हास्य निबन्ध ; कोरियामा भाषिक भ्रम र यथार्थ

1029

संसारमा भाषा नजान्नुजस्तो पीडा अरु केही हुन्न । अंग्रेजी चल्दै नचल्ने मुलुकमा पुगेपछि सबैलाई बोध हुन्छ भाषाको महत्व । भाषा नै पो रहेछ सबथोक त । भाषा नजान्दा मित्र सत्रुमा परिणत हुन्छन् । भाग्यवस् कहिलेकाहीँ घुमिफिरी दयाँ कृपाले सत्रु पनि मित्रमा परिणत भैदिन्छन् । भाषा नजान्दा आफ्नै सहकर्मीबाट निकम्मा ठहरिन्छ मान्छे । अथाहा ज्ञानको भण्डारले के गर्नु ? ओठ खैल्नै नआएपछि । कुनै कुरा पोख्नै नआएपछि । शब्द-शब्द जोडेर कनिकुथि ओकल्दा पनि त्यो कठिन परिस्थितिमा बुझ्नेले पटक्कै बुझ्दैन । अझ् हतारको बेला अर्थको अनर्थ पो लाग्छ ।
साँझमा दिनभरीको कायाकैरन र रैरकलम उच्च कारिन्दालाई सुनाउन नसक्दा मलाई जस्तै तपाईँलाई पनि त्यो दिन कोरियनको सामुन्ने भाषामा गुगुत्ति खेलेर नासमझ भएको संझना आउँछ होला । नव सिकारुहरुले पनि नहाँसि कल्पना गर्दा हुन्छ । ला यदि म पनि छनौट भएर कोरिया छिरेँ भने कतै म पनि त दलदलमा फस्ने हैन ! फेरी यो त मेरो कोरा कल्पना मात्र हैन मित्रहरु यथार्थको अस्त नस्तर पनि हो । गुन्टा कस्नुपूर्व सबै व्यासन छाडेर गुफावास बस्दा सबैलाई आफू भाषामा उत्तुगं भएको भान हुन्छ । विस्तारै विस्तारै त्यस भाषामा आफूलाई निपूर्ण हुनु र बनाउनु पनि सपनाको लभनतृष्णाले न हो । जे होस्, यसरी देशभित्र च्याउसरी उम्रिएका र हुर्किएका ‘हान्गुक पाठशाला’ मा नेपालीले गरेको आयश देख्दा मैले भन्नै पर्छ कि हामी नेपाली बहादुर मात्र कहलिदैनौँ, मेधावी पनि कहलिनुपर्छ भन्ने मेरो भाषा सिक्दादेखिको गतिलो तर्क हो ।
जम्मा उनन्चालिस वटा कोरियन वर्णको करामतले हामीलाई हैरान मात्र पारेको छैन । हत्तु पनि खेलाएको छ । हामीलाई हाम्रै देशमा परिश्रमी र मिहेनती बनाएको छ । तरान लगाएर अनेकौँ तरकिबलाई आत्मसाथ गर्दै पाँच दश किलो बोसोलाई पगालेको छ । हुँदाहुँदा सपनामा पनि ठडिएका, तेर्सिएका, बांगिएका, घुँमेका र खुट्टा झुन्डिएका सिन्काहरुले सताएर विपनालाई झस्काएको छ । शायद त्यतिको लगाब अरु केहीमा खर्चेको भए हामीलाई राम्रै भाटक आउँने थियो कि ? कुराकै शिलशिलामा एक यथार्थपूर्ण मजाक पनि जोडिहालौँ ।

