अब लोडसेडिङ तालिका आउँदैन - कुलमान घिसिङ

कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुनासाथ राजधानी उपत्यका र आसपासका जिल्लामा लोडसेडिङ अन्त्य भयो । तिहारको झिलिमिलीपछि लोडसेडिङ बढ्ने त्रास थियो तर, अचानक लोडसेडिङ गायब भयो । मान्छे चकित छन् आखिर के चमत्कार गरे कुलमानले ? यो चमत्कार होइन भने बिजुली कहाँ थियो भन्ने प्रश्न पनि जीवितै छ । किनकि १३ वर्षदेखि जनता अध्यारोको प्रताडना भोग्न बाध्य थिए । अहिले विद्युत प्रणालीमा बिजुली नथपिए पनि लोडसेडिङ समाप्त भएको छ । विगतका वर्षमा पनि लोडसेडिङको चर्चा हुन्थ्यो, यस वर्ष पनि यसैको चर्चा भइरहेको छ । फरक यति मात्र छ, विगतमा कति घन्टा लोडसेडिङ हुन्छ भन्ने चर्चा हुन्थ्यो भने यस वर्ष कसरी लोडसेडिङ अन्त्य भयो भन्ने जिज्ञासा ।

के २४सै घन्टा बिजुली आइरहेको यो अवस्था कायमै रहला ? नदीमा पानी सबैभन्दा कम रहने अवधि माघदेखि चैतसम्म पनि बिजुली निरन्तर आइरहन्छ ? जिज्ञासा यी पनि छन् । जबाफ खोज्न हामीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नयाँ पत्रिका दैनिकको न्युजरुममा आमन्त्रण गरेका थियौँ । घिसिङ र नयाँ पत्रिकाकर्मीबीचको अन्तक्र्रिया आइतबार साँझ एक घन्टा फेसबुकबाट लाइभ प्रसारणसमेत भएको थियो । नयाँ पत्रिकाकर्मी तथा फेसबुकमार्फत दर्शकले सोधेका प्रश्नमा घिसिङको जवाफ : १३ वर्षदेखि नेपालीले भोग्दै आएको लोडसेडिङ काठमाडौं र आसपासका जिल्लामा अन्त्य भएको छ । मानिसहरू खुसी भएका छन्, जताततै तपाईंको तारिफ पनि भइरहेको छ । प्रणालीमा उल्लेख्य मात्रामा बिजुली थपिएको छैन तैपनि यो कसरी सम्भव भयो ? लोडसेडिङ अन्त्य भएसँगै चमत्कार नै भयो कि भन्ने जसरी प्रचार भइरहेको छ, कुनै चामत्कारिक हिसाबले विद्युत् ल्याएर लोडसेडिङ अन्त्य गरेको होइन । विद्युत् उत्पादन तथा व्यवस्थापन एउटा विज्ञान हो । त्यसैले विद्युत् माग र आपूर्तिबीच सन्तुलन ल्याएर नै यसको व्यवस्थापन गर्नुपर्ने हुन्छ । विद्युत् विज्ञानको एउटा पक्ष मिलाउन हामी अहिले सफल भएका छौँ । हामीसँग भएको स्रोतको समुचित व्यवस्थापनबाट लोडसेडिङ अन्त्य गर्न सकिएको हो । हिजो पनि स्रोत त्यही थियो, आज पनि त्यही छ । असारदेखि असोजसम्म नदीमा पानी धेरै हुने भएकाले विद्युत् उत्पादन पनि धेरै हुन्छ । असोजपछि पानी कम हुँदै जान्छ र माघ–फागुनमा नदीमा एकतिहाइ मात्रै पानी बग्छ । त्यसैले यो वेला मागको व्यवस्थापन गरी लोडसेडिङ कसरी कम गर्न सकिन्छ भन्ने हाम्रो चिन्ताको विषय हो । खोलामा पानीको सतह दिन–प्रतिदिन कम हुँदै गएको छ, सोही अनुपातमा उत्पादन पनि घट्दो छ । यस्तो वेलामा पनि यस वर्ष लोडसेडिङ भएको छैन । व्यवस्थापन कसरी मिलिरहेको छ ? हामीले विद्युत् वितरणमा समानता ल्याएका छौँ, विभेदरहित वितरण भएको छ । कसैलाई सुविधा दिने र कसैलाई लोडसेडिङमा राख्नु भनेको व्यवस्थापनको पनि कमजोरी हो । काठमाडौंको लोडसेडिङ अन्त्य गर्ने भनेको अन्तको बिजुली कटाएर यहाँ दिने भनेको पनि होइन । अहिले बाहिर पनि लोडसेडिङ छैन । ‘पिक आवर’मा एक–दुई घन्टा बिजुली पुगेन भने मात्रै बत्ती काटिएको छ । तालिका निकालेर लोडसेडिङ गरिएको छैन । बेलुकाको समयमा १४ सय मेगावाट माग हुन्छ । त्योमध्ये आन्तरिक उत्पादन पाँच सय मेगावाट छ भने २५० देखि २८० मेगावाट आयात भइरहेको छ ।

