दक्षिण कोरियाका कृत्रिम सुन्दरीले कसरी संसारका तन्नेरीलाई आकर्षित गर्दैछन् ?

1055

इन्स्टाग्राममा उनका १ लाख ३० हजारभन्दा बढी फलोअर्स छन्, जहाँ उनी साहसिक तस्वीरहरु सेयर गर्छिन् । उनको मेकअप उच्चकोटीको देखिन्छ । पहिरन पनि रनवेमा हिंड्न तयार भएर बसेका जस्ता । उनी गाउँछिन्, नृत्य गर्छिन् र मोडलिङ पनि । तर यी केही पनि वास्तविक होइनन् ।

रोजी दक्षिण कोरियाली ‘भर्चुअल इन्फ्लुएन्सर’ हुन् । वास्तविक जस्तै लाग्ने उनी डिजिटल रुपमा तयार पारिएकी मान्छे हुन् । मासु र रगतबाहेक मान्छेसँग उनका हरेक चीज मिल्छन् ।

‘के तपाईं वास्तविक व्यक्ति हुनुहुन्छ ?’ उनकी एक इन्स्टाग्राम फ्यान सोध्छिन्, ‘के तपाईं आर्टिफिसियल इन्लिेजेन्स (एआई) वा रोबोट हुनुहुन्छ ?’

उनलाई सिर्जना गर्ने सिओलस्थित कम्पनीका अनुसार रोजी वास्तविक र भर्चुअल संसारकी मिश्रण हुन् ।

सिडुस स्टुडियो एक्सले आफ्नो वेबसाइटमा लेखेको छ, ‘उनी मानिसले गर्न नसक्ने सबै काम गर्न सक्षम छिन् ।’ यसमा बिलियन डलर बराबरको विज्ञापन र मनोरञ्जन संसारको नाफा पनि समावेश छ ।

सन् २०२० मा रोजीको निर्माणपछि उनले ब्रान्डहरुसँग व्यावसायिक सम्झौता गरिन्, प्रायोजक ल्याइन् । भर्चुअल फेसन शोमा रनवे नापिन् र दुईवटा गीत पनि ल्याइन् ।

र, अहिले उनी एक्लो छैनन् ।

भर्चुअल मानव उद्योग फस्टाउँदैछ र यसको साथमा पूर्णतः नयाँ अर्थतन्त्र निर्माण हुँदैछ जुन कहिल्यै पुरानो हुँदैन, विवादमुक्त छ र डिजिटल रुपमा पनि समस्यारहित छ । यसअघि नै सौन्दर्यलाई पछ्याइरहेको मुलुकमा भर्चुअल मानवको नयाँ घण्टी बजेको छ ।

भर्चुअल इन्फ्लुएन्सरले कसरी काम गर्छ ?

रोजी निर्माण गर्ने सीजीआई (कम्प्युटर जेनेरेटेड इमेजरी) नयाँ कुरा होइन । आजको मनोरञ्जन उद्योगमा सर्वव्यापी छ, जहाँ कलाकारले यसलाई फिल्म, कम्प्युटर गेम र संगीत भिडियोमा यथार्थजस्तै लाग्ने गैरमानव बनाउन प्रयोग गर्छन् । तर यो भर्खरै मात्र प्रभावकारी बनाउन प्रयोग भएको छ ।

कहिलेकाहीं सिड्स स्टुडियो एक्सले प्रविधि प्रयोग गरेर टाउकोदेखि खुट्टासम्म रोजीको छवि सिर्जना गर्दछ, जसले गर्दा उनको इन्स्टाग्राम छवि निर्माण हुन्छ । अन्य समयमा उनको टाउकोलाई मानव मोडेलको शरीरमा रुपान्तरण गरिन्छ जब उनी पहिरन लगाएर मोडलिङ गर्छिन् ।

दक्षिण कोरियाली खुद्रा ब्रान्ड लोट्टे होम सपिङले भिडियो गेम बनाउन प्रयोग हुने सफ्टवेयरमार्फत लुसी नामक एक भर्चुअल इन्फ्लुएन्सर तयार पार्‍यो, जसका इन्स्टाग्राममा ७८ हजार फलोअर्स छन् ।

वास्तविक जीवनका साथीहरुजस्तै भर्चुअल इन्फ्लुएन्सलरले सामाजिक सञ्जालबाटै फलोअर्स बढाउँछन् । साथै, उनीहरुले स्न्यापसट्हरु पोस्ट गर्छन् र फलोअर्ससँग अन्तरक्रिया पनि गर्छन् ।

रोजीको खाताले उनी सिंगापुरको यात्रामा निस्किएको, घरको छतमा बसेर वाइनको मज्जा लिइरहेको देख्न सकिन्छ । साथै, प्रशंसकले उनको पोशाकको प्रशंसा पनि गर्छन् ।

