कोरिया पठाइदिने भन्दै एजेण्टले पुर्‍याए कम्बोडिया, कोरोना महामारीमा विचल्ली

1070

सोचेजस्तो भएको भए, अथवा भनौं लगानी गरेजस्तो प्रतिफल हात लागेको भए अहिले नवलपरासीका नारायण पोखरेल कोरियाको कुनै ठाउँमा काम गरिरहनुभएको हुन्थ्यो होला । तर सोचेजस्तो भएन । गरेको लगानी पनि बालुवामा पानी खन्याएजस्तै भयो । त्यसैले अहिले नारायण कम्बोडियाको एउटा फल्याटमा ‘स्वदेश फर्किन पाउँ’ भन्ने कामना गर्दै बस्नुभएको छ ।

सन् २०१७ को अन्तिमतिर नारायण मलेसियाबाट घर फर्किनुभएको थियो । त्योबेला मलेसियामा काम गर्न थाल्नुभएको सात वर्ष भइसकेको थियो । बिदामा घर आउनुभएका नारायण गाउँमै बिरामी पर्नुभयो । त्यसपछि फर्केर मलेसिया जाने उहाँको सोच परिवर्तन भयो । फेरि मलेसिया जानुभएन ।

त्यसपछि दुई वर्ष गाउँमै बस्नुभयो । दुई वर्ष कसरी बिते नारायणलाई पत्तै भएन । उहाँलाई लाग्यो – ‘अब त यसरी बसेर भएन कमाउन थाल्नुपर्यो ।’

मलेसिया भोगिसक्नुभएका नारायणलाई कमाइ राम्रो हुने देशमा जाने सोच पलायो । उहाँको रोजाईमा पर्‍यो कोरिया ।

जाने त जाने, तर कसरी ? कोरिया जान कोरियन भाषा परीक्षा पास गर्नुपर्यो । भाषा परीक्षाको तयारी गरेर पास भइहालिन्छ भन्ने पनि थिएन । त्यसैले नारायणले यो झन्झट गर्नुभएन । यूरोपका देश जाने सोच बनाउनुभयो ।

गाउँकै एकजना साथीसँग उहाँको सम्पर्क भयो । भारतमा बस्ने कमल पराजुली नाम गरेका ती साथीले पैसा भए भाषा परीक्षा पास नै नगरी कोरिया जान सकिने सल्लाह दिए । दीपक मल्ल नाम गरेको एजेण्टले दश लाख रुपैयाँमा कोरिया पठाइदिने भनेर दीपकसँग सम्पर्क गर्न लगाए ।

नारायणलाई त खोजेकै कुरा भेटिए जस्तो भयो । पैसा तिरेरै भए पनि, जान चाहेको देशमा जान पाउँदा खुसी नुहने कुरै थिएन । कोरियामा राम्रो कमाइ हुन्छ भनेर सुन्नुभएको थियो । कोरिया गएका गाउँका साथीहरुले प्रगति गरेको आफ्नै आँखा अगाडि देखि सक्नुभएको थियो । जाँदा खर्च लागे पनि त्यो खर्च त दुईचार महिनामै कमाइहालिन्छ नि भन्ने सोचेर उहाँले पैसा तिरेरै भए पनि उहाँ कोरिया जान तयार हुनुभयो ।

कोरिया भनेर कम्बोडिया

एजेण्टको भर पर्नुहुन्न भन्ने त थाहा थियो । तर उहाँले आफ्नै गाउँको साथी कमलको कुरामा विश्वास गर्नुभयो ।

‘दलालको भर पर्नुहुन्न भनेर त थाहा थियो नि, तर एकदमै विश्वासिले कुरा गरेपछि हो झैं लाग्यो’, त्यसपछि नारायणले कमल पराजुलीलाई पचास हजार रुपैयाँ दिनुभयो ।

कमलले बीचबीचमा पछि धोका भयो भने आफू जिम्मेवारी नभएको कुरा पनि गर्थे । तर अर्कोतर्फ भने दीपकले कसैलाई पनि धोका नदिएको र जसरी भए पनि भनेको देशमा पुर्याएर राम्रो काम लगाइदिने गरेको भन्दै दीपकप्रति सकारात्मक टिप्पणी गर्न पनि छुटाउँदैन थिए ।

पछि दीपकले धोका दिइहाले पनि आफू जिम्मेवारी नहुने भनेर कमलले आप्नो तर्फको दुनो सोझ्याए । अर्कोतर्फ दीपकले जसरी भए पनि काम गरेरै छाड्छ भन्ने अनेक उदाहरण दिएर नारायणलाई दीपकप्रति विश्वास पनि दिलाएरै छाडे ।