बेलुकाको समयमा ८५० देखि ९०० मेगावाट विद्युत् आपूर्ति भइरहेको छ । हामीसँग कालिगण्डकी, मस्र्याङ्दी, त्रिशूलीजस्ता पिकिङ प्लान्ट छन् । कालिगण्डकी दिउँसोको समयमा ९० मेगावाटजति चलाएर साँझको पिक आवरमा पूर्ण क्षमता अर्थात् १४४ मेगावाट चलाई व्यवस्थापन भइरहेको छ । बेलुकाको मागको ९० प्रतिशत बिहान माग हुन्छ । रातिको समयमा कम चलाएर बिहानको माग व्यवस्थापन भइरहेको छ । यो मूलतः ‘सिस्टम अपरेसन’ राम्रोसँग गर्न सक्दा भएको हो । साँझको समयमा उद्योग नचलाउन भनेका छौँ । दिउँसो उद्योगमा २५० मेगावाटदेखि ३०० मेगावाट विद्युत् जान्छ । साँझ पिक आवरमा त्यो बिजुली व्यवस्थापन गरेका छौँ । त्यो ३–४ घन्टाको अवधिलाई सिफ्ट परिवर्तनको समय बनाउन आग्रह गरिएको छ । हिजो कुनै उद्योगले आठ घन्टा, कुनैले १२ घन्टा त कसैले २४ घन्टा नै बिजुली पाएको अवस्था थियो । त्यस्तो असमानता रोकिएको छ । हिजो आठ घन्टा पाउनेले पनि आज २० घन्टा बिजुली पाएको छ, २४ घन्टा पाउनेले पनि २० घन्टा पाएको छ । सामान्यतः उद्योग दुई सिफ्टमा चल्छन् । बेलुकाको पिक आवरमा सिफ्ट गर्ने समय मिलाइएको छ । अहिले सबै खुसी छन् । नेपालमा एकातिर ४० मेगावाट विद्युत् खपत गर्ने उद्योग पनि छन् भने अर्कोतिर कुनै जिल्लाको माग दुई मेगावाट पनि छैन । एउटा उद्योगको एउटै मोटरले खपत गर्ने विद्युत्ले दुईवटा जिल्लालाई पुग्छ । त्यस्ता उद्योग ‘पिक आवर’मा चल्यो भने आधा काठमाडौंमा लोडसेडिङ गर्नुपर्ने अवस्था आउँछ । अहिले बाध्यात्मक अवस्था भएकाले व्यवस्थापन भइरहेको छ । उपलब्ध भएको अवस्थामा उद्योगलाई २४ घन्टा बिजुली दिन्छौँ । अहिले करिब ५०–६० मेगावाट क्षमताका पावरहाउस भूकम्पलगायतका कारण बन्द छन् । जति पनि आयात गर्न सकिने ठाउँ छन्, आवश्यकताअनुसार आयात भइरहेको छ । लोडसेडिङ अन्त्य भएपछि मागको प्रवृत्तिमा पनि परिवर्तन भएको छ । उपभोक्ताबाट हामीलाई सहयोग भएको छ । ‘पिक आवर’मा धेरै बिजुली खपत गर्ने घरायसी सामान कम चलाएको देखिन्छ ।

