परदेशी पीडा र पुकार

486

मेरो बसोबास लगातार चर्चतिर भएपछि शेखर र छिरिङसँग मेरो भेटघाट पनि ठप्पप्राय: हुँदै गयो । त्यती नजिकै भएर पनि हामी लामो दूरीमा भएझैँ लाग्यो । कुराकानी पातलिदै गएथ्यो । म पनि मेरै दौडमा दौडिरहेथेँ । उनीहरु पनि आफ्नै दौडमा थिए । फरक यति थियो उनीहरु जागिरमा थिए तर म भने जागिरमा थिइनँ । बेरोजगार थिएँ ।

 

मलाई थाहा थियो युरी मेरो अगाडि देखा परेरै उनीहरु ओझेलमा परेका थिएँ । मलाई थाहा थियो उसलाई सम्झिएपछि मैले आफ्ना आत्मियहरुलाई  बिर्सिएको । हो, म युरीसँग नजिकिएपछि प्यारेहरुबाट टाडिएको सत्य थियो ।

त्यही कारणले मैले आइतबार बिदाको दिन उनीहरुको बसेरातिर जाने निर्णय गरेँ । म काममा नलागे पनि युरीसँगको सम्बन्धले निकै हर्षित थिएँ । त्यही मुद्रामा शेखरलाई खबर गरेँ । शेखरले कुनै प्रतिकृया देखाएन । छिरिङलाई म्यासेज छाडेँ । उसले पूर्वस्वागत गर्न भ्याइहाल्यो ।

 

भोलिपल्ट आइतबार सखारै म उनीहरुकोतिर लम्किएँ । छिरिङलाई सोजु (कोरियन सराब) अत्याधिक मनपर्ने भएकाले नजिकको मार्टबाट केही बोटल सोजु किनेँ । अनि, पुगेँ उनीहरुको बासस्थान ।

 

त्यहाँ पुग्दा शेखरलाई मैले जुन रुपमा देखेथेँ त्यो रुपमा देख्न सक्दिनँ । मैले चारैदिशाबाट उसलाई नियाल्दा पनि ऊ त्यो मुद्रामा थिएन जुन हाम्रो भेटको अन्त्यमा ऊ देखिन्थ्यो । उसको चमकतामा ह्रास आएको थियो । शेखर निष्प्रभ र निन्याउरो देखिन्थ्यो । शेखरको जोश र जाँगरमा बादल लागेको थियो । उसको बोलिचाली र व्यवहार पनि अदलबदल भएको थियो । आखिर के भयो शेखरलाई त्यस्तो दुई हप्तामै ?  म सोध्न खोजिरहेथेँ । त्यस्तो शेखर आज किन यस्तो अबस्थामा पुग्यो हँ ! पुग्नेबित्तिकै म सोचमग्न अबस्थाबाट गुज्रिएँ ।

 

म आश्चर्यमा पर्दै हेर्छु शेखरलाई तर शेखरले मुन्टो अर्कैतिर बटार्यो । तैपनि म सोध्छु, “सन्चै छौ शेखर ?” शेखरले टाउको मात्र हल्लायो । “किन तिमीलाई अँध्यारो देख्छु त ?“ -म फेरि सोध्छु ।

“हैन ठिकै छ ।” -ऊ भन्छ ।

“किन पहिलाको जस्तो देखिदैनौ त ?” -म पुन सोध्छु ।

“हैन ठिक छ ।”  ऊ गार्हो गरिकन जवाफ फर्काउँछ ।

मेरो प्रश्नले शेखर पिलपिल गर्दै त्यहाँबाट उठेर हिँड्यो । म भने अनभिज्ञतामा अनुत्तरित बसि वाल्ल परिरहेँ । ‘आखिर कस्तो बज्रपात पर्यो शेखरको जीन्दगीमा ! कहिलै पनि ऊ यसरी रुने मान्छे होइन । अचानक के घट्ना घट्यो शेखरको जीन्दगीमा !’

