गेटा मेडिकल कलेज वा प्रतिष्ठान हैन, मेडिकल विश्वविद्यालय हुनु पर्छ

598

२०५५ सालतिर कैलालीको गेटामा अवस्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययन गर्दैको समयमा हाम्रै गाउँमा
‘गेटा मेडिकल कलेज’ बन्दै छ भन्ने हल्ला सुनेको र एकजना चर्चित शंकराचार्यद्वारा शिलान्यास कार्यक्रममा विभिन्न
विद्यालयका हजारौ विद्यार्थीको माझमा म पनि अरु झैँ फूल हातमा लिई स्वागत गर्न विद्यालयको अभियानमा
उभिएको थिए । सोही गाउको विद्यालयका कम्तिमा १ जना मिहेनती र उत्कृष्ट विद्यार्थी हरेक बर्ष छात्रवृतिका
साथ उक्त मेडिकल कलेजमा अध्ययन गर्न पाउनेछ भन्ने हल्लाले म पनि हौसिएको हौसिएई भए । करिब दुइ दशक
पछि, बिगत ३/४ बर्ष यता सोहि ठाउमा रहेको जंगलको ठूलो भूभागमा ठुल्ठुला भवन संरचना बनेको देख्दा गेटा
वरिपरिका मात्रै नभई समग्र सुदूरपश्चिम बासिहरु ह्रसित छन् । तथापि प्रस्तावित गेटा मेडिकल कलेजको शैक्षिक
कार्यक्रम संचालनको मोडेल सरकारले अझै तयार नपारी सकेको र यसलाई कलेज को रुपमा वा छुट्टै प्रतिष्ठानको
मोडालिटिमा संचालन गर्ने बिषय विभिन्न व्यक्तिहरुबीच छलफल भएको देखिन्छ । बिगत दुइ दशक भन्दा बढी
देखि सोहि विद्यालयमा अध्यापन गरी रहनु भएका मेरा दाजु संग गत हप्ता यही सन्दर्भमा सामान्य कुरा गर्दा मैले
राखेको विचार सुनी दाजुले मलाई एउटा लेख तयार पार्नको लागि सुझाब दिनु भयो । मैले मेरो उच्च शिक्षा
अध्ययन, अध्यापन, अनुसन्धानको क्रममा नेपाल, दक्षिण कोरिया र अमेरिकामा रहदा संगालेको अनुभव र ज्ञानको
आधारमा ‘गेटा मेडिकल कलेज वा प्रतिष्ठान हैन, मेडिकल विश्वबिद्यालय हुनु पर्छ’ भन्ने विचारपत्र लेख्ने जमर्को गरेको
छु ।

आदरणीय नीति निर्माता तथा सम्बन्धित निकाय/व्यक्ति,
राष्ट्रिय गौरवको एक योजना अर्थात् प्रस्तावित गेटा मेडिकल कलेजको भवन संरचना निर्माणमा मात्रै देशको
ढुकुटीको साढे ३ अर्ब बढी रकम खर्च भई सकेको छ । बर्षौ देखि पर्खिरहेको सुदूरपश्चिम तथा वरपरका करिब ३०
लाख बासिन्दाको स्वास्थ्य तथा चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, रोजगार र आर्थिक सम्वृद्धिमा दूरगामी टेवा
पुर्याउन सक्ने स्वर्णिम सपनाको परियोजना संचालनमा बर्षेनी करोडौ रकम आवश्यक पर्नेछ ।
आर्किटेक्चर/इन्जिनीएर/निर्माण ब्यबसायीको समूहले पक्कै पनि भौतिक संरचनाको जग बलियो र दीर्घकालीन रुपमा
उहाँहरुको नाम स्मरण हुने गरी आवश्यक पूर्वाधार तयार पार्नु भएको होला । अब, त्यसरी नै तत्काल कुनै कुरामा
सन्देह वा कमजोरी नगरीकन विश्वस्तरीय शीप, ज्ञान, अनुभव र दक्षता हासिल गरेका जनशक्तिद्वारा स्वास्थ्य
उपचार, स्वास्थ्य शिक्षा, अनुसन्धान, इन्नोवेसन, तथा उद्यमका ब्यबहारिक कार्यक्रम, मापदण्ड र दूरगामी नीति
सहित परियोजना संचालनको स्पष्ट मोडालिटी, प्रणाली र पाठ्यक्रमको खाका तयार गरी बौद्धिकताको बलियो जग
बसाउनु पर्ने आवश्यकता छ । समग्रमा, राष्ट्रिय गौरव तथा सुदूरपश्चिमको ढुकढुकी बनेको यस परियोजनालाई
आत्मनिर्भर बनाई अनन्त कालसम्म आम जनसमुदायको स्वास्थ्य सेवा सित सम्बन्धित सम्पूर्ण आवश्यकताहरु
परिपूर्ति गर्न सक्ने उच्चकोटीको संस्थाको रुपमा स्थापित गर्ने बाटोमा डोर्याउनु जरुरि छ ।
करिब ५१ हेक्टर क्षेत्रफल जमिनमा तयार पारिएको प्रस्तावित गेटा मेडिकल कलेजलाई कुनै पुरानो विश्वबिद्यालय
प्रणाली अन्तर्गतको मेडिकल कलेजको रुपमा वा बर्षौ अघि स्थापना भएर पनि आफ्नो सेवा/शिक्षाको दायरा
फराकिलो बनाउन नसक्ने प्रतिष्ठानको रुपमा संचालन गरिनु सान्दर्भिक देखिदैन । सुदूरपश्चिम अन्तर्गत पहिलो पटक
नेपाल सरकारद्वारा निर्माणाधीन यस ऐतिहासिक संस्थालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय सरोकारवालासंग सहकार्य
गरी उच्च शिक्षा, अनुसन्धान र बिरामीको हेरचाह गर्न सक्ने उत्कृष्ट केन्द्रको नमुनाका रुपमा नेपालकै पहिलो मेडिकल