त्यस्तै, तिहारपछि लोडसेडिङ नभएका कारण इन्भर्टर नचल्दा सय मेगावाट बिजुली बचत भएको छ । सरकारले चुहावट कम गर्न देशव्यापी कार्यक्रम चलाइरहेको छ । त्यसबाट केही राहत भएको छ । यसले पनि माग व्यवस्थापनमा सहयोग गरिरहेको छ । अहिलेसम्म लोडसेडिङ भएन । माघ–फागुनमा लोडसेडिङ हुन्छ कि हुँदैन भन्ने चासो सबैतिर छ । पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले केही दिनअघि माघदेखि चैतसम्म पनि लोडसेडिङ भएन भने सार्वजनिक पद धारण गर्दिनँ भनेर चुनौती नै दिनुभयो । यो चुनौतीलाई कसरी हेर्नुभएको छ ? पहिले–पहिले लोडसेडिङ माघमा यति हुन्छ र फागुनमा यति हुन्छ भनेर असारमा नै घोषणा हुन्थ्यो । त्यही बानी लागेकाहरूले अहिलेदेखि नै माघ र फागुनमा यति घन्टा लोडसेडिङ हुन्छ भन्न थालेका छन् । लोडसेडिङ हुँदा कतिपयलाई फाइदा पनि होला । लोडसेडिङ यति घन्टा हुन्छ भनेर घोषणा गर्ने नै हिरो हुन्थ्यो । जनतादेखि व्यापारीले त्यही सूचनाका आधारमा योजना बनाउँथे । तर, मेरो भनाइ छ, लोडसेडिङ हुन्छ भनेर किन घोषणा गर्ने ? हामी सकेको व्यवस्थापन गर्छौं भनेर लागेका छौँ । तथापि, कुलमान घिसिङले सबै कुरा गर्छ भन्ने होइन । हामी सकेसम्म लोडसेडिङ गर्दैनौँ भनेर लागेका छौँ । मन्त्रीले पनि लोडसेडिङ गर्दैनौँ भन्नुभएको छ । तर, यसको अर्थ हामीले लोडसेडिङ अन्त्य भयो भनेर घोषणा गरेको भन्ने होइन । अहिलेको अवस्थालाई निरन्तरता दिने हाम्रो प्रयास हो । प्राविधिक कारणले एक–दुई घन्टा बत्ती जान सक्छ । तर, त्यसलाई लोडसेडिङ भन्न मिल्दैन । लोडसेडिङ भएन भने सार्वजनिक पद धारण गर्दिनँ भनेर कसैले भन्छ भने त्यो उसको विषय हो । कसैले लोडसेडिङ नै खोज्छ भने त हामीले भन्नु केही छैन । काठमाडौंमा लोडसेडिङ अन्त्य हुँदा ऊर्जामन्त्रीले जस लिने कि तपाईंले जस लिने भन्ने प्रतिस्पर्धा चलेको छ भन्ने पनि बाहिर आएको छ । यो, त्यो आशंका जस्तै जस लिने होडबाजी चलेको हो ?

