दक्षिण कोरियाले सन२०२७ सम्म विश्वभर कोरियन भाषा स्कूलको संख्या ३५० पुर्याउने

2274

कोरियन भाषा र संस्कृतिमा विश्वव्यापी चासो बढ्दै गएपछि दक्षिण कोरियाले हालको २४८ बाट सन २०२७ सम्ममा विश्वभर राज्य सञ्चालित कोरियाली भाषा केन्द्रको संख्या ३५० पुर्याउने संस्कृति, खेलकुद तथा पर्यटन मन्त्रालयले जनाएको छ ।

सरकारले थप कोरियाली भाषाका शिक्षकहरूलाई अन्य देशहरूमा पठाउने र नवीनतम कोरियाली सांस्कृतिक सामग्री प्रयोग गर्ने गरि शिक्षा कार्यक्रमहरूको विकास गर्ने बताएको छ l कुल २ सय ५० जना सहभागी विश्व कोरियाली शिक्षाविद सम्मेलनको उद्घाटन समारोहमा सो कुराको घोषणा गरिएको थियो l

मन्त्रालयले के-पप ब्वायज समूह , बीटीएस र “स्क्विड गेम” लगायत कोरियाली नाटकहरूद्वारा प्रतिनिधित्व गर्ने कोरियाली सांस्कृतिक सामग्रीको लोकप्रियता एसियाभन्दा बाहिर युरोप, मध्य पूर्व र दक्षिण अमेरिकासम्म फैलिएकोले कोरियाली भाषा सिक्ने रुचि विश्वभर बढेको बताएको छ l

जुन र जुलाईमा भियतनाम र पोल्याण्डका युवाहरूसँगको भेटघाटलाई उद्धृत गर्दै संस्कृति मन्त्री पार्क बो-ग्युनले सियोलमा आयोजित समारोहमा भने, “के-संस्कृतिको लागि आफ्नो जोश र सपनाहरू धाराप्रवाह कोरियाली भाषामा व्यक्त गर्ने व्यक्तिहरूले मलाई विश्वव्यापी मञ्चमा कोरिया र कोरियाली भाषाको प्रभावको गहिरो रूपमा महसुस गराए l भाषाले राष्ट्रहरूलाई अन्य राष्ट्रहरू र व्यक्तिहरूलाई अन्य व्यक्तिहरूसँग जोड्ने शक्तिशाली शक्तिको रूपमा काम गर्छ, एकता र सहकार्यको आधारशिला राख्छ ।” तस्बिर: योंघाप

मन्त्रालयका अनुसार सन २००७ मा संस्थान स्थापना हुँदा तीन देशमा किङ सेजोङ इन्स्टिच्युटद्वारा सञ्चालित १३ केन्द्रमा ७ सय ४० जनाले कोरियन भाषा सिकेका थिए । यो संख्या सन २०२२ मा आइपुग्दा १ लाख १० हजार पुगेको छ lजबकि अहिले ८५ देशमा २ सय ४८ कोरियन भाषा स्कूलहरु संचालित छन l