आज कुशे औसी तथा बाबुको मुख हेर्ने दीन , धार्मिक र बैज्ञानिक महत्व…

109

प्रेमराज अधिकारि ,दक्षिण कोरिया 

प्रत्येक वर्ष भाद्र महिनाको औंसीका दिन मनाईने सनातन धर्मको एक महत्वपुर्ण पर्व हो कुशे औंसी । यसको महत्व, विशेषता र गरिमा उच्च रहेको छ। कुश सनातन हिन्दु दर्शनमा भगवान बिष्णुको प्रतिकको रुपमा लिइन्छ। कुशलाइ बिष्णुको प्रतिक मानिनुको कथा भने सारै रोचक छ ।

सत्ययुगमा जालन्धरकी पतिब्रता स्त्री वृन्दाको पतिव्रता धर्म नष्ट गएका भगवान् विष्णुलाई ‘घाँस हुनुपरोस्’ भनी दिएको श्रापलाई शिरोधार्य गरि कुशको रुपमा आफु अबस्थित रहेको कुरा श्रीषखण्ड पुराणमा उल्लेख छ । यसैगरी, गरुडले माता विनितालाई दासत्वबाट मुक्त गराउन अमृत भण्डार लिन जाँदा कुश फेला परेको विष्णुपुराणमा उल्लेख छ । यसैगरी, कालकुट विष निकालेर आएको अमृत कुश भएको ठाउँमा राखिँदा सर्पले अमृत भण्डारमा गएर खान खोज्दा कुशले जिब्रो काटिएकाले त्यतिबेलादेखि सर्पहरूको दुईओटा जिब्रो भएको कथन समेत पाईन्छ। बलिराजा र शुक्राचार्यबीच पनि कुशकै कारण मनमुटाव भएको प्रसंग पुराणमा छ । त्यस्तै, भगवान् बलरामले भूलवश सुतजीलाई मारेकाले त्यही स्मरणमा हरेक धार्मिक तथा पैतृक कर्म गर्दा कुशको ब्राह्मण बनाउने नियम रहेको वताईन्छ।

‘कुश’मा ब्रह्मा, विष्णु र महेश्वरको स्वरूप तथा वास हुन्छ।

पूर्विय दर्शनमा कुशको धार्मिक लगायत अन्य महत्वहरु रहेको कुरा अर्थवेद, भागवत गिता, बिष्णु पुराण, गरुड पुराण आदिमा वर्णित छ । यस बाहेक तात्विक रुपमा पनि कुशको महत्व निकै रहेको पाईन्छ । यो काट्दा पनि अठिलो भैरहने टुक्रा नहुने, विभिन्न रोगको सफल उपचारमा प्रयोग हुने, विकिरणलाई शोषण गर्ने यसका केहि सामान्य दृष्टान्तहरु हुन् ।यस दिन हिन्दु धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । कुश एक वनस्पति हो । यसलाई विभिन्न धार्मिक कार्यमा प्रयोग गरिन्छ । यसको आयुर्वेदिक तथा औषधीय महत्त्व रहेको छ ।
व्राह्मणहरुद्वारा पूजा गरी छेदन् गरेर जजमानहरू कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । देवी देवताको पूजा, पितृकार्य , तर्पण, अभिषेक, प्राण प्रतिष्ठा, प्रायश्चित, दशविध स्नान आदि गरिँदा कुश मिश्रित जल नै प्रयोग गरिन्छ । कुशासनमा बसेर पूजा गर्नु, कुशको औंठी, कुशले बनेको गुन्द्री वा चटकीमा नियमित बसाइले उच्च रक्तचापका विरामीलाई लाभ हुन्छ ।
नुहाउँदा, जप गर्दा, होम, स्वाध्याय, सन्ध्या, देवपूजा यज्ञ यज्ञादी आयुर्वेदिक उपचारमा पनि कुशको खास महत्व छ । तराईदेखि पहाडसम्म पाइने यो वनस्पतिको जराबाट विविध उपचारका लागि आयुर्वेदिक औषधि बनाइन्छ । कुशको प्रयोग श्वास, दाह, रक्तपित्त, रक्तविकार, तिर्खा, मिर्गौलाको पत्थरी, मानव शरीरको रक्तसँग सम्बन्धित रोग तथा जण्डिस, छालामा देखिएका खटिरा आदिको उपचारमा गर्न सकिन्छ ।
कुश मानवले धारण गर्दा आयु बढ्ने र प्रदूषित वातावरण नास गर्ने र यसलाई पानीमा डुबाउँदा पानी शुद्धीकरण हुन्छ । जप, पूजापाठ र यज्ञ गरिँदा त्यसबाट शक्ति रक्षा गरिदिने कुशलाई आसनको रुपमा प्रयोग गरिन्छ ।
मानिसको जन्मदेखि मृत्युसम्मका बिभिन्न धार्मिक कर्महरुमा कुश नभइ हुँदैन तर, कुश किन आवश्यक छ भन्ने कुरा धेरैलाई थाहा छैन । कतिपय मानिसहरु कुशको प्रयोगलाई केबल औपचारिकता पूरा गरेको ठान्छन् तर त्यस्तो ठान्नु गलत हो । कुशको प्रयोगमा वैज्ञानिक कारण पनि छ ।
जप, ध्यान, पूजा, हवन र श्रद्धा गर्दा पृथ्वीको गुरुत्वाकर्षणले मानवदेहलाई प्रभाव पार्न नसकोस, रोग फैलाउने भाइरसहरु निस्क्रिय होउन् भनेर कुशको प्रयोग गरिएको हो । ग्रहण लागेको समयमा दही, दूध, अन्न, पानी तथा अन्य खाद्य वस्तुहरुमा कुश राखिदिदिएमा ग्रहणकालमा निस्किएका अशुद्ध विकीरणको दुष्प्रभाव पर्दैन । कुण्डलीमा राहुको महादशा चल्दा पानीमा कुशको प्रयोग गरेर स्नान गर्दा यसको नकरात्मक असर कम हुने धार्मिक शास्त्रमा उल्लेख छ ।
एउटा वैज्ञानिक प्रयोगका क्रममा एकमुठ्ठि कुशलाई बिकिरणहरु माझमा राख्दा कुशले सम्पूर्ण बिकिरणहरुलाई आफूबाट परिवर्तित गरेको पाइयो । यसप्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यबहारीक जीवनशैली प्रस्तुत गरेको छ । वैज्ञानिकरुपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औंठी र अन्य सामग्रीहरूको प्रयोग गर्न सबैलाई प्रोत्साहीत गर्दछ । दाहिने हातको औंलामा कुशलाई औंठीका रुपमा प्रयोग गर्दा वातावरणमा भएका गतल तरङ्ग र विकिरणहरुलाई निस्तेज गर्ने विश्वाश र विज्ञानतः प्रमाणीत सिद्धान्तहरुले स्पष्ट पारेका छन् ।