नेपाली जनताको चाहना लोडसेडिङ अन्त्य होस् भन्ने नै हो । विगतका सबै सरकारले लोडसेडिङ अन्त्य गर्ने कार्यक्रम ल्याएका थिए । प्रधानमन्त्रीले लोडसेडिङ अन्त्य गर्न के गर्न सकिन्छ भनेर सबै मन्त्रालयका सचिवलाई बोलाएर छलफल गर्नुभयो । ऊर्जामन्त्रीले सार्वजनिक गर्नुभएको ३७ बुँदे कार्ययोजनामा लोडसेडिङ अन्त्य गर्ने भनेर राख्नुभएको थियो । त्यसकारण, कुलमान घिसिङले मात्रै लोडसेडिङ अन्त्य गर्ने होइन । सरकारको योजना हामीले कार्यान्वयन गर्ने मात्रै हो । मैले मात्रै गरेर हुुँदैन । प्राधिकरणमा नौ–दश हजार कर्मचारी छन्, उनीहरूको सहयोगविना सम्भव छैन । सबै कर्मचारीले रातदिन खटेर काम गर्नुभएको छ । हरेक सेकेन्डमा विद्युत् मागमा परिवर्तन भइरहेको हुन्छ । त्यसकारण यो सबै विद्युत् विज्ञान र व्यवस्थापनको विषय हो । तैपनि, प्राधिकरणमा आएको ५-६ महिनासम्म सिक्नुपर्ने अवस्था मलाई थिएन । यो काम गर्नुपर्छ भन्ने जानकारी थियो । अब यसरी जाने है भनेर मैले नेतृत्व मात्रै दिएको हो । लोडसेडिङ अन्त्य भएको विषयमा सबै नेपाली जनता र सबै राजनीतिक दलले जस लिनुपर्छ । अहिले प्रधानमन्त्री, ऊर्जामन्त्री, ऊर्जासचिव एवं सबै कर्मचारी रातदिन खटेर मात्रै यो सम्भव भएको छ । भार व्यवस्थापनमा सबैको सहयोग चाहिन्छ । चोरी नियन्त्रण गर्न सकियो भने त्यो नै लोडसेडिङ अन्त्यको पहिलो प्रस्थानबिन्दु बन्न सक्छ । चोरी नियन्त्रणका लागि प्रधानमन्त्रीको तहबाट निर्देशन आएको छ ।