कुनै राम्रो देश जान पाए हुन्थ्यो भनेर वर्षौंदेखि कुरेर बसेका नारायणलाई कमलका यी कुराले थप हौसला दियो । जाने भनेर पक्कापक्की निर्णय भइसकेपछि भारतमा रहेका दीपक मल्ल नेपाल आए ।

दीपकले कम्बोडियाको बाटो भएर कोरिया जान सजिलो हुने भन्दै कम्बोडियाको लागि आफूसहित पाँच जनाको भिसा तयार पारेका थिए । सबैजनाको बिजनेस भिसा थियो । म्याग्दीका तीन जना शंकर, प्रदीप र दिवस सापकोटा पनि जान लागेका रहेछन् । आफू एक्लै जान लागेका कारण अलि डराउनुभएका  नारायण अरु तीन जना पनि जाने भन्ने कुरा थाहा पाएपछि अझै ढुक्क हुनुभयो ।

दायाँबाट क्रमश: शंकर सापकाेटा, नारायण पाेखरेल, प्रदीप सापकाेटा र दिवस सापकाेटादायाँबाट क्रमश: शंकर सापकाेटा, नारायण पाेखरेल, प्रदीप सापकाेटा र दिवस सापकाेटा

भिसा लागिसकेपछि दीपकले सबै जनाबाट  पाँच, पाँच लाख रुपैयाँ मागिसकेका थिए । त्रिभुवन विमानस्थलबाट अगस्ट १७ को उडान थियो । त्यही अनुसार सबै जना तयारी भएर काठमाण्डौ आए ।
फ्लाइटको लागि तयार भएर एयरपोर्ट पुग्दा कागजात नमिलेको भन्दै कोही पनि जान पाएनन् ।

‘हामीहरुको बिजनेस भिसा भएका कारण अलि अप्ठ्यारो भयो, त्यहाँका कर्मचारीले हामीहरुलाई शंका गर्नुभयो’, नारायणले भन्नुभयो, ‘त्यहाँका कर्मचारीले विश्वास नै लागेन भन्ने कुरा गर्नुभयो, त्यसो भनेर हामीहरुलाई जान दिएनन् ।’

अन्ततः पाँचै जना भारतको बाटो भएर जान मुम्बई गए । दीपकले सबैजनालाई लगेर मुम्बईको साकिनाका भन्ने ठाउँमा एउटा होटेलमा राखे । होटेलमा एउटा बेडको भाडा ३०० र एक छाक खानाको ५० रुपैयाँ थियो । त्यो सबै खर्च दीपकले नै व्यहोरे । जे होस् त्यहाँ रहँदा दीपकले नराम्रो व्यवहार भने गरेनन् ।

मुम्बई पुगेको बल्ल एक महिनापछि म्याग्दीका दिवस सापकोटालाई कम्बोडिया पठाइयो । त्यसको एक हप्तापछि प्रदीपलाई र त्यसको २० दिनपछि अर्थात अक्टोबर १२ मा शंकर सापकोटा र नारायणलाई दीपकले कम्बोडिया पठाए, तर आफू भने गएनन् । यसरी म्याग्दीका तीन जना र नारायण गरेर चारै जना कम्बोडिया पुगे ।

कम्बोडिया पुगेर अलपत्र

कम्बोडियामा उनीहरुलाई हेर्ने जिम्मा भारतको सञ्जु नाम गरेका एजेण्टको थियो । त्यहाँ उनीहरुलाई चम्चाउ भन्ने ठाउँमा राख्यो । सुरुका केही दिन होटेलमै बसे । तर होटेलमा बस्दा खर्च बढी हुन थालेपछि सबैलाई फल्याटमा लिएर राख्यो ।

‘दिनको १७ डलर खर्च हुन्थ्यो, घरबाट पाँचसय डलर बोकेर आएको थिएँ, दीपकले पैसा पठाएनन्, बस्दा खादा आफूसँग भएको पैसा पनि सकियो’ नारायण भन्नुहुन्छ, ‘त्यहाँ पहिलेदेखि नै फ्ल्याट भाडामा लिइएको रहेछ, त्यतै राखियो ।’

फ्ल्याटको भाडा ३०० डलर हुन आउँथ्यो । सुरुको तीन महिना त दीपकले नै भाडा तिरिदिए । पछि दिपकले भाडा तिर्न पनि छाडे । भाडा तिरेन भने घरबेटीले निकालिदिने डर । निकाल्यो भने अर्काको ठाउँमा कहाँ जाने के गर्ने भन्ने चिन्ता । नारायणले घरबाट दाइलाई पैसा पठाउन लगाएर पनि भाडा तिर्नुभयो । त्यसपछि पनि दिपकले फेरि एकपटक दुई महिनाको भाडा तिरिदिए ।

त्यहाँबाट कोरिया जाने केही सुरसार थिएन । दिपक भारतमै थिए । त्यहाँ चार जना बन्द कोठामा कैद थिए ।

