कोरियाबाट फर्केका चितवनका युवाको सामुहिक प्रयासमा बंगुर फार्म

रोजगारीका सिलसिलामा विदेश जानेहरूले पसिनाको मूल्य त्यहाँ पुगेर काम गर्न थालेपछि मात्र थाहा पाउँदारहेछन् । विदेशमा दुःख गरेर कमाएको रकम स्वदेशमा उत्पादनमूलक काममा प्रयोग गर्नेहरू थोरै छन् । तिनै कममध्ये पर्छन् चितवनका आठ जना जोशिला र आँटिला युवा । उनीहरूले कोरियामा पाँच वर्षभन्दा बढी समय कारखानामा श्रम खर्चेर फर्केपछि अहिले स्वदेशमै केही गर्ने आँट गरेका छन् । चितवनको भरतपुर नगरपालिकाको विभिन्न वडामा बस्ने आठ जना युवाले नवलपरासीको गैँडाकोट नगरपालिका वडा नम्बर सात गैरीमा बंगुर फार्म सञ्चालन सुरु गरेका हुन् ।

विदेशको कमाइ स्वदेशी भूमिमा लगानी गर्दै आफ्नो पसिना आफ्नै देशका लागि खर्चने उद्देश्य बोकेका यी युवा सामूहिक प्रयासले सफलता पाउने आशा लिएका छन् । गैँडाकोटको गैरीमा नारायणी लाइभस्टक फार्म खोलेर बंगुर पालेका आठ जना युवाले कोरियामै रहेका र कोरियाबाट नेपाल फर्केका अन्य ३२ जनालाई समेटेर फार्म सञ्चालन गरेका हुन् । ४० जनाले सुरुमा २० लाख रुपैयाँ जुटाएर ४० वटा बंगुर पाल्न सुरु गरेको फार्ममा अहिले तीन सय वटा बंगुर छन् । तीन सयमध्ये बच्चा र मझौला बंगुर दुई सय र ठूला र माउ बंगुर सय वटा छन् । दुई दिनको बच्चादेखि तीन वर्षसम्मका बंगुर छन् फार्ममा । सबैभन्दा ठूलो बंगुर एउटै एक सय ५० किलोको छ । सामूहिक लगानी एक करोड रुपैयाँ पुगेको छ ।रतपुर महानगरपालिकाको विभिन्न वडामा बसोबास गर्ने डम्बरबहादुर राना, दुर्गाप्रसाद सापकोटा, गगनकेशरी अधिकारी, राजीव गुरुङ, युवराज श्रेष्ठ, जगत गुरुङ, इन्द्रप्रसाद न्यौपाने र लालबहादुर श्रेष्ठ हरेक दिन फार्ममा खटिन्छन् । रातको समयमा रेखदेख गर्न चार जना आवासीय कर्मचारी राखेका छन् । एक जना प्रबन्धकले दानाको जोहो र औषधोपचारको व्यवस्था मिलाउँछन् । पाठापाठी हुर्काउन ब्लकले घेरेका साना २० वटा कोठा बनाइएको छ । सुत्केरी बंगुर राख्ने १० वटा कोठा छन् । चार वटा भाले रहेको फार्ममा भाले लगाउने एउटा छुट्टै कोठा छ ।

वार्षिक २४ हजार रुपैयाँ भाडा तिर्ने गरी १० वर्षका लागि भाडामा लिइएको ६ कठ्ठा जमिनलाई तारबार र टिनले घेरेर फार्म बनाइएको छ । बंगुर पाल्न निर्माण गरिएको फार्ममा परम्परागत खोर नभई जीआई पाइप प्रयोग गरेर ७० वटा आधुनिक केज बनाइएको छ । केजमा पानीको पाइप जडान गरिएको छ, जसबाट निरन्तर पानी स्वचालित रूपमा उपलब्ध हुन्छ । बंगुरले पानीको पाइपमा जोडिएको प्वाइन्टमा मुख लगेपछि पानी आफैँ आउँछ । दानाका लागि भने केजको अगाडिको भागमा डुँड बनाइएको छ ।