प्रत्येक देव तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्रायाउँदै मनाईने यस कुशे औंसी पर्वका दिन ब्राह्मणद्वारा विधिपूर्वक कुश काट्ने गरिन्छ ।‘यस दिन ब्राह्मणद्वारा काटिएको कुश घरमै राख्ने र जजमानकहाँ लगिदिने चलन छ,’ कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।’ यस दिन प्रयोग हुने कुशको छुट्टै महत्व छ । यस दिन घरमा भित्र्याएको कुश एक वर्षसम्म प्रयोग गर्न पवित्र मानिन्छ। यसका साथै कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गरिन्छ ।
शास्त्रीय मान्यता अनुसार हरेक मानब जन्मिसके पछि तिन ऋणबाट युक्त हुन्छ । त्यस मध्य पितृ ऋण एक महत्वपुर्ण ऋण हो जुन संस्कारको आधारमा विभाजित हरेक व्यक्तिका चार आश्रमहरु मध्य गार्हस्थ्य आश्रम संग अत्यन्तै निकटको सम्बन्ध राख्दछ । तसर्थ एक कुशल र अनुशासित सन्तानले आफ्नो पितृ ऋणवाट मुक्ती हुने कुरा संग पनि यो कुशे औशीलाइ जोडिएको पाइन्छ। यसको परोक्ष सम्बन्धको बारेमा सर्बाधिक संसारभर लोकप्रिय र सापेक्षिक रुपमा सहजै उपलब्ध हुने श्रीमद भगवदगीताको ‘सांख्ययोग’ नामक अध्यायमा कम तर गहन तरिकाले उल्लेख गरिएको छ । बुबाको मुख हेर्ने दिन पितृ तथा गोकर्ण औंशीबाट प्रसिद्ध यस दिनलाई बाबुको मुख हेर्ने दिनका रूपमा लिने गरिन्छ । यस दिन छोराछोरीले बाबुलाई मनपर्ने मिठाइ तथा भोजन गराई सम्मान प्रकट गर्ने परम्परा रहेको छ ।

आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबुप्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइने यस पर्वमा छोराछोरीले बाबुलाई सम्मान गर्ने गर्दछन्। दिवंगत भईसकेका बुवा नहुनेहरूले पनि यस दिन तीर्थमा खासगरी उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको बेत्रावतीमा गएर श्राद्ध, तर्पण, दान गर्ने गर्दछन् । विष्णु पादुकामा श्राद्ध, तर्पण, दान गरेमा पितृ तर्ने धार्मिक विश्वास छ ।तीर्थस्थलमा गई तर्पण तथा सिदा दान गरेमा पुण्य मिल्नुका साथै पितृले आशिर्वाद दिने र आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।