कृत्रिम मान्छेसँग अन्तरक्रिया गर्न पुरानो पुस्ताका मान्छेलाई सकसपूर्ण हुन सक्छ । तर भर्चुअल इन्फ्लुएन्सरहरु अनलाइनमा धेरै समय बिताउने तन्नेरी कोरियाली र इन्टरनेट प्रयोगकर्तासँग अन्तरक्रिया गर्छन् ।

इन्चेन सहरमा बसोबास गर्ने २३ वर्षीया किशोरी लिना योङले रोजी वास्तविक मान्छे भएको भन्दै दुई वर्षअघि उनलाई फलो गरिन् । रोजीले पनि उनलाई फलोब्याक दिइन् र कहिलेकाहीं उनको पोस्टमा कमेन्ट पनि गर्थिन् । यसरी यी दुई जनाको भर्चुअल मित्रता मौलायो, जुन लिनाले सत्य कुरा थाहा पाएपछि पनि टिक्यो ।

‘हामीले साथीजस्तै कुराकानी गर्‍यौं र मलाई सहज पनि भयो । त्यसैले म उनलाई एआई तर वास्तविक साथीको रुपमा सोच्दिनँ,’ उनी भन्छिन्, ‘मलाई रोजीका कन्टेन्ट मन पर्छन् । उनी यति सुन्दर छिन् कि उनी एआई हुन् भनेर विश्वास गर्न सक्दिनँ ।’

नाफामूलक व्यवसाय

सामाजिक सञ्जालले फ्यानहरु बनाउन मात्र भर्चुअल इन्फ्लुएन्सरलाई सक्रिय तुल्याउँदैनन्, बरु उनीहरुको उद्देश्य जहाँबाट नाफा हुन्छ, त्यो सक्रिय तुल्याउनु हो ।

उदाहरणका लागि रोजीको इन्स्टाग्राम प्रायोजित सामग्रीले भरिएको छ, जहाँ उनी स्किनकेयर र फेसन उत्पादनहरुको विज्ञापन गर्छिन् । ‘कोरियाका धेरै ठूला कम्पनीहरु रोजीलाई मोडलको रुपमा प्रयोग गर्न चाहन्छन्,’ सिड्स स्टुडियो एक्सका कार्यकारी अधिकृत बेक सियोङ युपले भने, ‘रोजबाट मात्र हामी यस वर्ष सजिलैसँग दुई अर्ब कोरियन वन (१.५२ मिलियन अमेरिकी डलर) नाफा कमाउने अपेक्षा गर्छौं ।’

रोजीको लोकप्रियता बढ्दै गएपछि कम्पनीले च्यानल र हर्मेसजस्ता लक्जरी ब्रान्डका साथै म्यागजिन र अन्य मिडिया कम्पनीबाट थप प्रायोजन मिलेको बताए । रोजीका विज्ञापन यतिबेला टेलिभिजन र बिलबोर्ड्स र बस छेउछाउमा पनि देखिन थालेका छन् ।

लोटे होम सपिङका मिडिया व्यवसाय विभागका निर्देशक ली बो ह्युनका अनुसार लोटे कम्पनीले लुसीबाट पनि यस्तै अपेक्षा गरेको छ, जसले वित्तीय र निर्माण कम्पनीबाट विज्ञापन प्रस्तावहरु ल्याएको छ ।

विज्ञहरु भन्छन्, ‘मोडेलहरु उच्च मागमा छन् किनभने तिनीहरुले ब्रान्डलाई युवा उपभोक्तासामु पुग्न मद्दत गर्छन् । रोजीका ग्राहकहरुमा जीवन बिमा फर्म र बैंक समावेश छन् । ‘कम्पनीलाई सामान्यतया पुरानो जमानाको रुपमा हेरिन्छ । तर रोजीसँग काम गरिसकेपछि उनीहरुको छवि धेरै जवान भएको छ,’ बेक भन्छन् ।

सौन्दर्यबारे प्रश्न

दक्षिण कोरिया भर्चुअल इन्फ्लुएन्सरलाई अँगाल्ने ठाउँ मात्र होइन । विश्वका सबैभन्दा प्रसिद्ध भर्चुअल इन्फ्लुएन्सरमध्ये लिल मिक्वेला एक हुन्, जसलाई अमेरिकी प्रविधि कम्पनीका सहसंस्थापकले निर्माण गरेका हुन् । काल्भिन क्लेन र प्रदाजस्ता विश्वस्तरीय ब्रान्डलाई प्रवद्र्धन गरेको लिल मिक्वेललाई इन्स्टाग्राममा ३० लाख जनाले पछ्याएका छन् ।

लगभग ६ मिलियन इन्स्टाग्राम प्रयोगकर्ताले पछ्याएको ब्राजिलको खुद्रा कम्पनीद्धारा बनाइएको लु अफ मगलु र सांगीतिक कम्पनी फ्याक्ट्री न्युले बनाएको र्‍यापर एफएन मेकालाई टिकटकमा १० मिलियनले पछ्याएका छन् ।