तर, जनता जागरुक नभएसम्म चोरी नियन्त्रण हुँदैन । अहिले २४० मेगावाटभन्दा बढी विद्युत् चुहावट हुन्छ, त्यसमध्ये १५० मेगावाट त चोरी नै हो । अर्बौं रुपैयाँ चोरीमा गइरहेको छ । मैले जनताबाट सहयोग खोजेको यो क्षेत्रमा हो । विगतमा लोडसेडिङ हुनुमा अनियमित हिसाबले विद्युत् वितरण हुनु पनि जिम्मेवार देखियो । त्यसरी अनियमितता गर्नेमाथि कारबाही हुन्छ कि हुन्न ? संकटको अवस्थामा अनेक ‘व्यवसाय’ सञ्चालन हुन्छन् । कसैले रोकेर त्यस्ता व्यवसाय रोकिने अवस्था थिएन । जलविद्युत् आयोजना नबन्दा केहीलाई फाइदा होला । लोडसेडिङ अन्त्य गर्ने तत्कालको मुद्दा हो । हामीले तत्कालको संकट टारेका हौँ । दीर्घकालीन समाधानका लागि निर्माणाधीन आयोजना अगाडि बढाउनुपर्छ, प्रसारण लाइन अगाडि बढाइरहेका छौँ । दीर्घकालसम्म आत्मनिर्भर हुन जलाशययुक्त आयोजना अगाडि बढाउनुपर्छ । हामीले चुहावट नियन्त्रणका लागि देशव्यापी अभियान चलाएका छौँ । प्रधानमन्त्री, ऊर्जामन्त्रीलगायत सबै लागिरहनुभएको छ । चोरी नियन्त्रणमा लाग्न प्रधानमन्त्रीबाट निर्देशन आएको छ । प्राविधिक र गैरप्राविधिक दुवै गरी गत वर्ष २६ प्रतशित चुहावट थियो । बाटोमा मात्र होइन, घरघरमा पनि बत्ती हराएको छ । १०–१२ प्रतिशत प्राविधिक चुहावट छ । घरघरमा हुने चोरी मात्रै रोक्न सक्यौँ भने वार्षिक ५–६ अर्ब रुपैया“ नाफा हुन्छ । त्यतातिर सबैको सहयोग चाहिन्छ । नेपालको जलविद्युतमा लगानी गर्न विभिन्न देशका लगानीकर्ता आकर्षित भएका छन् । तर, यहीबीच भारतले नयाँ विद्युत् व्यापार निर्देशिका ल्याएको छ, जसले भारतीय कम्पनी संलग्न नभएका कम्पनीले उत्पादन गरेको बिजुली भारत निकासीमा अप्ठ्यारो सिर्जना गर्ने देखिन्छ । यसले भारतीयबाहेकका लगानीकर्तालाई निरुत्साहित गर्दैन ? हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुली चाहिन्छ । त्यसैले, हामी  पहिले आन्तरिक माग पूरा गर्नतर्फ नै लाग्नुपर्छ । अन्य देशले के ग¥यो भन्दा पनि आफ्नो देशमा के गर्ने भनेर सोचौँ । १० वर्षमा १० हजार मेगावाट बिजुली उत्पादन गर्न आजको मितिमा १५–२० हजार मेगावाटका आयोजना अगाडि बढाउनुपर्छ । त्यसैले बजार यहीँ छ । विदेशी लगानीकर्ताका लागि पनि बजार छ, आन्तरिक लगानीमा पनि केन्द्रित हुनुपर्छ । भारततर्फ निकासीका लागि दुई देशबीच भएको विद्युत् व्यापार सम्झौताअनुसार नै काम होला ।

त्यसो हुन नसके दुई देशबीच कूटनीतिक माध्यमबाट कुराकानी होला । अहिले देशभित्रको मागको पूर्ति गर्न के गर्ने भन्ने चिन्ता हुनुपर्छ । समयमै प्रसारण लाइन नबन्दा कतिपय आयोजनाले उत्पादन गरेको बिजुली खेर जाने अवस्था छ । एकातर्फ लोडसेडिङ हुने अनि अर्कोतर्फ उत्पादन भएको बिजुली खेर जाने अवस्थाको अन्त्य कहिले हुन्छ ? प्रसारण र वितरण प्रणाली सुधारका लागि के काम भइरहेको छ ? प्रसारण लाइनको व्यवस्थापनका लागि हामी लागेका छौँ । कतिपय अवस्थामा हाम्रो पूर्वाधारको क्षमता, जस्तै– सबस्टेसनको क्षमता नपुग्दा, प्रसारण लाइन नहुँदा लोडसेडिङ भएको हो । काठमाडौंका सबस्टेसनको क्षमता बढाइरहेका छौँ । प्रमुख प्रसारण लाइन सम्पन्न गर्न सम्पूर्ण शक्ति लगाएका छौँ । उत्पादित बत्ती खेर जाने र लोडसेडिङ हुने अवस्था आउनु हुँदैन । रणनीतिक खालका प्रसारण लाइन तीव्र रूपमा अगाडि बढेका छन् । खिम्ती–ढल्केबर प्रसारण लाइन करिब तीन हप्ताभित्रमा चार्ज गर्छौं ।

हेटौंडादेखि स्युचाटारसम्मको डबल सर्किट लाइन पनि छिट्टै चार्ज हुन्छ । प्राधिकरणले दीर्घकालका लागि विभिन्न खालका योजना बनाइरहेको छ । वितरण प्रणालीलाई स्मार्ट ग्रिडको प्रणालीमा लैजाने योजना छ । प्रसारण लाइनलाई अन्डरग्राउन्ड गर्न सकिँदैन । तर, वितरण प्रणालीलाई सकिन्छ । यसका लागि प्रक्रिया नै थालनी भएको छ ।