 

छिरिङ बाहिरपट्टि कुर्सिउपर खुट्टा चढाँएर चुरोटको सर्कोमा आन्नद लिइरहेको थियो । चुरोटको धूवा बिहानीको स्वच्छ र कञ्रन वातावरणमा यता उता नाचिरहेको थियो जसरी मेरो मनभित्र कुराहरु नाचिरहेका थिएँ । छिरिङको चेहरामा भने केही कुराको छनक देखिदैनथ्यो । छिरिङको मनोभाब नियाल्दा उसमा कुनै फेरबदल आएको थिएन । ऊ त्यस्तै रसिक थियो जस्तै ऊ पहिलेदेखि थियो ।

 

छिरिङसमिप पुगेपछि उसले आफैँ भन्यो, “घरमा बुढीया अर्कोसँग लागि रे हो । टेन्समा छ तिमी हिँडेदेखि । पहिला पहिला कृष्णका सोर्हसय गोपिनी हुन्थे,  अहिले गोपिनीका सोर्ह सय कृष्ण । जमाना फेरियो यार ।”

 

छिरिङले यति भनेर चुरोटको अवशिष्ट ठुटोलाई डस्बिनमा फाल्दै खित्का छाडेर भान्साकोठातिर पस्यो । म त्यो घटनाले जहाँको त्यही उभिएर सतत आक्रोशपूर्ण अभिब्याक्ति दिन पुगेछु,  शेखरलाई मलह्म लगाउने मनशायका साथ ।

 

‘पुरुष जातिको खुसीका श्रोत भनेकै स्त्री हुन् । एक स्त्रीले पुरुषको जिन्दगी नै कायापलट गर्न सक्छिन् । तर, स्वदेशमा विवाहित महिलाहरु आफ्नो श्रीमानको किन यति सजिलै अपमान गर्छन ?  भबिष्यमा उनीहरुलाई नै खुसी दिलाउनका लागि श्रीमान हजारौँ सपना बोकेर परदेशिन्छ । आखिर परदेश छिरेपछि घरकी श्रीमतीहरुले किन सोच्दैनन् मेरो श्रीमान छ भनेर । के श्रीमतीलाई छोड्नु पतिको रहर हो ?  यदि बाध्यता हो भने परदेशिएको श्रीमानको श्रीमतीले हरेक दिन सु:खद होस् भनि कामना गर्नुपर्ने होईन ? किन आफ्नै श्रीमानको कोखमा छुरा हान्छन् श्रीमतीहरु ?’  यो प्रश्न बारबार प्रश्नमै सीमित हुन्छ ।

 

‘ए उर्वशी, सात समुन्द्रपारी रहेको श्रीमानलाई किन यति सजिलै लत्यायौ हँ ?  श्रीमानले गर्ने भनेकै विश्वास हो । के तिमीलाई शेखरले पूर्ण विस्वास गरेको थिएन र ?  फेरि किन विश्वासघात गर्यौ त ?’

 

‘विवाहित महिलाहरुले कहिल्यै सोचेका छन् ? परपुरुषसँगको सम्बन्धले आफ्नो श्रीमान कति दु:खी हुन्छ भनेर । यो आँशुको चिहानमा एक्लै कति रुन्छ, एक्लै कति आतिन्छ भनेर । के शेखरले उर्वशीलाई यो जुनिका लागि सिन्दुर लगाइदिएको साँचो होइन र ?  शेखरजस्तो श्रीमान तिमीले जीबनमा कहिल्यै पाउँदैनौ उर्वशी । धिक्कार छ तिमीलाई ।’

 

छिरिङ भित्र हिँडेपछि म धेरै नै सोच्न थालेछु क्यार । म माथि, विहानको कलिलो आकाशलाई हेर्छु, बादलहरुले ढाकिसकेका थिए । फेरि म उतै उतर पश्चिमतिर हेरेर खुइ गर्छु । दिनमा उज्यालो हुँदै जानुपर्नेमा धुमिल हुँदै जादै थियो वायुमण्डल । लाग्यो, परदेशमा नेपालीको प्रकृतिले बुझ्दैछिन् । मैले आकाशतिर हेर्दै फेरि गुनासो पोखेँ, ‘परदेशमा नेपालीहरुलाई किन यति पीडा दिइरहेछौ प्रकृति ?’

