बलात्कारपछि हत्या गरिएकी स्व. भागरथीको परिवारलाइ सुदूरपश्चिम समाज कोरियाले गर्यो आर्थिक सहयोग

520

बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका -७, चडेपानीकी किशोरी भागरथी भट्टका आमा द्रोपदी भट्टलाई सुदुरपश्चिम समाज कोरियाले रु २,८३,५००/- (अक्षरेपी दुई लाख त्रियासी हजार पाँच सय ) सहयोग गरेको छ। समाजका कोषाध्यक्ष डि आर पनेरु, पूर्व अध्यक्षद्वय नरबहादुर साँकी र धर्मराज जोशी, पूर्व सचिव सुरेन्द्र भण्डारी, पूर्व कोषाध्यक्ष नवराज भट्टले वहाँको घरमै गई दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्र कार्की र वडाध्यक्ष भरतसिह महरा लगायत अन्य स्थानीयको उपस्थितिमा उक्त सहयोग हस्तान्तरण गरेका हुन्। “सहयोग हस्तान्तरणका बखत आमाका आँसु नथामिएपछि उपस्थित सबै भावुक भयौ। आमासंग केही कुरा गर्न खोज्दा वहाँ बोल्नु सक्नु भएन!” कोषाध्यक्ष डि आर पनेरुले बताए।

गत् माघ २१ गते बिहान विद्यालय गएकी भागरथी कहिल्यै नफर्किने गरी बलात्कारपछि हत्याको घट्नामा अस्ताएको खबरले चडेपानी गाउँ मात्रै नभई सिंगो देश तथा विदेशमा रहेका नेपाली दु:खित् बनेका थिए। पतिको किरियामा रहेकी आमाले छोरी पनि यस्तो दु:खद् घटनामा गुमाउँदा वहाँका आँसु अझै थामिएका छैनन्। उक्त घट्नामा संलग्न अभियुक्त एक नाबालक किशोरलाई प्रहरीले सार्वजनिक गरिसकेको छ।

आमाको घरको अवस्था कमजोर रहेको समाचार आएपछि सुदुरपश्चिम समाज,कोरियाले फेब्रुअरी ७ तारिखबाट सल्लाहकार एवं निवर्तमान अध्यक्ष लालबहादुर साउदको संयोजकत्वमा ” भागरथीका आमाका आँसु पुछौं” अभियान सुरु गरेको थियो। ढुङ्गा र गारोले बनेको घरको दैलोमा सेतो परिहनमा बसी न्यायको पर्खाइमा रहेकी आमाको फोटो सहित सहयोगका लागि सामाजिक संजाल फेसबुकमा पोष्ट आएपछि कोरियामा रहेका १ सय ६९ जना मानव मनहरूले स्व:स्फुर्त रुपमा सहयोग गरेका थिए।

अभियानमा कूल २७ लाख ,३८ हजार ३ सय ९१ कोरियन वन रकम संकलित भएको समाजले जनाएको छ।” समाजको यो अभियानलाई सम्पन्न गर्न आफ्नो भूमिका खेल्नुहुने सल्लाहकार एवं पूर्व अध्यक्ष जितेन्द्रसिह महता,उपाध्यक्ष महेश महरा, बैतडी संयोजक प्रकाश कार्की, दार्चुला संयोजक धनदेव भट्ट, बुसानका वरिष्ठ उपाध्यक्ष मनमोहन पन्त, सामाजिक अभियन्ताहरू महेश भट्ट, जनकराज भट्ट, बसन्त बोहरा लगायत सम्पूर्ण सहयोगी मनहरू एवं सहयोगलाई आमाको हातमा पुर् याउनु हुने टोली सबै लाई समाज हार्दिक धन्यवाद ज्ञापन गर्दछ। ” समाजका अध्यक्ष बीरबहादुर पाल, महासचिव ओम साउद र अभियान संयोजक लालबहादुर साउदद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रियाहरू