काठमाडौंको वितरण प्रणालीलाई अन्डरग्राउन्ड गर्न एसियाली विकास बैंकको सहकार्यमा गुरुयोजना बनाइरहेका छौँ । स्मार्ट ग्रिडको प्रणालीअनुसार सबै कुरा रिमोटबाट नै हुन्छ । यो छिट्टै कार्यान्वयन गर्ने सोचमा छौँ । प्रिपेड मिटरिङको प्रणालीमा जान खोजेका छौँ । त्यसपछि बक्यौताको अवस्था पनि रहँदैन । प्राधिकरणले अहिलेसम्म गरेको माग प्रक्षेपण कत्तिको वैज्ञानिक छ ? भारतमा बिजुलीको भाउ घटिरहेको अवस्थामा भारतबाट बिजुली खरिद गर्न सक्ने अवस्था कत्तिको छ ? विद्युत् प्राधिकरणको माग प्रक्षेपण अलिकति परम्परागत भयो कि भन्ने प्रश्न उठेकै छ । विद्युत् माग प्रक्षेपणको एउटा सूचक भनेको प्रतिव्यक्ति विद्युत् खपत कति भइरहेको छ भन्ने पनि हो । नेपालमा प्रतिव्यक्ति विद्युत् खपत एक सय ३० देखि एक सय ३५ युनिट छ । भारतमा एक हजार युनिट, चीनमा चार हजार युनिट, दक्षिण कोरियामा त १३ हजार युनिट छ । सार्कमा सात सय युनिट प्रतिव्यक्ति औषत खपत हुन्छ । सार्क क्षेत्रको औषतमा जान पनि हामीलाई १० हजार मेगावाट बिजुली चाहिन्छ । चीनको अहिलेको अवस्थामा पुग्ने हो भने ४० हजार मेगावाट चाहिन्छ । दक्षिण कोरियाको अहिलेको स्थितिमा पुग्न त एक लाख मेगावाट चाहिन्छ । विद्युत् उत्पादन बढ्ने हो भने खपत बढ्दै जान्छ । माग पनि बढ्दै जान्छ । प्रतिव्यक्ति खपत असाध्यै कम भएको देशमा माग छैन भन्न पाइन्छ ? अबको १० वर्षपछि आजको भारतको अवस्थामा पुग्छौँ भनेर माग प्रक्षेपण भएको छ । विद्युत् खपत बढ्न आर्थिक सूचक पनि बढ्नुपर्छ । विद्युत् माग बढ्दो क्रममा छ । औद्योगिक क्षेत्रमा थप विद्युत् दिन सकिने अवस्था नै छैन ।