 

म भित्र पसेँ । भित्रपट्टि छिरिङले सोजु फोडिसकेको थियो । शेखर पनि सँगै कुर्सिमा बसिसकेको थियो निकै स्तब्ध भएर । छिरिङले कप उठाइहाल्यो । त्यसपछि शेखरले । अन्त्यमा, मैले उठाएँ । तीतो स्वादको सोजुले एक बिहानै कञ्चट हल्लायो र शरीर नै तातो भयो । छिरिङले भन्यो, “यो नचढाए त शरीर नै लगलग काम्छ यार । केही जाँगर बाँकी रहदैन मेरो ।”

 

शेखरले ओठ खोल्यो, “स्त्री जातिको स्वभाव भगवानलाई पनि थाहा हुँदैन भने मलाई के थाहा र ? म भगवान हो र ?” छिरिङले मौकामा चौका हान्दै भन्यो, “अनि त्यसो भए किन ओइलाएको फूलजस्तै ? बच्चपनदेखिको साथी आएको छ । यसो बोलिचाली केही छैन । बर्षौपछि भेट भाको, यस्तो हुन्छ ?”

 

शेखर सराब पिएपछि किञ्चितै भएपनि बल्ल त्यही पुरानो मुद्रामा फर्कियो । अनि मात्र,  उसको मुहारमा कुटिल हाँसो छछल्कियो । ऊ फेरि अघि बढ्छ, “जान त गइन्, त्यो त ठिकै छ । तर, मेरो सम्पति पनि कुम्ल्याएर गइन् । के मेरो सम्पति अब फिर्ता ल्याउन सकिन्न र जेम्स ?  बढो रोदनका साथ उसले मलाई हेर्दै सोध्यो ।

 

त्यस्तो चतुर शेखरले त्यती कमजोर प्रश्न गर्दा म आश्चर्यचकित भएँ । यस्तो लाग्यो, शेखर मानसिक रुपमा पनि कमजोर भइसकेको रहेछ । छिरिङले मलाई हेर्दै इशारामा भन्यो, “यो खुस्किसक्यो ।” म प्रोत्साहन गर्दै भन्छु, “सम्पति त कमाइएला नि । किन चिन्ता र शेखर ?  अब धेरै चिन्तित भएर आफैँलाई क्षय हुन्छ । क्षय हुनबाट जोगाउन सबै बिर्सिदेऊ बिगत । तिम्रो साथी हामी छौ । तिमीलाई साथ हामी दिन्छौ ।”

 

शेखर मलिन हुँदै भन्छ, “जतिखेरै उर्वशी मात्र आईरहन्छिन् मनमा । भुल्नलाई धेरै प्रयाश गरेँ उनलाई । भुल्न गार्हो भा’छ मलाई । उनले मलाई किन यस्तो बेहाल बनाइन ?  मलाई केही थाहा छैन ।” ऊ आँशुले पिलपिल भएको आँखामा हात पुर्याउछ र आँशुलाई तल झर्न दिदैन । “आजभोलि काममा पनि पटक्कै मन गएको छैन । काम पनि बिग्रिएको बिग्रियै छ ।” यति भनेपछि त शेखरका आँखाबाट तपतप आँशु झर्छन् । उसको हातले आँशुलाई पुछ्न भ्याउँदैनन् । मलाई हौसला दिन मन लाग्छ तर मैले पनि कहाँ सकेँ र ? । म पनि उजस्तै अर्धमुर्छित हुन पुगेँ ।

 

यसो वायाँ फर्किएर काम बिग्रिएपछि कोरियनले गरेको तातो गालिको फोहोरा झसंग सम्झिएँ । ‘बाफ्रे ! पचाइनसक्नु, सहिनसक्नु गर्छन् र गालि पनि ! कमजोर मुटु भएकाहरु आफूलाई सम्हाल्न सक्दैनन् । अनि के के हुन्छ के के !’

