विदेशमा भएका नेपालीहरुलाई नेपालमा आएर काम गर्ने वातावरण बनाउछु – युवा नेता जन्मजय तिमिल्सिना

708

नेपाली काँग्रेसको १२ औं र १३ औं महाधिवेशनमा वर्दियाबाट महासमिति सदस्यमा निर्वाचित नेपाली काँग्रेसका युवा नेता जन्मजय तिमिल्सिनाले पार्टीगत राजनीति २०४४ सालमा महेन्द्र बहुमुखी क्याम्पस, बाँकेबाट नेपाल विद्यार्थी संघको सदस्यता लिइ शुरु गर्नुभएको थियो । २०४९ सालमा वर्दिया जिल्ला नेविसंघको उपाध्यक्ष भइ पछि कार्यवाहक जिल्ला अध्यक्ष समेत भएर जिल्ला अधिवेशन सम्पन्न गर्नुभएको थियो । वि.संं. २०५४ सालमा तरूण दलमा आवद्द भएर केन्द्रिय सदस्य हुँदै २०६३ सालमा केन्द्रिय सचिव र २०७० सालमा तरुण दलको कार्यवाहक अध्यक्ष हुनुभयाे । उहाँ कार्यवाहक अध्यक्ष भएकै बेला २०७० सालमा सम्पन्न संविधान सभाकाे निर्वाचनमा तरूण दलले पार्टीलाइ सबैभन्दा ठूलाे दलकाे हैसियत दिलाउन महत्वपूर्ण भुमिका खेलेकाे थियाे । केही समयअघि गठित पार्टीकाे संगठन विभागमा विभागीय सदस्यमा चुनिनुभएका तिमिल्सिनासँग हेल्लो नेपाल कोरिया डटकमका लागि निकुञ्ज तिवारीले गरेको कुराकानीः

१. नेपाली काँग्रेसको संगठन विभागको विभागीय सदस्य हुँदाको अनुभव कस्तो हुँदै छ?
५१ सदस्यीय कार्य समितिमा रहेकाे यस विभागमा पार्टीले मलाइ योग्य सम्झेकोमा मलाइ खुशी लागेको छ । साथै आफूलाइ थप जिम्मेवारी वोध भएको महसुस पनि भएको छ । र मैले बिगतमा पार्टीका भातृ संगठनको विभिन्न जिम्मेवारीमा रही गरेको अनुभवका आधारमा मैले आफूलाइ दिइएको जिम्मेवारीलाई गम्भिरतापूर्वक निभाउने नै छु भन्ने लाग्छ।

२. यो पदमा रहेर तपाइको जिम्मेवारी के हुन्छ ?
पार्टीको संगठनलाइ आन्तरिक र वाह्य रुपमा मजवुद बनाउने काममा हाम्रो विभाग अहोरात्र खटिनेछ । विगतको चुनावमा पार्टीले भोगेको हारले पार्टीलाइ कति क्षति पुगेको छ भन्नेमा संगठनको साथीहरु सबैजना जानकार हुनुहुन्छ । फेरि त्यही गल्ति दोहोरिनु हुँदैन भन्नेमा हामी सचेत हुँदै त्यही अनुसारको तयारी गरेर अगाडि बढ्नुपर्छ भन्ने विश्वास मेरो रहेको छ । देशको वर्तमान परिस्थितिलाइ हेर्दा नेपाली काँग्रेसले चुनाव हार्दा समग्र देश र नेपाली जनताले नै दुख पाउने रहेछन् भन्ने पनि महसुस भएको छ ।

३. आफ्नो भुमिकालाइ सफलतापूर्वक निभाउनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
मेरो भुमिका मैले आफ्नो तर्फबाट जिम्मेवारीपूर्वक १०० प्रतिशत दिने हो । बाँकी कुरा त पछि पार्टीले मुल्यांकन गर्ने विषय हो ।
४. पार्टीको महाधिवेशन समयमै सम्पन्न हुनेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
महाधिवेशन समयमै हुनुपर्ने हो । तर जुन रुपमा कोरोना सामाजिक स्तरमा फैलिएको भन्ने शंका छ, त्यस्तो नहोस् भन्ने कामना गरौ । तर स्थिति नियन्त्रणबाहिर गएको संकेत देखिदै गरेको अवस्था छ । त्यसले केही पर धकेलिन पनि सक्छ ।

५. कोरोनाले गर्दा आम नेपालीको जनजीवन यत्तिको कष्टकर भइरहँदा सरकारको भुमिकालाइ कसरी हेरिरहनु भएकाे छ?
सरकार यस्तो विषम अवस्थामा सरकारले आफ्ना नजिककाे व्यापारिक समूह, यति, ओम्नी पोस्ने, पूर्ण गैरजिम्मेवार ढंगबाट काम गरिरहेको सबैलाइ थाहा भएकै कुरा हो । अहिलेको अवस्थामा सरकारलाइ हामीले सहयोग नै गरेर अघि बढ्ने हाम्रो असल प्रयत्नको वावजुद पनि सरकारको नालायकीपनलाई यत्तिकै केही नभन्दा पनि उपयुक्त नहुने अवस्था हाम्रो सामु आइलागेको छ । कोरोनाको शुरुको अवस्थामा हाम्रो पार्टी सभापतिले पनि प्रधानमन्त्रीलाइ भेटेरै सजग गराउनुभएको थियो । हाम्रो पार्टीको पूर्व स्थास्थ्य मन्त्री गगन थापाले पनि भेटेरै र मिडिया मार्फत एकदमै राम्रा सल्लाह सुझाव दिदा पनि उपहास गर्ने, संसदमै मानमर्दन गर्ने काम भयो । विज्ञहरुको सल्लाह सुझावलाई उपेक्षा गर्ने काम भयो । बेसारे राजनीति त सामाजिक सञ्जालमा चर्चित नै हुन पुगेको थियो । यस्तो पनि कही हुन्छ ? हामीले हाम्रो प्रधानमन्त्रीको सम्मान गर्नुपर्छ भन्दा भन्दै पनि प्रधानमन्त्रीले आफ्नो मर्यादा बिर्सेर स्वास्थ्य विज्ञहरुलाइ उल्टै पाठ पढाउने काम जुन भएको थियो यस्तो कुराले सरकारको संकीर्ण मानसिकतालाइ उजागर गर्छ भन्ने मलाइ लाग्दछ । सरकारकाे भुमिका सामाजिक स्तरमा संक्रमण फैलिन नदिन गर्नुपर्ने प्रयत्नकाे बहुमुल्य समयमा अरू पार्टी फुटाउने खेलमा, आफ्नाे दलकाे किचलाेमा अल्झेर बस्याे । स्वास्थ मन्त्रीकाे भुमिका त सबैलाइ थाहा भएकै कुरा भयाे । के गर्नुपर्छ भन्न विषयमा एकरत्ति पनि ज्ञान नभएकाे जस्ताे देखिन्छ ।

६. काँग्रेस सरकारमा भएको भए अवस्था फरक हुने थियो त ?
अवश्य पनि अहिले यस्तो गम्भिर परिस्थितिमा पनि यति धेरै काण्ड भएको छ । यो न्युनतम मानवीय समवेदना पनि नराखीकन काम भइरहेकाे भन्ने लाग्छ । जुन रुपमा कोरोना टेस्ट किटको अभाव, कमसल सामानहरूलाइ खरिद भन्दा ३ गुणा बढी तिरेर जसरी यहाँ भ्रष्टाचार भएको छ । यसको मुल्यांकन इतिहासकै सबैभन्दा भ्रष्ट सरकारको नाम यो सरकारले दर्ज गरेको छ भन्ने मलाइ लाग्छ । यो कुरा नेपाली जनताले पनि मनन गरेका छन् भन्ने मेरो बुझाइ छ । पक्कै पनि हाम्रो सरकार भएको भए यस्तो भयावह स्थितिमा यति सम्म संवेदनहीन भएर टुलुटुलु हेरेर बस्ने थिएन । कोरोना महामारीकै बीचमा चिनले १ हप्तामा ३ हजार सैयाको अस्पताल बनायो भनेर हामीले समाचार देख्यौ । तर हाम्रो सरकारलाइ अस्पताल बनाउने कुरा त परै जाओस् राममन्दिर बनाउन हतार भएको छ । जनता रूनु न हाँस्नु भइरहेकाे यस्ताे गम्भिर संकटकालिन अवस्थामा सरकारकाे प्राथमिकता देख्दा लाग्छ काेराेना संक्रमण नियन्त्रण गर्ने काम सरकारकाे हुँदै हाेइन ।

७. वर्तमान अवस्थामा युवा नेताको भुमिका कस्तो हुनुपर्छ ? प्रतिपक्षको तर्फबाट सरकारलाइ के कस्तो सहयोग गर्नुभएको छ ?
सरकारले जायज सल्लाह सुझाव नै ग्रहण नगरिरहेको अवस्थामा हाम्रो सहयोग त उसलाइ आवश्यक नै छैन होला । तर सरकारले गरेको राम्रा कामहरुलाइ पार्टीले समर्थन नै गरेको छ । सरकारले नक्साको विषयमा गरेको ऐतिहासिक काममा त सबै दलले समर्थन गरेको अवस्था थियो । तर सरकारले कारोना नियन्त्रणको लागि गरेको १० अर्ब खर्च गरिसकेको भन्ने जुन कुरा गरेको छ हामीले त्यसको हिसाब अहिले मागेका छैनौ । पछि जनताले त्यसको मुल्यांकन गर्लान् । अर्को कुरा नेपाल भरिका धेरैजसो अस्पतालहरुमा बिरामीहरु उपचार नपाएर घर फर्किनु परेको, स्थास्थ्य सामाग्रीको अभाव भएको यी सबै कुराहरु सरकारलाइ जानकारी होस् । अहिलेको अवस्थामा गर्न सक्ने भनेको त सरकारले नै हो । अझै पनि समयको सदुपयोग गरोस् । हामी सरकारले दिएको आदेश मानौला ।

