भोक हराएको छैन अझै निद्रा हराएको छैन
तिमिले छोड्दा कत्ति पनि मन दुखाएको छैन।
तिमिलाइ दियो सम्झेको थिएँ तर सलाई रहेछौं
तिमिले जस्तो मैले अरुको दिल जलाएको छैन।
हिजो मेरो छानो उडाउदा खुब रमाएको हो ऊ
आज उसैको घर जल्दाखेरि म रमाएको छैन।
बर्षौ बर्ष भइ सक्यो देशमा शान्ति आएको पनि
तर बा भन्नुहुन्छ,अझै बेपत्ता छोरो आएको छैन।
तपाईं आहा भन्नुहुन्छ झिलिमिली देखेर शहरको
हेर्नुस् त कर्णालीले अझै सिटामोल पाएको छैन।
कसरी बिश्वास गरुँ?एक गाँस दिन्छ भनेर उसले
जो कसौंडी रित्तो पारिसक्दा पनि अघाएको छैन।
प्रतिक्रियाहरू