अक्टोबर २८ पछि सबैजनाको भिसाको म्याद पनि सकियो । ओभरस्टे भएको एक महिनापछि बल्ल दीपक फेरि कम्बोडिया आए ।

त्यहाँ आएर सबैलाई काम हुन्छ, नआत्तेउ भनेर आश्वासन दिए र एक वर्षको कम्बोडियाको मल्टिपल भिसा पनि लगाइदिए । बैंक स्टेटमेन्ट देखाए राम्रो जागिर पाइने भनेर सबैजनालाई बैंकमा खाता पनि खोल्न लगाए । अलि बढी बैंक स्टेटमेन्ट छ भने भिसा लगाउन सकिन्छ भनेर घरबाट पाँच, पाँच हजार डलर मगाउन लगाए । तर त्यति नै नसके पनि सबैले सकेजति पैसा मगाए ।

नारायणको दाइले दिपकको खातामा ३५ सय डलर पठाइदिनुभयो । त्योभन्दा पहिले होटेलमा बस्दा पनि १५ सय डलर पठाइसक्नुभएको थियो ।  तर पैसा पाएपछि भने दिपकको बोली फेरिन थाल्यो । झर्किन थाले । दाइले पठाइदिएको पैसा पनि कतिपय त एजेण्ट दिपकले नै खाइदिएका थिए ।

विना काम एजेण्टको चङ्गुलमा फसिरहेकै बेला कोरोना महामारी फैलियो । एजेण्टलाई बहाना बनाउन सजिलो भयो ।

‘त्यसपछि त कहिले के कहिले के भनेर अनेकथरी बहाना बनाउन थाल्यो, हामीलाई फर्काइदेउ भन्दा पनि नसकिने र काम लगाइदेउ भन्दा पनि नसकिने भन्दै आलटाल गर्न थाल्यो’, नारायण भन्नुहुन्छ, ‘अहिले पनि फोन गर्दा कहिले झर्किने त कहिल्यै काम हुन्छ नआत्तिकन बस भन्छ ।’

घर फर्काउन आग्रह

नारायणलगायत चारै जना गएको वर्षको अक्टोबरदेखि अहिलेसम्म लगभग १० महिना विना काम, तनाव र अभावकोबीच एउटा कोठाका चार भित्तामा थिचिनुभएको छ ।
सबैसँग भएको पैसा सकिदा पनि एकछाक मात्र खाएर जसोतसो आजसम्म जीवन धानिरहनुभएको छ ।

नेपाल आउनको लागि कसैसँग पनि साथमा पैसा छैन । नारायणसँग त झन् पासपोर्ट पनि छैन ।

‘राम्रो जागिर लगाइदिने भनेर मेरो पासपोर्ट पनि दीपकले नै राखेको थियो, अहिले पासपोर्ट दिइरहेको छैन’, नारायण भन्नुहुन्छ ‘पासपार्ट माग्नको लागि फेरि तीन हजार डलर चाहियो भन्छ, अब त्यत्रो पैसा हामीले कहाँबाट दिने होला ?’

एक महिनादेखि दिपकसँग सम्पर्क नै नभएको नारायणले बताउनुभयो । फोन लागे पनि कहिल्यै नउठाउने र उठाए पनि झर्केर बोल्ने गरेको उहाँको भनाइ छ । दूतावासमा सम्पर्क गरेर केही राहत पाइन्थ्यो कि भन्नको लागि कम्बोडियामा दूतावास छैन । थाइल्याण्डमा रहेको नेपाली दूतावासले नै कम्बोडियालाई हेर्छ ।

नारायणले सहयोगको लागि थाइल्याण्डमा रहेको दूतावासलाई पनि फोन गर्नुभयो । त्यहाँको दूतावासले कम्बोडियामा व्यवसाय गर्दै आएका एकजना बाग्लुङका लालसिंह खड्कालाई सम्पर्क गर्न सुझायो । तर उहाँबाट पनि आशा लाग्दो कुनै कुरा नभएको नारायण बताउनुहुन्छ ।

‘तपाईंसँग पासपोर्ट पनि रहेनछ, पुलिस रिपोर्ट बनाएर ट्राभल बनाउन पनि दुई सय डलरभन्दा बढी पैसा लाग्छ भन्नुभएको छ, ट्राभल बनाइहाले पनि फर्किनको लागि हामीसँग एक सुको छैन’ चारैजनाको प्रतिनिधि आवाज बोल्दै भन्नुहुन्छ नारायण, ‘हुन त गल्ती हाम्रै हो, साथीकै भर पर्नाले यहाँसम्म पुगियो, तर के परदेशमा ठगिएका आफ्ना नागरिकको उद्धार गर्नु राज्यको जिम्मेवारी होइन र ?’

  • उज्यालो अनलाईन
प्रतिक्रियाहरू