नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रियकरणमा नेपाली बिधयार्थी समाज दक्षिण कोरिया (सोनसिक) देखियो सक्रिय

264

मेघनाथ पौडेल ,दक्षिण कोरिया 

उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुको साझा संस्था नेपाली बिधयार्थी समाज दक्षिण कोरिया (सोनसिक) ले केही समय यता नेपाली कला संस्कृति र परम्पराको संरक्षण र यसको अन्तर्राष्ट्रिय प्रबर्धनमा आफ्नो सक्रियता देखाएको छ । बिबिध शैक्षिक गतिबिधीहरु मार्फत कोरियाली समाजमा आफ्नो छुट्टै पहिचान बनाएको नेपाली बिधयार्थीहरुको एकमात्र संस्था सोनसिकले पछिल्लो समय नेपाली कला र संस्कृतिको प्रवर्धनमा पनि चासो देखाएको छ । अहिलेको बहु-सांस्कृतिक युगमा नेपाली संस्कृतिको अन्तर्राष्ट्रियकरण हुनुपर्ने कुरा वकालत गर्दै आएको सोनसिकले आफ्नो छुट्टै सांस्कृतिक बिशेष उप-समिति बनाएर आफ्ना गतिबिधीहरु सञ्चालन गरिरहेको छ ।

कोरियामा रहेका नेपालीहरुको एकमात्र अध्यात्मिक संस्था सनातन साहित्य संगित साधना समुह ‘पाँच स’ ले कोरियाका बिभिन्न संघ-संस्थाहरुको सहकार्यमा केही दिन अघि आन्सान शहरमा बिजयादशमी २०७९ को अवसर पारी टिका जमरा ग्रहण गरि शुभकामना आदान प्रदान तथा बिबिध सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो । प्रवासमा रहेर पनि नेपाली मौलिक संस्कृतिलाई उजागर गर्नुपर्छ भनेर आयोजना गरिएको सो बिशाल महामेलामा सोनसिकको सांस्कृतिक उपसमुहले नेपाली मौलिकता झल्किने तथा नेपाली कला र संस्कृतिको प्रचार प्रसार गर्ने बिबिध प्रस्तुतिहरु दिएको थियो । “संयुक्त विजया दशमी महोत्सव २०७९” को नाम दिई कोरियामा कृयाशिल बिभिन्न १५ संस्थाको सामूहिक आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली संस्कृतिको प्रदर्शनका लागि नेपाली पञ्चै बाजा र नेपाली मौलिक एवं सांस्कृतिक प्रस्तुति सहित आन्सान नगर परिक्रमा गरिएको थियो ।

बिगतका बर्षहरुमा पनि नेपाली गीत संगीतको संरक्षणका लागि भन्दै बिबिध कार्यक्रमहरु गर्दै आएको सोनसिकले कोरियामा रहेका नेपालीहरुको माझमा गायन प्रतियोगिता, साहित्यिक साँझ आदि कार्यक्रमहरु पनि गर्दै आएको थियो । गत सेप्टेम्बर ९ मा सोनसिकले युनिभर्सल कल्चरल सेन्टर (UCC) संगको सहकार्यमा ग्वाङ्जुको YMCA मा “2022 UCC छुसक फेस्टिवल र क्रस कल्चरल अवेयरनेस प्रोग्राम” को आयोजना गर्यो । बिश्वका १६ भन्दा बढि देशका नागरिकहरुले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशले आ-आफ्नो देशको कला संस्कृतिहरु चिनाउने प्रस्तुतिहरु दिएका थिए जसमा नेपालको प्रतिनिधित्व गर्दै सोनसिकको सांस्कृतिक समूहले नेपाली गीत, नृत्य, र परम्परागत कलाकृतिहरू सहित सम्पूर्ण सहभागीहरुलाई नेपाली कला र संस्कृतिको अनुभव गराई प्रशंसा कमाएको थियो ।

 

त्यस्तै गत सेप्टेम्बर १८ तारिखमा सउल स्थित नेपाली राजदूतावास द्वारा संबिधान दिवस तथा नेपाली रास्ट्रिय दिवसको अवसर, साथमा कोरियाका लागि नेपाली नवनियुक्त राजदूत प्रा. डा. ज्योति प्याकुरेल ज्यु को स्वागतार्थ आयोजना गरिएको बिशेष कार्यक्रममा पनि नेपाली बिधयार्थी समाज (सोनसिक) ले आफ्नो बिशेष सांस्कृतिक प्रस्तुति दियो । बिभिन्न क्षेत्रका उच्च पदस्थ ब्यक्तित्वहरु लगायत बिभिन्न संघ संस्थाको प्रतिनिधित्व गर्ने रास्ट्रिय र अन्तर्राष्ट्रिय ब्यक्तित्वहरुका बिचमा सम्पन्न भएको उक्त समारोहमा सोनसिकले नेपाली मौलिकता झल्काउने गीत नृत्य तथा बाध्यबाधन प्रस्तुत गरेको थियो ।

त्यस्तैगरि बिजयादशमी २०७९ कै अवसर पारेर आफ्नै आयोजनामा सोनसिकले गत अक्टोवर महिनाको १ र २ तारिख गरी २ दिने दशैं बिशेष कार्यक्रम पनि सम्पन्न गर्यो । ‘अन्तर्राष्ट्रिय समुदाय सँगको दशै बिशेष-२०२२’ नामाकरण गरिएको उक्त दशै बिशेष कार्यक्रम ग्वाँजु स्थित पवित्र धार्मिक एवं पर्यटकीय स्थल देवांसा मन्दिरको प्राकृतिक क्षेत्रमा सम्पन्न भएको थियो । उक्त दशै बिशेष कार्यक्रममा क्याम्पींग फायर, सांस्कृतिक जमघट, स्वादिष्ट नेपाली परिकार, सुनछन बे राष्ट्रीय बगैचाको भ्रमण, नेपाली मौलिक खेलहरु आदि द्वारा सोनसिकले दशैं बिशेष कार्यक्रम सम्पन्न गरेको थियो ।

 

त्यसो त नेपाली संस्कृति, चाड-पर्वहरुको अन्तर्राष्ट्रियकरण लगाएतका बिषयमा चासो दिदै आएको सोनसिकले गत सेप्टेम्बर ४ तारिखमा ‘विश्व एउटा फूल जस्तै’ भन्ने श्लोगान सहित दक्षिण कोरियाको जङ्गअप शहर स्थित नेजाङ्सान वाटरपार्कमा आयोजना गरिएको अन्तर्रास्ट्रिय सांस्कृतिक प्रतियोगीतामा पनि आफ्नो सक्रिय सहभागिता जनाएको थियो । नेपालको प्रतिनिधित्व गरेको सोनसिकको सांस्कृतिक समूहले उक्त प्रतियोगितामा दोश्रो स्थान प्राप्त गर्न सफल पनि भएको थियो । युनेस्को (UNESCO) को २१ औँ वार्षिकोत्सवको अवसर पारेर नेजाङ्गसा जिक्जिसिम्छे मेमोरियल एसोसिएसनको आयोजना र कोरियन बौद्ध संघको सहयोगमा १८ भन्दा बढी देशहरुको सहभागितामा सम्पन्न गरिएको उक्त कार्यक्रममा सोनसिकले नेपाली भेषभूषा, संस्कार, रहन-सहन झल्काउने सांस्कृतिक र परम्परागत सामग्रीहरुको प्रदर्शन गर्नुका साथै नेपाली स्वादका लागि नेपालमा प्रचलित स्वादिलो नेपाली म:म पनि राखेर नेपाली स्वादको समेत प्रचार गरेको थियो ।

त्यसैगरी गत सेप्टेम्बर २७ तारीखमा कोरियाको बोसङ उच्च माध्यामिक बिधयालयमा यूनेस्को द्वारा आयोजित एक अन्तर-सांस्कृतिक कार्यक्रममा सोनसिकले नेपालको प्रतिनिधित्व गर्दै नेपाली संस्कृति, कला, इतिहासको बिषयमा बिशेष परिचयात्मक कार्यक्रम तथा बिशेष गोष्ठीको आयोजना गरेको थियो । त्यस्तै सोनसिकले कोरियाको गवांस बिश्वबिध्यालयमा पनि गत सेप्टेम्बर २८ मा नेपाली कला संस्कृति को प्रचार-प्रसार तथा नेपाली परिकारको प्रबर्धनका लागि दशै बिशेष कार्यक्रम गरेको थियो । यसै बिच बिभिन्न देशका बिधयार्थीहरु अध्ययनरत सेजंग बिश्वबिध्यालयका सोनसिक आवद्द नेपाली बिधयार्थीहरुको सक्रियतामा अन्तर्राष्ट्रीय जगतमा पनि नेपाली परिकारको प्रचार होस भन्ने उद्यस्यले निशुल्क नेपाली परिकार बितरण गर्ने कार्यक्रम पनि सम्पन्न गरेको थियो ।

सन २००४ मा स्थापना भई हरेक बर्ष नयाँ कार्यसमिति चयन हुने संस्थाको नियम अनुसार हाल सम्म १९ वटा कार्यसमिति मार्फत कोरियामा रहेका नेपाली बिद्यार्थी माझ बिभिन्न किसिममा सामाजिक, शैक्षिक, साँस्कृतिक कार्यक्रमहरु गर्दै नेपाली बिद्यार्थीहरुको सहजताका लागि सहि सूचनाको आदान प्रदान मार्फत सेवा पुर्याईरहेको सोनसिकले पछिल्लो समय नेपाली कला संस्कृतिको अन्तर्राष्ट्रियकरणमा पनि भूमिका खेल्दै आईरहेको देख्न सकिन्छ । सोनसिकको हालको कार्यसमितिको अध्यक्षमा कोरियाको ग्यंबुक बिश्वबिधयालयमा आईटी मा पिएचडी गरिरहेका प्राज्ञिक ब्यक्तित्व मनीष पाण्डे रहेका छन भने सांस्कृतिक उपसमितिको ब्यवस्थापकमा सोनसिकका पुर्व अध्यक्ष एवं हालका सल्लाहकार राजाराम श्रेष्ठ रहेका छन ।