 

मलाई थाहा भयो, मानिसको सहने शक्तिभन्दा पीडा बढी भएपछि आँशु झर्दा रहेछन् । शेखरले अर्कोपट्टि फर्केर आँशु पुस्यो । छिरिङले कपमा सोजु खनाउदै प्वाक्क बोल्रो,  “काममा पनि फान्जाड़ले(सिनियर) गालि गरेको गरै देख्छु । दिनमा दुई तीन पटक गालि गर्छ । यस्तै पारा हो भने चैँ ! छिरिङले अनुहार बिगार्दै नमज्जाले टाउको हल्लायो । ऊ यति भन्दै बाहिर निस्कियो ।

 

त्यतिखेरै मेरो अचानक फोन आयो । युरीलाई झसंग सम्झिएर दाहिने जेबमा राखेको फोन हत्तपत्त झिकेँ । तर,  नयाँ नम्बर रहेछ । उठाएँ । एकजना कोरियनको बुढो आवाज गुञ्जियो ।

 

“जेम्स हो ?”  उताबाट प्रश्न आउँछ । “हो” म भन्छु । “कसलाई सोधेर गईस् ?”- ठाडो प्रश्न आउँछ । यति भनेपछि त म चिनिहाल्छु चर्चको बुढो पास्टरको बोली ।

 

अनिमात्र हठात सम्झिएँ, ‘ला ! आइतबार त कतै जाने अनुमति थिएन त !’ अब के गर्ने ?!

 

मैले डराउदै भनेँ,  “मैले त भुसुक्कै  बिर्सेछु मोक्सानिम (इसाई धर्मगुरु), मलाई माफ गर्नुहोस् । “आजको संगती केही घण्टापछि शुरु हुँदैछ । शरण लिने भए र यहि बस्ने हो भने छिटो आइज । नत्र, आफ्नो बाटो लाग् ।” धम्किपूर्ण अभिव्याक्ति आउँछ ।

 

पास्टरको यस्तो किसिमको अभिब्याक्ति सुनेपछि मलाई छटपट भयो । मलाई एक किसिमले ठूलो झड्का लाग्यो । ‘नब्बे दिनमा बल्ल पन्द्र दिन बित्दै छ । काम नभेटिन्जेल फेरि काहाँ शरण माग्न पुग्नु ? यिनीहरुकोमा बस्दा पनि साहुको डर मानिमानि बस्नुपर्छ । अब मलाई नगई सु:ख कहाँ छ र ?’

 

मैले छिरिङलाई सुनाएँ । छिरिङ त त्यस्तो जाबो बुढोले त्यसो भन्दैमा कुदिहाल्नु पर्छ भन्दै कुर्सिबाट सन्किदै उठ्यो । शेखरले त झन् हिन्दु परिबारमा जन्मिएर इसाईको शिष्य बनेकोमा आपति जनायो ।

 

शेखरले त्यस्तो दिलचस्पी कुरो गर्दा म अवाक बनेँ । मैले सोचेँ, ‘बास्तवमा म जन्मजात हिन्दु हुँ । के मैले मेरो धर्मको अपमान गरेको होइन र बाइबल पढेर ? हरेक दिन बिहान बेलुका हिन्दुका तेतीस कोटी भगवानको नाम लिनुपर्ने ठाउँमा जीसस क्राइष्टको नाम लिनु आफैँले आफैँलाई ढाट्नु होइन र ?  हो, म आफैँलाई छलेर यती दिनसम्म चर्चमा बसेर ढाटिरहेछु ।’

 

‘तर, काम छाडेपछि थाहा हुन्छ कस्तो बित्यास पर्छ भनेर । म रहरले बसेको हुँ र चर्चमा ? के म त्यहाँ बस्दा धर्म परिवर्तन गरिहाल्न पुग्छु र ? अहँ यो त, यो जुनीमा कदापि सम्भब छैन ।’

 

म पनि दुबैजनासँग रिसिन्छु, “केही पाउनलाई केही गुमाउनै पर्छ साथीहरु । त्यो त कोरियामा काम छाडेकाहरुलाई मात्र थाहा हुन्छ ।” त्यहाँ एकछिन सबै जना चुपचाप बन्यौँ ।

 

मलाई यी यावत कुराहरुले सार्है पीडाबोध भयो । मैले पुकार गरेँ, “भगवान मलाई काममा छिट्टै लगाइदेऊ । शेखरको जीवनमा पनि खुसी पोखाइदेऊँ । छिरिङलाई कुलतबाट बचाइदेऊँ ।”

‘यो भाग हेल्लो नेपाल कोरिया डटकमका सम्वादाता /लेखक विमल सिटौलाको प्रकाशोन्मुख उपन्यासबाट  लिइएको हो ।’

प्रतिक्रियाहरू