नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले आठौँ शैक्षिक सेमिनार गर्ने

164

नेपाली विद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक)ले यहि मार्च १३ र १४ तारिखका दिन आफ्नो आठै शैक्षिक सेमिनार  गर्ने भएको छ ।

विदेशमा सिकेको ज्ञान शीप तथा अनुभव आदनप्रदान गर्नुका साथै नेपाली बिद्यार्थीहरुको जमघट र पारिवारिक वातावरणका लागि विभिन्न विश्वविद्यालयमा आयोजना गर्दै आएको शैक्षिक सेमिनार गत वर्ष कोरोना महामारीका कारण स्थगित भएपनि प्रविधिको प्रयोग गर्दै यस वर्ष अनलाइनका माध्यमबाट सम्पन्न गरिने भएको हो ।
दुई दिनसम्म चल्ने सेमिनारमा नेपाल कोरिया लगायत विश्वका बिभिन्न देशमा छरिएर रहनुभएका नेपालीहरूको अनुभव र ज्ञानलाई नेपालको समृद्धिमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सोनसिका सभापति राजाराम श्रेष्ठले जानकारी दिनुभयो।

सभापति श्रेष्ठका अनुसार शैक्षिक सेमिनार अनलाईनबाट सञ्चलन गर्दा कोरिया स्थित विभिन्न विश्वविद्यालयमा अध्ययन अनुसन्धान गरिरहेका नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विश्वभरि छरिएर रहेका विज्ञ, अनुभवी तथा दक्ष अतिथिहरुको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारि हुने बताउनु भयो। साथै नेपालको विकास र समृद्धिसंग कसरी जोड्ने र नीतिगत कार्यान्वयनमा विदेशमा रहेका विद्यार्थीको समन्वयकारी भूमिका कस्तो हुने भन्ने बहसको निरन्तर अभ्यास हुने जानकारी दिनुभयो।

दक्षिण कोरियाका लागि नेपाली राजदूतावासका का. राजदूत तथा उपनियोग प्रमुख रामसिंह थापाको प्रमुख अतित्थ्यतामा सञ्चालन हुने औपचारिक कार्यक्रममा गैरआवसीय नेपाली संघ (NRNA), द. कोरियाका अध्यक्ष, सोनसिका पूर्व सभिपतिहरू, सल्लाहकार ज्युहरू लगायत विशिष्ट व्यक्तिहरूको अतिथ्यता रहने छ । सोनसिकका सभापति राजाराम श्रेष्ठको सभापतित्वमा सम्पन्न हुने यस औपचिरीक कार्यक्रमको संचालन चारू विष्टले गर्नु हुने छ । औपचारिक कार्यक्रम समापन लगत्तै सेमिनार सेसन सुरु हुने कुरा यस सेमिनारका संयोजक डा. टङ्किङ बास्तोलाले जानकारी गराउनु भएको छ ।

संयोजक बास्तोलाका अनुसार पहिलो दिनको पहिलो सेसनमा मुख्य वक्ताका रुपमा काठमाडौँ विश्वविद्यालयका उप-कुलपति प्रा. डा. भोला थापा र राष्ट्रिय आविस्कार केन्द्रका संयोजक डा. माहाविर पुनको प्रस्तुति रहने छ भने दोस्रो दिनको सेसनको प्रमुख वक्ता डा. दिग्विजय महतले आफ्नो प्रस्तुति राख्नुहुने छ । ई. रवि घिमिरेको संयोजनमा सम्पन्न हुने पहिलो दिनको कार्यक्रम तिन बटा सेसनमा बिभाजन गरिएको छ र सेसनहरूको सहजिकरण डा. कृष्ण सोमाइ, यज्जु प्रधान र चारू विष्टले गर्नु हुने छ ।

डा. दिग्विजय बस्नेत प्रमुख वक्ताका रूपमा रहनु भएको दोस्रो दिनको कार्यक्रम शैक्षिक क्षेत्रका बिभिन्न विषयहरू समेटेर छ वटा सेसनमा बिभाजन गरिएको छ । बिभिन्न छ वटा सेसनहरूमा “Engineering and A.I”, “Natural Science”, “Applied Science and Biotechnology”, ” Health and allied Sciences”, ” Agriculture, forestry, food, Green Energy and Ecology”, “Social Science and Management” रहेका छन् ।

सम्बन्धित विषयका विज्ञहरूको संयोजनमा सम्पन्न हुने सेसनहरूमा लामो समय शिक्षण, अनुसन्धान लगायतको शैक्षिक क्षेत्रमा निरन्तर क्रियाशील रहनु भएका विभिन्न व्यक्तित्वहरूको प्रस्तुति रहने छ ।

यस दुई दिने शैक्षिक सेमिनारमा शैक्षिक क्षेत्रमा संलग्न व्यक्तिहरू, विभिन्न विश्वविद्यालयमा अध्यनरत विद्यार्थीहरू नेपाल तथा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली तथा विदेशी नागरिकहरुको गरिमामय उपस्थिति रहने जानकारी सेमिनारका संयोजक टङ्किङ बास्तोलले दिनुभएको छ ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र सम्पूर्णलाई उपस्थितिका निमन्त्रणा गरिएको जानकारी संयोजक बास्तोलाले गराउनु भएको छ । साथै यसै समाचार मार्फत पनि उपस्थितिका निम्ति अनुरोध गरिएको छ ।

प्रतिक्रियाहरू