आधुनिक फार्म मात्र नभई बधशाला, मासु बिक्री केन्द्र र बंगुरको मात्र परिकार पाइने रेष्टुराँ सञ्चालनसम्मको योजना बुनेका छन् उनीहरूले । लगानी बढाएर तीन करोडसम्म पुर्‍याइने उनीहरू बताउँछन् । कोरियाबाट नेपाल फर्केका र कोरियामा अहिले पनि काम गरिरहेका गरी ४० जनाको चितवन कोरिया पुनर्मिलन समाज गठन गरेर बंगुरको गोठदेखि मासुका परिकार ग्राहकको ओठसम्म पुर्‍याउन चितौने युवा कम्मर कसेर लागेका छन् । ‘एक्लै काम गर्नुभन्दा सामूहिक रूपमा काम गर्दा प्रभावकारी हुने र आर्थिक भार पनि कम पर्ने भएकाले फार्म खोलेर बंगुर पाल्न सुरु गरेका हौं', समाजका अध्यक्ष डम्बरबहादुर रानाले भने, ‘अब बधशाला, मासु बिक्री केन्द्र र बंगुरको मासुका परिकार मात्र पाइने रेस्टुरेन्ट सञ्चालन गर्ने लक्ष्य लिएका छौँ ।' यसपालिको दसैँसम्ममा बधशाला र मासु बिक्री केन्द्र सञ्चालनमा ल्याइने उनले बताए । यसवर्षको चैतसम्ममा रेष्टुराँ पनि सञ्चालनमा ल्याउने गरी काम गरिरहेको उनको भनाइ छ ।

जमघटमा जुर्‍यो जुक्ति

कोरियाबाट फर्केका चितवनका युवा १८ महिनाअघि पटिहानीको सीतामाईमा वनभोज खान पुगे । त्यही जमघटमा बंगुरपालन फार्मदेखि रेस्टुरेन्ट सञ्चालनसम्मको नवीन काम गर्ने जुक्ति जुरेको बताउँछन् समितिका उपाध्यक्ष दुर्गाप्रसाद सापकोटा । ‘कोरियामा बस्दा एकअर्काबीच चिनजान भयो । कोरियामा साथीहरूबीच हुने जमघटमा स्वदेश फर्केपछि केही नौलो काम गर्ने सल्लाह गरेका थियौँ', विगत सम्झँदै सापकोटाले भने, ‘पिकनिकमा जम्मा भएका साथीहरूबीच सामूहिक रूपमा केही गरौँ भन्ने सल्लाह भएपछि बंगुर फार्म खोल्ने, क्रमशः बधशाला, मासु बिक्री केन्द्र र रेस्टुरेन्ट सञ्चालन गर्ने निष्कर्षमा पुग्यौँ ।'

आफूहरूले सरकारबाट पाइने अनुदानमा काम सुरु नगरेको र कतैबाट केही सहयोग नपाए पनि लगानी थप्ने बताउँदै सापकोटाले गोठदेखि ग्राहकको ओठसम्म स्वस्थ्यकर मासुका परिकार पुर्‍याउने लक्ष्यमा पुगेरै छाड्ने अडान व्यक्त गरे । यसबीचमा सरकारी वा गैरसरकारी क्षेत्रबाट आफूहरूलाई कुनै सहयोग प्राप्त भएमा त्यसलाई पनि स्वीकार गरिने उनले प्रस्ट पारे ।

समाजका कोषाध्यक्ष युवराज श्रेष्ठले कोरियाबाट फर्केका आठ जनाले ५० प्रतिशत र कोरियामा रहेका तथा कोरियाबाट नेपालमा फर्केका अन्य ३२ जनासहित ४० जनाको समूहले पचास प्रतिशत लगानी गरिरहेको र प्रतिफल पनि लगानीको अनुपातमा बाँडिने जानकारी दिए । उनका अनुसार, फार्मभित्र केजसहितको ब्लक निर्माणमा २५ लाख रुपैयाँ लगानी भएको छ । दानामा मासिक चार लाख रुपैयाँ खर्च हुने गरेको छ ।

फार्ममा दैनिक ठूला बंगुरले दुई किलो, सुत्केरी बंगुरले तीन किलो र हुर्कंदै गरेका बंगुरले एकदेखि दुई किलो दाना खान्छन् । समाजका सचिव गगनकेशरी अधिकारीले फार्ममा नै दाना तयार गरी बंगुरलाई खुवाउने गरेको जानकारी दिए । ‘मकैको पिठो, ढुटो, चोकर, नुन, भिटामिन र मिनरल मिसाएर दाना तयार पार्छौं' उनले भने, ‘फार्ममा रहेका बंगुरलाई बिहान र बेलुका गरी दुईपटक दाना खुवाइन्छ ।'