विश्वविद्यालय (Sudurpashchim University of Medical Sciences) को रुपमा विकास गर्नु अपरिहार्य
देखिन्छ । केहि बर्ष प्रणाली विकास र अध्यापनका लागि आवश्यक जनशक्तिको कमी जस्ता सामान्य चुनौतीको
सामना गर्नु परेता पनि संरचनागत सबलता, सरकारी लगानीको सुनिश्चितता र सुदूरपश्चिम बासीको अगाध
भरोसालाई आत्मसात गर्दै यो अवसरलाई एउटा विश्वस्तरीय मेडिकल विश्वविद्यालय निर्माण किन र कस्तो
मोडालिटीमा विकास गरिनु पर्छ भन्ने बारे बुझ्न र आम बहस हुनु जरुरि छ । संकुचित दायरा र सिमित कार्य
क्षेत्रको घेरा भित्र राख्ने गरी गेटा मेडिकल कलेज वा प्रतिष्ठान मा विकास गर्दा धेरै बाधा र सिमितता हुने, र
सम्भावना लाई खुम्चाउने भएको हुँदा ब्यग्र प्रतिक्षित निर्माणाधीन यस संस्थालाई मेडिकल विश्वविद्यालयको रुपमा
विकास गरिनु दीर्घकालीन दृष्टिकोणले बान्छनीय देखिन्छ ।
मेडिकल विश्वविद्यालयको रुपमा विकास गरिनु पर्ने ५ कारण :
1) एकिकृत शैक्षिक स्वास्थ्य बिज्ञान केन्द्रको अनिवार्यता: समाज स्वस्थ राख्न वा बिरामी लाई उत्कृष्ट स्वास्थ्य
सेवा दिन थुप्रै किसिम र शीप भएका स्वास्थ्य कर्मी टिमको भूमिका र आवश्यकता पर्दछ । मेडिकल
कलेजको नाममा यति ठूलो पूर्वाधार र लगानी भएको परियोजनालाई चिकित्सा बिज्ञान वा नर्सिङ्ग
बिज्ञानका सिमित बिषय पढाउने शैक्षिक संस्थाको रुपमा मात्र लिइनु हुदैन । बिडम्बना सुदूरपश्चिम
क्षेत्रमा हालसम्म पनि स्वास्थ्य संग सम्बन्धित उच्च शिक्षा अध्ययनका लागि एउटा पनि क्याम्पस वा
विश्वबिद्यालय छैनन् । चिकित्सा वा नर्सिङ्ग बिज्ञान मात्रै नभई फार्मेसी, पब्लिक हेल्थ, मेडिकल
ल्याबोरेटरी, फिजिओथेरपि, डेन्टल, अप्टोमेट्री, फूड साईन्स, स्पोर्ट्स साईन्स जस्ता अत्यन्तै महत्वपूर्ण
बिषय अध्ययनका लागि समेत बर्षेनी सुदूर पश्चिमका हजारौ बिद्यार्थीले कि त ठूलो पुजी जम्मा गरी
आफ्नो क्षेत्रबाट टाढा र फरक बाताबरणमा बाध्य भई स्वदेश तथा बिदेशका कलेजमा भर्ना हुनु पर्ने नियति
छ, कि त स्वास्थ्य बिज्ञान पढी समाजको सेवा गर्ने आफ्नो इच्छा, क्षमता र सपनालाई तिलान्जली दिई
स्थानीय क्षेत्रका कलेजमा आफूलाई इच्छा नभएको बिषय पढ्नु पर्ने बाध्यता छ । हैन भने उच्च शिक्षा
अध्ययनलाई नै इतिश्री गरी काम खोज्न भारत तथा अन्य देशमा जानु पर्ने बाध्यता रहेको छ । तसर्थ
विश्वका अन्य देशका सफल मेडिकल विश्वबिद्यालय झैँ मेडिसिन, नर्सिङ्ग, डेन्टल, फार्मेसी, पब्लिक हेल्थ,
मेडिकल ल्याबोरेटरी, फिजिओथेरपि, अप्टोमेट्री, फूड साईन्स तथा टेक्नोलोजी, बायोमेडिकल साईन्स तथा
इन्जीनीएरिंग, हेल्थ केएर म्यानेजमेन्ट, स्पोर्ट्स साईन्स आदि बिषयका कलेज स्थापना गरी स्नातक,
स्नाकोत्तर र विद्याबारिधि अध्ययन गर्न मिल्ने र सुदूरपश्चिम क्षेत्रको आम आवश्यकता अनुसार स्वास्थ्य
बिज्ञान संग सम्बन्धित सम्पूर्ण विधाको अध्ययन तथा अनुसन्धान गर्न सकिने परिकल्पना सहित यस
निर्माणाधीन संस्थालाई एकिकृत शैक्षिक स्वास्थ्य बिज्ञान केन्द्रको रुपमा मेडिकल विश्वविद्यालय बनाउनु
आवश्यक छ ।