हामीले सबै पूर्वाधार बनाउने हो भने त उद्योगहरू बढ्छन् । घरघरमा माग बढ्दै जान्छ । मागको समस्या होइन, आपूर्ति गर्न सक्नुपर्छ । हामीले जति आयोजना अगाडि बढाइरहेका छौँ, आन्तरिक खपतका लागि त्यो पर्याप्त छ । जति पनि आयोजना निर्यातका लागि भनेर निर्माण भइरहेका छन्, तिनीहरूको उत्पादन पनि आवश्यकताअनुसार नेपालभित्र नै खपत गर्न सकिन्छ । चिलिमे सफल भएपछि जनतालाई सेयर दिने मोडलमा जलविद्युत् आयोजना अगाडि बढाउन थालियो । तामाकोसी अगाडि बढिरहेको छ । विद्युत् प्राधिकरणले बनाउने सबै आयोजना भविष्यमा यही मोडलमा अगाडि बढाउने हो ? लोडसेडिङ अन्त्य गर्ने भनेको तत्कालको व्यवस्थापन हो । अब नेपाली जनताको पैसाबाट विद्युत् उत्पादन गर्ने मोडलमा अगाडि बढ्नुपर्छ । यसले पहिलो त लोडसेडिङ अन्त्य गर्न सहयोग गर्छ भने प्रत्येक व्यक्तिको आयस्तरसँगै देशको अर्थतन्त्र बढाउन पनि सहयोग गर्छ । बिहान ४ बजेदेखि लाइन बसेर १० कित्ता सेयर नपाउने अवस्थाबाट जत्ति पनि सेयर पाउने अवस्था ल्याउनुपर्छ । लगानी गर्न सक्ने अवस्था अहिले पनि छ । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, बिमा संस्थान तथा नेपाल टेलिकमले प्रत्येक वर्ष ५० अर्ब लगानी गर्न सक्छन् । १० वर्षमा त्यो पाँच खर्ब हुन्छ, जसबाट ६–७ हजार मेगावाट उत्पादन गर्न सकिन्छ । लगानी नभएको होइन, व्यवस्थापन गर्न मात्रै नसकिएको हो । यो आयोजनाबाट फाइदा हुन्छ भन्ने विश्वास जनतालाई दिलाउन सकियो भने पैसा जुट्छ । प्राधिकरणले उत्तरगंगा, अरुणजस्ता ठूला आयोजना पनि यही मोडलमा अगाडि बढाउँछ । जलविद्युत्मा लगानी बढाउन ‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम अघि सारिएको छ । त्यसले नेपालको आर्थिक विकासमा पनि सहयोग गर्छ ।

भोलि, मेरो विद्युत् लिइदिनुस् है, सस्तो छ भन्ने दिन आउँछ । तपाईंले चोरी भइरहेको बिजुली र त्यसबाट भएको क्षतिको आँकडासहित उदाहरण दिनुभयो । नियन्त्रण प्रयासको पनि उल्लेख गर्नुभयो । तर, उपभोक्ताले मागेको समयमा मिटर नपाउने समस्याका कारण उपभोक्ता अवैध रूपमा बिजुली प्रयोग गर्न बाध्य छन् नि । यो समस्या समाधान कहिले हुन्छ ? पछिल्ला दुई–तीन वर्षसम्म मिटरबक्स खरिद नगरेको अवस्था थियो । अहिले हामीले माग्नेबित्तिकै मिटर दिने व्यवस्था मिलाएका छौँ । परीक्षणका क्रममा रहेकाले केही दिन ढिलाइ हुन सक्छ, तर हामी जनताले मागेको समयमा मिटर दिन्छौँ । जनकपुरमा मात्रै २३ सय घरले हुकिङ गरेर बसेको अवस्थामा हामीले सबैलाई मिटर दिने व्यवस्था मिलाएका छौँ । भूकम्प प्रभावित क्षेत्रमा मिटर दिइरहेका छौँ । अब जनताले पनि हामी विद्युत् चोरी गर्दैनौँ भनेर काम गर्नुपर्छ । युवाहरूले चोरी नगर्ने खालको जनचेतना अघि बढाउनुपर्छ ।

हामीले स्तरीय सेवा प्रवाहको कुरा गरेका छौँ । प्राधिकरण भनेको ग्राहकलाई विद्युत् आपूर्ति गर्न बनेको संस्था हो । त्यसैले हामीले राम्रो सेवा दिनुपर्छ । तपाईले विगत लामो समयदेखि आमजनतालाई आक्रान्त पारेको लोडसेडिङ अन्त्य गर्ने पहल लिनुभयो । तथापि, केही समय अझै ढुक्क हुने अवस्था छैन । हामी साँच्चै लोडसेडिङमुक्तचाहिँ कहिले हुन्छौँ ? अहिले आन्तरिक उत्पादन र आयातको सन्तुलन मिलाएर काम गरिरहेका छौँ । मागसँगै प्रत्येक वर्ष उत्पादन बढ्दै गइरहेको पनि छ । तामाकोसी, चिलिमेका आयोजना तथा प्राधिकरणले निर्माण गरिरहेका आयोजनाबाट अबको डेढदेखि दुई वर्षमा हजार मेगावाट थपिन्छ । त्यसमा निजी क्षेत्रको पनि योगदान हुन्छ । अबको तीन–चार महिना कठिन छ । यो समय व्यवस्थापन भयो भने अर्को वर्षबाट हामी धेरै नै सजिलो अवस्थामा हुन्छौँ । सायद अब हामीले लोडसेडिङ तालिका निकाल्नुपर्दैन ।