यसरी हुर्काइन्छ पाठापाठी

फार्ममा मासुका लागि पालिने ड्युरो, योर्कसायर, हेम्सायर र ल्यान्ड्रेस जातका बंगुर पालिएको छ । फार्ममा जन्मेका पाठापाठी ३५ देखि ४० दिनसम्म माउसँगै राखिन्छ । त्यसपछि माउबाट छुटाएर पाठापाठी राख्ने कोठामा दाना खुवाएर हुर्काइन्छ । बच्चा जन्मेको तीन दिनभित्र दाँत काट्ने तथा भिटामिन र आइरनको सुई दिने काम हुन्छ । १० देखि १५ दिनभित्र नपुंसक बनाउने र तीन महिनाको पुगेपछि लुतो र जुकाविरुद्ध सुई दिइन्छ । ६ महिना कटेपछि स्वाइन फिभर (ज्वरो) र खोरेतको सुई पहिलो डोज लगाएपछि प्रत्येक वर्ष निरन्तर दिनुपर्छ । अरुबेला रोग अनुसारको औषधि र उपचार गरिन्छ । प्रत्येक महिना पशु चिकित्सकलाई फार्ममा बोलाएर बंगुरको स्वास्थ्यबारे निरीक्षण गराउने गरेको समितिका सदस्य लालबहादुर श्रेष्ठ बताउँछन् ।

समाजका सहसचिव राजीव गुरुङका अनुसार, फार्ममा लगानी गरेका ४० जनामध्ये चार जनाले कोरियामा रहँदा बंगुर फार्ममै काम गरेका थिए । अन्यले भने विभिन्न कारखानामा दुःखपूर्ण काम गरेका थिए । कोरियामा रहँदा आफूहरू सबै चितवन सम्पर्क समितिमा आबद्ध रहेको बताउँछन् । यो समितिले भूकम्पका बेला चितवनका भूकम्पपीडित २२ घरपरिवारलाई जस्तापाता बाँडेको थियो । समितिले चितवनका विभिन्न सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २३ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।अन्नपूर्ण पोष्ट
प्रकाशित मिति : २०७४ असार २६ (July 10, 2017)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

प्रमुख समाचारका थप शिर्षकहरु

• विश्वको ५ औं अग्लो कोरियाको लोट्टे वर्ल्ड टावर महिनामा २ दीन बन्द रहने

• कोरियन भाषा परीक्षामा १२ हजार १ सय ८ जना उत्तिर्ण

• कोरियन भाषा परीक्षाको नतिजा भोलि, झण्डै साढे १० हजारलाई उर्तिण गराइने

• कोरियाको नेपाली महिला संस्था द्वारा एनसीसी कोरियाकी महिला उमेद्वार अन्जु केसी लाइ सहयोग नगर्ने उद्घोष

• कोरियाको मुजुमा सम्पन्न वल्र्ड तेक्वान्दो एक्स्पोमा नेपाललाई २२ पदक, पदक विजेता सवै खेलाडि नेवाः पुःच द्धारा सम्मानित

• कोरियन युवती संग होटेलको लोकेसन सोधेकै भरमा एक नेपाली परे ५ महिना जेल,किम्हे माइग्रेन्ट हाउसले गर्यो सहयोग

• एन सी सी कोरिया , राजतन्त्र र राप्रपा

• एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त

• नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने

• कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने

• कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक

• कोरियाली रास्ट्रपतिले सम्झिए भूकम्प पछी नेपालमा आफुले गरेको श्रमदान

• हुण्डी कारोबार तत्काल रोक्न सरकारलाई निर्देशन

• कोरियामा मृत्युलाई जितेको त्यो रात

• उत्तर कोरियाली नेता किम जोंग उन जब एकाएक गायब हुन्छन

• कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकी

• इपिएस कामदारको भिषा अवधि ४ वर्ष १० महिना हुनुको रहस्य सार्वजानिक

• कोरियामा रहेर नेपाली सांगेतिक क्षेत्रमा उदाउदै अनुराग

• नफक्रिदै ओइलिएको माया

• कोरियामा नेपाली नेताहरुको ओइरो, दुतावास मिडिया मैत्री नहुदाँ इपिएस प्रमूख आए गएको भएन अत्तोपत्तो

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्युजेनेभामा जारी अन्तर्राष्ट्रिय सम्मेलनमा इपिएस खारेजको माग जोडदाररुपमा प्रस्तुत
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal