्त्री ज्यु ,देशमा जातिय भेदभाबलाइ दन्डित गर्ने कानुन बने यताको ९ बर्षमा मात्र १९ जना दलितले ज्यान गुमाएका छन् भने त्यस मध्य ९ जना दलित अन्तरर्जातिय प्रेम कै कारण मारिनु परेको रहेछ ।४ जना दलित युबतीहरुको बलात्कार पश्चात् हत्या भएको छ ।४ जना ले छुवाछूत कै बिषयमा ज्यान गुमाउनु परेको रहेछ ।अन्य २ जनालाइ बोक्सी को आरोपमा हत्या गरिएको रहेछ । अझ दुखको कुरा काभ्रेका अजित मिजारको शब ४ बर्ष देखि अझै शिक्षण अस्पताल महाराजगन्ज मा न्याय पर्खेर बसेको छ ।दलितमाथिका सामाजिक अपमान र दुव्र्यवहार सहनु परेको घटना त यहाँ लेखिसाध्य नै छैन ।यस्तो अबस्थामा देशको कानुन  पुस्तकमा मात्र सिमित देखिन्छ पहुँचका आधारमा पिडक हरु खुलेआम हिडेका हुन्छन् ।यस्तो अबस्थामा नेपालका नदिमा अझै कति दलितले रगत बगाउनु पर्ने ?

प्रधानमन्त्री ज्यु, तपाईं फगत पार्टीको नेता मात्र हैन ,ब्यक्ती मात्र त झनै हैन दलित हत्याका सम्बन्धमा बिगतका नजीर हेर्दा रुकुम घटनाले पनि न्याय नपाउने हो कि भन्ने आशम्का व्यापक पैदा भैसकेको छ ।पिडितलाइ  न्याय दिलाउनका लागी कडा पहलकदमी चालियोस ।६० लाख दलितहरु न्यायको पर्खाइमा छन् । ब्यबहारिक समानताको पर्खाइमा छन् ।मान्छे भएर बाच्ने त्यो दिनको पर्खाइमा छन् ।अन्यथा यस्तै रबैया भैरहेमा कुनै अनिष्टका दिनहरु नआउलान भन्न सकिन्न ।यिनको भाबनालाइ अब सम्बोधन गर्ने समय आएन र ? दलित हरुले धारिलो खुकुरी बनाउन जाने तर झिकेर हावामा नचाउन जानेनन, देशलाइ परेको अबस्थामा बन्दुकका नालहरु बनाउन जाने तर आफ्ना बिरुद्दमा आउने लाई समेत तेर्स्याउन जानेनन । विभिन्न हतियार हरु उत्पादन गरे तर त्यसलाइ कहिल्यै दुरुपयोग गर्न जानेनन ।आफ्नो ज्यानको कुर्बानी दिन तयार बने तर सामाजिक सहिष्णुता भड्काउन जानेनन ।बलात्कारित हुदा चिच्याइरहे तर सद्भाव बिथोल्न चाहेनन् । यो नै दलितहरुको कमजोरी पक्ष रह्यो भन्ने भान आज व्यापक रुपमा भैरहेको छ ।

प्रतिक्रियाहरू