एक रात मेरो उमेरले दाई तर भावनाले साथी पर्ने सपनामा बर्बराएछन् । हत्तपत्त टासिएर सुतेकि श्रीमती आत्तिदै उठिछिन् । अनि मध्यरातमै श्रीमानलाई ‘हजुर हजुर’ भन्दै उठाईछिन् । उठाइसकेर भनिछिन्- ‘के बोल्नुभाको त्यो अर्थ न बर्थको ? मित्रले निन्द्रालु आवाजमा भनेछन्- ‘के बोलेँ र बुढी मैले ?’ ‘खै कनिकुथी बोल्दै हुनुहुँन्थ्यो । बुझे पो ।’ श्रीमतीको कुरो सुनेर साथीले जुरुक्क उठेर बढो जिज्ञासु हुँदै सोधेछन्- ‘एक दुई वटा शब्द त याद छ होला नि त ।’ श्रीमतीले मुख बिगार्दै भनिछिन् – ‘खै, हाना-दुलो, सेट-आहो, यहो भन्दै दुबै हात तलमाथि पार्दै ठड्याउँदै हुनुहुँन्थ्यो । त्यति संम्झे है । हिजो पनि बोल्दै हुनुहुँन्थ्यो । के भाको छ आजभोलि हँ हजुरलाई ?’ त्यसपछि त मित्र मुसुमुसु हाँस्दै घोप्टो परेछन् र हिजो घोकेको कोरियन अंक एक, दुई, तीन लाई सम्झेछन् । विचरी श्रीमती पनि त्यस रात डराउदै सुतिछिन् । विपना त छँदै छ सपनामा पनि यसले लखेट्न छाड्दैन भन्ने गतिलो उदाहरण पेश गरेको मात्र हुँ ।
कोरियन भाषाको नशा यतिसम्म हुन्छ कि ‘मलाइ भगवानले पढ्नै पठाएको हैन यार’ भन्ने हेलम्बु निवासि मेरो मित्र कर्मा ग्याल्वो अथक रफतपछि मिहेनत गररै कोरिया छिरेको कथा सुन्दा म आज पनि दंगदास पर्छु । उसले कोरियन भाषा कसरी सिक्यो होला ? जीवनभर कहिल्यै मिहेनत नगर्ने अल्छिहरुले टुप्पि कसेको देख्दा यहि कुरा बारबार आवृत गरिरहूझैँ लाग्छ । हामी सबैलाई ताजुब लाग्नुपर्छ यहाँ । दश वर्षसम्म अंग्रेजी पढ्दा एक वाक्य बनाउन पसिना चुहाउने लोफरले केही महिनामै यो भाषा कसरी खर्र बोल्न सिक्यो ? उमेरले म्याद नाघिसकेको देखिने हाम्रा घर छेउका पञ्चरत्न काकाका जेठा छोरा कसरी कोरिया छिरे ? अघिल्लो वर्ष रेगिस्तानमा हुने हाम्रा साथीहरु यो वर्ष कसरी यहाँ छन् ? अर्को रोचक लाग्दो कुरा त के छ भने तीनचोटि भाषा परिक्षा दिदा पनि पास हुन नसकेको स्वाँठ अहिले राजधानीको नामुद इन्टिच्युटको कोरियन भाषा प्रशिक्षक कसरी हुन पुग्यो ?  आखिर गरे नहुने के नै रहेछ र ?
स्वाँठहरुकै कुरो निस्किएपछि अब एकछिन कोरियामा भाषा नजान्ने स्वाठहरुको प्रशंगतिर लागौँ । उनीहरु पाँच वर्ष विताईसक्दा पनि आउँनु र जानु, गर्नु र नगर्नु, शुरु गर्नु र बन्द गर्नु अनि छिटो, धेरै छिटो र ढिलो जस्ता सीमित शब्दहरुमात्र मात्र खुम्चेका हुन्छन् । तपाईँ हाम्रा यस्ता विशेष गुण भएका साथीहरुलाई कोरियन भाषाप्रतिको मोहै छैन । उत्तर पनि सहजै पाउँछौँ हामी । ‘काम चल्ने भाषा भए भइहाल्यो नि । कस्लो दिमाग खियाइराख्छ ?’ आखिर हो पनि । कामसम्बन्धी झिनाझाकर शब्दलाई ओठमा हिन्दोल गरेपछि ‘सेयो र उसेयो’ को प्रयोग किन गर्नुपर्यो । बरु ठूलावडाको मुखभरीको गाली मूर्ती बनेर वा ‘निगुरमुन्टी न’ लगाएर एकटकले सुनिदिए भैहाल्यो नि एकछिन । फेरि बुझिने पनि भुत्लोभाङ हैन । ‘सेक्या’ र ‘सिबाल’ त पचाईसकेकै पनि हो । चार वर्ष विताइसकेका मेरो एक लिम्बु दाई कोरियनले बोलाउदा अझै पनि धन्मनाउँछन् । पक्का पक्कि अड्कल पनि छैन उनलाई । म कहिलेकाहीँ तिनै दाईलाई सम्झिदै दिन काट्छु । बढो रोचक लाग्छ उनको कुरा गराई । आखिरी उनी कोरिया कसरी छिरे भन्ने बारे उनैका हितैसिलाई सोध्यो भने पनि थाहा छैन ।

अरुको कुरा कति गर्नु ? म जील्ल परेकै हो त्यस दिन जुन दिन मेरो कोरियन बोसले मलाई एउटा सामाग्री ल्याउन अर्हाएको थियो । अफसोच् ! मैले अर्को सामान बोकेर पुर्याएको थिएँ । उसले बोलेको नसुनेको पनि होइन । बोसले हतारिदै भने तापनी प्रष्टसँग शब्दलाई सुनेकै हो तर त्यो शब्द जीवनमै पहिलोचोटि सुनेको थिएँ मैले । मेरो दिमागमा झुन्डिनै मानेन त्यो शब्द । अच्चम्म त यो छ कि त्यत्रो महिना भाषा पढ्दा एक दिन पनि मेरो कानमा त्यो शब्द ठोक्किएको रहेनछ । कसरी थाहा हुनु मलाई ? तर थाहा नभएर कहाँ सु:ख पाइन्छ र ? अनुमान त लगाउनै पर्यो । थाहा भएजसरी काम गर्नै पर्यो । दौडनै पर्यो ।
असरल्ल सामग्री थुपारिएको भण्डार कक्षमा दगुर्दै पुगेँ र यसो उसले दिएको हातको ईशारालाई सम्झेँ । आखिर ‘हथौडा’ न हो उसले चाहेको । मेसिन बिग्रिनासाथ हिजो पनि मलाई यहि नै लिन पठाएको थियो उसले । मैले अन्दाज लगाएँ, ‘पक्कै यहि हुनुपर्छ ।’ मैले हत्तपत्त त्यहि खोज्न थालेँ । फेरि भन्ने वित्तिकै कहाँ भेटिन्थ्यो र त्यसको ठाँडो ? वल्लतल्ल भेटेँ । हातमा गतिलोगरी हथौडालाई च्याप्प समाउँदै दगुर्दै पुर्याएँ । बोस त मेरो हातको हथौडा हेर्दै लामो उच्छवास पो लिन्छ । सुस्केरा पो हाल्छ । शुरुताका भएकाले उसले मलाई त्यति यन्त्रना दिएन । यद्दपी ऊ यथास्थानबाट जुरुक्क उठि त्यो हथौडा थ्वात्त थुतेर दगुर्दै गयो भण्डार कक्षतिर । आफू जहाँको त्यहीँ ठिंङ्ग उभिरहनु त भएन नि । मैले पनि पछ्याएँ उसलाई । ऊ धुमधुम्ति इसिप्त सामाग्रीको तलासमा दत्तचित्त भयो । म ठिंङ्ग उभिएर हेरिरहेँ । उसको चटारोपूर्ण गति नौनागं देखियो । उसको हतासले गर्दा मलाई नै जुरुकजुरुक बनायो । म पनि झारा टार्दै खोज्ने चेष्टा गर्न थालेँ । मैले त के भेट्नु र सामाग्रीलाई ? उसैले भेट्टायो । भेटिनेसाथ दगुर्यो मसिनतिर । म पनि दौडिएँ पछिपछि । आखिर के नै रहेछ भनेर आँखा जोतेर हेरेको त काठको चारपाटे चिर्कटो पो रहेछ । हठात अघि उसले भनेको नाम सम्झने चेष्टा गरेँ । मैले त अघि विर्सिसकेछु ।