इनहा विश्वविद्यालयका उपभोक्ता विज्ञान विभागका प्राध्यापक ली युन हीका अनुसार त्यहाँ एउटा प्रमुख भिन्नता छ– अन्य देशमा भर्चुअल इन्फ्लुएन्सरले जातीय पृष्ठभूमि र सौन्दर्य आदर्शको विविधतालाई प्रतिविम्बित गर्छन् ।

‘भर्चुअल मानवहरु जतासुकै छन्, तर दक्षिण कोरियामा तिनलाई सधैं सुन्दर बनाइन्छ । यसले प्रत्येक देशको विशिष्टतालाई झल्काउँछ,’ उनी भन्छिन् ।

दक्षिण कोरियालाई प्लास्टिक सर्जरीको राजधानी पनि भनिन्छ र यो उद्योगको आकार १०.७ बिलियन डलर छ । यो सन्दर्भमा भर्चुअल इन्फ्लुएन्सरले अवास्तविक सौन्दर्यका मापदण्डलाई अझै बढावा दिन सक्छन् ।

तर दक्षिण कोरियाली तन्नेरीले यी आदर्शलाई पछि छाड्दै सन् २०१८ मा प्लास्टिक सर्जरीविरुद्ध आन्दोलन नै थालेका थिए । तर मुलुकमा महिलाको लागि सुन्दरताका परिभाषा र मापदण्ड निकै साँघुरा छन् । यसको अर्थ दक्षिण कोरियामा सुन्दरता भनेको सामान्यतया ठूला आँखा, सानो अनुहार र स्पष्ट छाला भएको सानो आकृति हो ।

ली उन हुनका अनुसार लीसा र रोजीजस्ता भर्चुअल इन्फ्लुएन्सरले कोरियामा विगतदेखि माग गरिंदै आएको सौन्दर्यको मापदण्डलाई अझै अप्राप्य बनाउन सक्छन् र उनीहरुलाई अनुकरण गर्न चाहने महिलामा प्लास्टिक सर्जरी वा कस्मेटिक सामग्रीप्रतिको मागलाई बढाउन सक्छ ।

‘वास्तविक महिलाहरु उनीहरुजस्तै बन्न चाहन्छन् र पुरुषहरु समान रुपका मानिसलाई डेट गर्न चाहन्छन्,’ उनी भन्छिन् ।

तर लुसी र रोजीका निर्माणकर्ता यस्तो आलोचनालाई अस्वीकार गर्छन् ।

तर यस्तो चिन्ता कोरियाली सौन्दर्य मापदण्डभन्दा बाहिर हुन थालेको छ । बजार उत्पादनको नैतिकतामाथि त्यहाँ बहस पनि हुन थालेको छ, जहाँका उपभोक्ताहरु मोडल मान्छे होइनन् भन्ने कुरा बुझ्दैनन् साथै विभिन्न जातिको सिर्जना गर्दा सांस्कृतिक सहिष्णुता जोखिममा पर्छ भन्ने कुरा पनि उनीहरुलाई थाहा छैन ।

फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटा, जसको प्लेटफर्ममा २०० भन्दा बढी भर्चुअल इन्फ्लुएन्सर छन्, उनीहरु यस्तो जोखिमलाई स्वीकार्छन् । ‘कुनै पनि प्रविधि र मिडियामा राम्रा र नराम्रा दुवै गुण हुन्छन् । प्रतिनिधित्व, सांस्कृतिक घुलमिल र अभिव्यक्ति स्वतन्त्रताका मुद्दाहरु पहिलेदेखि नै बढ्दो चिन्ताका विषय हुन्,’ कम्पनीले एक ब्लग पोस्टमा भनेको छ ।

सम्भावित जोखिमलाई रोक्नेबारे मेटाले अहिले साझेदारसँग भर्चुअल इन्फ्लुएन्सरको मार्गदर्शन निर्देशित गर्न ढाँचाको विकास गर्ने कार्यमा लागिरहेको छ । तर एउटा कुरा स्पष्ट छ, उद्योग यहीं रहिरहनेछ । मेटाभर्सदेखि भर्चुअल संसार हुँदै भर्चुअल मुद्रासम्म डिजिटल संसार मौलाएजस्तै भर्चुअल इन्फ्लुएन्सर कम्पनीहरुको भविष्यको एउटा प्लेटफर्म बन्न सक्छ ।

लोटे कम्पनीले आफ्नो भर्चुअल इन्फ्लुएन्सरले नाटक र विज्ञापनमा देखा परेर थप कमाइ गर्ने आशा राखेको छ । फर्मले भर्चुअल मानव विकासमा पनि काम गरिरहेको छ, जसलाई ४० देखि ६० को दशकमा विकास गर्ने लक्ष्य छ ।

‘हामीले मानिसले भर्चुअल मानवको बारेमा कसरी सोच्छन् भनेर धारणा परिवर्तन गर्न चाहन्छौं,’ बेकले भने ।

सीएनएनबाट