८. काँग्रेसले जिम्मेवार प्रतिपक्षको भुमिका निर्वाह गर्न नसकेको हो ?
सरकारको जायज कामको समर्थन गर्दागर्दै कतिपय नाजायज कामको विरोध हामीले गरिहकै छौं । हाम्रो आवाज सानो भएको हुन सक्छ । संसदमा पनि उहाँहरुकै दुइ तिहाइ छ । उहाँहरुका लागि यति धेरै अवसरहरु हुँदाहुँदै पनि उहाँहरुले अवसर त गुमाउनुभयो नै । पार्टीभित्रको आन्तरिक कलहले उहाँहरुको सरकारको हालसम्मको कार्यकाल जात्रा देखाएरै बित्यो । हाम्रो भुमिका हामीले आफ्नो ठाउँमा निभाएकै छौं । केही कमी कमजोरीहरु भएको हुन पनि सक्छ, त्यसलाइ स्वीकार गर्नुको विकल्प छैन । तर हाम्रो जहिले पनि रचनात्मक प्रतिपक्षको भुमिका हुन्छ ।

९. अधिवेशनपछि पार्टीको नेतृत्वमा कस्तो परिवर्तन आउने अपेक्षा गर्नुभएको छ ?
पर्टीको आन्तरिक द्रन्दले पार्टी कही पुग्दैन । आन्तरिक मनमुटाव र तिक्तता मेटिएर अघि बढ्छ भन्ने विश्वास छ । महामानव विपि को सपना साकार पारेर पार्टी एक ढिक्का भइ अघि बढ्ने नेतृत्व चयन हुन्छ भन्नेमा आश्वस्त छु । इतिहासलाइ हेरेर संघर्षको मुल्याकंन गरी क्षमतावान नेतृत्व चयन हुनेमा ढुक्क छु । आम जनताको साझा समस्या समाधान गर्नु नेपाली काँग्रेसको दायित्व हुन जान्छ । हामीलाइ अरु पार्टीका जस्तो अ‍ौन्तरिक द्धन्द्धमा रुमलिएर बस्ने छुट त छदै छैन । त्यसकारण हामी हाम्रो नेतृत्व चयनमा उदाहरण पेश गर्ने एउटा अवसर पनि हाम्रो सामु आएको छ ।

१०. तपाइको केन्द्रिय सदस्यमा उम्मेदवारीको सम्भावना कत्तिको छ? तपाइको सोच के छ ?
त्यो सम्भावनाको कुरा हो । तर अहिले केही पनि सोचेको छैन ।

११. नेपालबाहिर रहेर देशको चिन्ता गर्ने आम नेपालीहरुका लागि तपाइको र पार्टीको तर्फबाट के सन्देश दिन चाहानुहुन्छ ?
म वर्दिया जिल्लाबाट थारु समुदायमा हुर्केको सामान्य मान्छे हुँ । मैले मेरो आफ्नै गाउँमा रेमिट्यान्सले खुशी छाएको परिवारको सुख र यसको दुखहरु पनि नजिकबाट महशुस गरेको छु । विदेशमा बसेका नेपालीहरु ले रेमिट्यान्समार्फत दैशलाइ पुरयाएको योगदानको कदर गर्छु । तर रेमिट्यान्सले धानेको हाम्रो अर्थतन्त्र भनेर भन्दा गर्व गर्ने ठाउँ पक्कै पनि छैन । हाम्रा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरु जो वाध्यताले विदेशमा श्रम गर्न जानुभएको छ । उहाँहरुलाइ उद्यमशिलतामा अघि बढ्न अग्रसर हुन, प्रेरणा दिन, नेपालमै रोजगारीको अवसरहरू सृजना गर्न ढिला भइरहेको महशुस व्यक्तिगत रुपमा भइरहेको छ । दक्ष जनशक्ति नेपालमै आएर काम गर्ने वातावरण बनाउन र विदेशमा सिकेको सीप स्वदेशमा उपयोग गर्न मैले आफ्नो तर्फबाट पार्टीभित्र सकेको भुमिका खेल्नेछु ।

प्रतिक्रियाहरू