तीस सेकेन्डभित्रै फेरि बोसले मलाई सामग्री लिन हात हल्लाउदै अर्हायो । कम्तिमा म काममा नयाँ हुँ भन्ने जान्दा जान्दै उसले शब्दमार्फत त अर्हाउनुपर्थ्यो । चुचे ढुङ्गो उही टुङ्गो । ओठभन्दा हात नै अघि । अर्हाउन त अर्हायो । तर मैले फेरी पनि बुझ्न सकिनँ । म अनुमान लगाउँदै दगुरेँ । भित्र पसेर सोचमग्न स्थितिमा गुज्रिएँ । के ल्याउनु भन्यो भन्यो ? दर्जनौँ सामाग्रीको ह्रासलाई नियालेँ । अँह मैले सम्झनै सकिनँ । फेरि दगुर्दै गएँ र दहकस मान्दै सोधेँ, ‘फेरि एकचोटि आज्ञा होस् हजुर ।’ मसिनतिर घोत्लिएको उसको अनुहार मतिर ठडियो । एकछिन त ऊ बोलेन । मलाई रिस्सिएर हेरिरह्यो । उसले फेरि हतासमा हात हल्लाउदै एकैचोटि मात्र भन्यो । त्यसपछि त मैले ‘ल हुन्छ’ भन्दै बुझेजसरी फर्किएँ । तर कसरी बुझ्न सक्थेँ र मैले ? भण्डार कक्षमा पुगेर फेरि अलमलिएँ । कहिले टाउकोमा त कहिले चिउँडोमा हात पुर्याएर सोचमग्न स्थितिबाट गुज्रिरहेँ । आधा मिनेट मात्र बितेको के थियो, दगुर्दै आइपुग्यो बोस र मतिर रिस्सिदै ‘स्या र सू’ गर्दै आफैँ धुमधुम्ती खोज्न थाल्यो । ऊ भेट्टाएर एकैछिनमा दगुरी हाल्यो । उतै पुगेर मुन्टो तन्काएर हेरेको त फेरि त्यहि चिर्कटो नै पो रहेछ । हरे शिव ! अनि चै म रातो न पिरो भएँ । लाजले एकैचोटि छोप्यो । शायद म अतालिए पनि । फलत त्यो दिनभर त के, मेरो रातभर नै निस्तन्द्र भएर बित्यो ।

भाषामा अति औपचारिक बोलाईले हामीहरु शुरुमा सबैबाट प्रशंसित तुल्लिन्छौँ । यस्तो बेला कोहीकोहीँ कोरियनहरुले हामीलाई एकै चोटि भाषाको धुरीमा चढेको पगरी लगाइदिन्छन् । मन गदगद हुन्छ उनीहरुले त्यसो भन्दा । कसैले प्रशंसा गर्दै त्यसो भनिदिँदा स्वयम्लाई पनि त्यस्तै भान हुन्छ । ‘उँम, म पनि कोरियन भाषा फरर बोल्न सक्ने पो रहेछु ।’ तर दिनप्रतिदिन बोल्दै जाँदा र सुन्दै जाँदा थाहा हुन्छ कि मेरो सिकाई त घोकन्ते पो रहेछ । बोलीचालीको भाषा एउटा रहेछ तर सिकाई त अर्को भएछ । जाबो आउँनु, जानु, खानु, गर्नु पनि नबुझेको मैले ? एक हप्ता पछि फेरि उहि मानिस नाराज बन्न थाल्छ भाषा नबुझेर । दिग्दार लाग्छ । उदिग्नता बढेर रातभर ऊ छटपटाई रहन्छ । कोरियनले कार्यस्थलमा रिस्सिदै ‘उइस’ वा ‘इस’ गरेको सम्झनाले सताइरहन्छ । आउँनु भन्दा जानु बुझ्छ । जानु भन्दा ट्वाल्ल परी उभिरहन्छ । तान्नुभन्दा ठेल्न थाल्छ । उचाल्नु भन्दा समाउँनु भनेको बुझ्छ । बोलाउँनु भनेको बुझ्दैन ऊ । बरु खानु भनेको बुझ्छ ।