- नयाँ पत्रिका

प्रकाशित मिति : २०७३ पौष ०८ (December 23, 2016)

प्रतिक्रियाहरु


तपाईको प्रतिक्रिया

Advertise with us

जनमत

चुटकिलाहरु पढेर
पेट मिचि मिचि हाँस्न चाहनुहुन्छ ??
यहाँ क्लिक गर्नुहोस् ।

GLOBAL Mart & DURGA Restaurant Sunrise Bank in Korea Poornima Restaurant Kasam Restaurant Sumnima Musical
एनसिसि कोरियाका दाबेदार अध्यक्ष अन्जु केसी द्वारा आफ्नो भावी कार्ययोजना सार्बजनिक ,आगामी नेतृत्व आफुले पाउनेमा बिश्वस्त नेपाल पत्रकार महासंघ कोरिया शाखाले बृहत अन्तरक्रिया गर्ने एनसिसि अध्यक्षका दाबेदार जितको जित हासिल गर्ने दाबीसँगै दुइ वर्षे कार्ययोजना यस्तो छ सर्बमान्य दिल बहादुर स्मृति कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा, टाईसिट आउने आइतबारकोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने ख्याल गर्नुहोस, कहिले कहिँ अनायसै हुने प्रेम सम्बन्धले पनि तनाब निम्त्याउन सक्छ कोरियाका लागि नेपाली राजदूतद्धारा कोरियाली राष्ट्रपति समक्ष ओहोदाको प्रमाणपत्र पेश, इपिएस कोटा, लगानी वृद्धि र नेपाल भ्रमणप्रति निक्कै सकरात्मक
एका विहानै दुःखद खबर, कोरियामा शुक्रबार नेपाल जाने तयारीमा रहेका नेपाली युवकले शौचालयमा झुण्डिएर गरे आत्महत्याकोरियाको अध्यागमन बिभागले गर्यो भिषाका केहि नियम परिबर्तन कोरियाले इपिएस कामदारको बसाइ लम्याउन छुट्टै खालको भिषा प्रणाली लागु गर्ने इपिएस कामदारलाई कोरियन सरकारको अफर, ड्राइभिङ,कार मर्मत, बेकरी देखि स्वरोजगार तालिमकोरियामा दुर्घटना परि गम्भीर अबस्थामा रहेका राजेन्द्र खत्रीलाई सहयोगको अपिल कोरियाको मानब संसाधन केन्द्रद्वारा पुनः प्रवेश सम्बन्धि नियम परिबर्तन कोरिया आएको दुइ महिना नबित्दै एक नेपाली युवकको मृत्यु, कारण आउन बाँकीजुन २०१७ काेरिया नेपालीका लागि कालाे महिना, दुई सातामा ५ जनाकाे मृत्यु
Women for Women Help Nepal Network Get Membership of MTU रविन्द्र मिश्रका कविता Sahayog
Face Of The Week
Face of The Week -- Deepen G Hamal Deepen G Hamal
Date of Birth : 31 December, 1990
Address: Changnyeong-gun
Hometown : Surkhet, Nepal
Occupation : CNC Machine operator
Hobbies : Music is my hobbies
E-mail : rtsamundra@gmail.com
Facebook Twitter
Listen BBC Nepali Radio Listen Radio KOREA DARPAN Listen Radio Program Hello Seoul EPS Nepal