चौबिसौँ घण्टा शिष्ट शब्दहरुको उल्फ प्रयोगले कहिलेकाहीँ कोरियन पनि झिँझिन्छ हामीबाट । हतारको बेला कताको बनिदा र कताको सुब्निदा ? त्यतिखेरै सिकिन्छ असलि बोलिचालिको भाषा जस्तो, ‘खा’, ‘वा’, ‘हे’, ‘पे’, ‘थे’ आदि । शायद पहिलो महिनाको थियो त्यो । एकजना कोरियनले सोध्यो- ‘कोरियन भाषा आउँछ ?’ मभित्रको घमण्ड कुर्लियो, ‘भाषा पास गरेर आको मान्छे आउँदैन त ?’ अति गर्बिलो शैलिमा मैले भनिदिएँ, ‘आउँछ, आउँछ ।’ छेवैको मित्र बीरेलाई सोध्यो उसले- ‘तलाई आउँछ ?’ सर्वप्रथम फिस्स हास्यो बीरे । ‘यसले बुझेन जस्तो छ मैले सोधेको । त नेपालीमा उल्था गरिदिन सक्छस् ? अब कोरियनले मलाई जिम्मा लगायो । मैले हाँस्दै उसलाई छिटोछिटो नेपालीमा उल्था गरिदिएँ । मित्र बिर बा. ले त मेरो कुरा सुन्नेसाथ गतिलोसित हात ठड्याउदै बोल्न पो थाल्यो- ‘नानुन बीर बीक्रम लिम्बु इब्निदा, ना सुमुल थासत साल ईब्निदा, नानुन नेपालएस वाससुब्निदा ।’(म चाहि बिर बिक्रम लिम्बु हो, म पच्चिस बर्षको भएँ, म नेपालबाट आएको हुँ) कोरियनले बीरेको मुखाराविन्दुबाट यति भनि नसक्दै शालिन मुस्कान दिदै बुढी औँलो आकाशतिर ठढ्याइदिहाल्यो । बिरे पनि निकै गमक्क बन्न पुग्यो । मलाई थाहा भइसकेको थियो कि उसलाई धुरीमा पुर्याइसकेको कुरा । जे होस् त्यहाँ कोरियनले सबैभन्दा राम्रो भाषा त बीरेको ठहर्यायो, उल्था गरिदिनेको ठहर्याएन । अति जिज्ञासु हुँदै बीरेपट्टि फर्किएर कोरियनले दाया हातको कान्छी औँलो उचालेर जिस्किदै सोध्न शुरु गर्रो । साथी अकमक्क पर्यो । उसले मतिर याचित दृष्टि फ्याक्यो- ‘के भन्दै छ यो ?’ वास्तवमा मैले पनि त बुझ्न सकिनँ उसको कुरा । तर उसको हातले संकेत दिदा त उसले शौचालयको बारेमा कुरा गरिरहेको अड्कल लगाएँ र बीर बा. लाई एकैछिनपछि भनेँ, ‘ओए शौचालय हिँडि हाल त ।‘ दुबैजना शौचालयतिर जान दुई पयर चालेका मात्र के थियौँ, हाम्रो गतिलाई उसले अवरोध खडा गरिहाल्यो, ‘का हिँडेको ?’ विरेले मुख खोलिहाल्यो, ‘शौचालय भनेको हैन ?’ कोरियन छक्क पर्दै र मुसुमुसु हाँस्दै भन्यो, ‘जा जा, छिटो गएर आइज । बिरे र म दगुर्दै शौचालयतिर लाग्यौँ । शौचालय पस्न लाग्दा दुबैले फर्किएर त्यहि कोरियनलाई हेरेको त, ऊ त मरिमरि हाँस्दै पो रहेछ । हामी पनि मुखामुख गर्दै परिहासको स्पन्धन छुटाउदै भित्र पस्यौ । भित्र पसेछि एउटा कोरियन बुढोसँग कान्छी औँलोको संकेतार्थक वाक्य सोधेको त अर्कै रहेछ । त्यसपछि हामी छिटोछिटो होसियार भएर कामतिर चुपचाप लाग्यौँ ।

‘यो लेखक विमल सिटौलाको प्रकाशोन्मुख हास्यव्यङ्ग्य निबन्ध संग्रह भित्रको एक निबन्ध हो ।’

 

प्रतिक्रियाहरू