2) सरकारी स्वास्थ्य सेवा केन्द्रबाट प्रभावकारी स्वास्थ्य उपचार सेवा प्रदान गर्न र स्वास्थ्य सेवा प्रणालीलाई
बलियो बनाउन: सरकारले सुदूरपश्चिमका विभिन्न जिल्लामा स्वास्थ्य चौकी तथा साना-ठूला अस्पतालमा
हरेक वर्ष अरबौ रकम खर्च गर्दै आएको र हजारौ स्वास्थ्य कर्मीलाई नियुक्त गरेको छ । तैपनि ती स्वास्थ्य
केन्द्रबाट प्रदान गरिने सेवाको गुणस्तर, प्रभावकारिता, उपचार सुबिधा तथा उपकरण अभाव, जनशक्तिको
समय सापेक्ष ज्ञान/शीप विकासको अभाव आदि कारणले ती संस्था प्रति आम जनताको आकर्षण, सन्तुष्टि र
बिश्वसनीयता घट्दै गएको समाचार बारम्बार आइरहेका छन् । बिगत ३० बर्ष भन्दा बढी देखि सुदूर
पश्चिमको 'प्रमुख स्वास्थ्य उपचार केन्द्र' को रुपमा रहेको अस्पतालले समेत उक्त क्षेत्रका विभिन्न
जिल्लाबाट रिफर भई आएका बिरामीलाई भारत तथा नेपालगंज/काठमाडौँका अस्पतालमा रिफर गरी
पठाउने चलन बढ्दो छ । यस क्षेत्रमा हाल संचालनमा रहेका 'प्रमुख स्वास्थ्य उपचार केन्द्रहरु' ले
स्थापनाको दशकौ हुदापनि आफूलाई तृतीयक श्रेणीको अस्पताल (Tertiary Referral Hospital),
जहाँ विशिष्ट चिकित्सकटोली र उपकरणहरूको माध्यमबाट तृतीयक उपचार सेवाहरू जस्तै हृदयको

शल्यक्रिया, क्यान्सर उपचार र व्यवस्थापन, आगोले पोलेको उपचार, प्लास्टिक सर्जरी, न्यूरो सर्जरी र
तत्काल मृत्यू बाट बचाउने इमर्जेन्सी तथा अत्यन्तै महत्वपूर्ण उपचार सेवाहरु उपलब्ध हुन्छन ।) को
रुपमा विकास गर्न सकेको छैन । यस्ता अस्पताल र केन्द्रमा नगई कुनै भरबिना सिधै भारत वा अन्य
ठाउका महँगो र असहज सेवा लिन बाध्य हुने बिरामीको संख्या बर्षेनी बढेको दुखदायी समाचारहरु
अनवरत आइरहेका छन् । तसर्थ सरकारी लगानीमा स्थापना र संचालन भएका सुदूरपश्चिमका विभिन्न
जिल्लामा रहेका अस्पतालहरुलाई एकिकृत स्वास्थ्य सेवा प्रणाली अन्तर्गत ल्याई प्रस्तावित मेडिकल
विश्वविद्यालयको ‘स्याटेलाइट हस्पिटल’का रुपमा सहजै विस्तार गर्न सकिन्छ । मेडिकल विश्वविद्यालय
‘स्वास्थ्य सेवा संजाल र प्रणाली’को माध्यम बाट सुदूरपश्चिमका विभिन्न जिल्लाका अस्पताल वा स्वास्थ्य
केन्द्रहरु बाट भरपर्दो, गुणस्तरीय र सुलभ सेवा आम नागरिकलाई सहजै प्रदान गर्न सकिन्छ । साथै
‘मेडिकल विश्वविद्यालय स्वास्थ्य सेवा संजाल’ देशकै नमुना प्रणालीको रुपमा विकसित हुनेछ र यस्तो
एकिकृत स्वास्थ्य शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीको अनुगमन र नियमन गर्न सरकार वा
सरोकारवालालाई निकै सहज र प्रभावकारी हुनेछ ।

3) संस्थालाई आत्मनिर्भर बनाई सरकारको आर्थिक बोझ कम गर्न: संसारका धेरै जसो उत्कृष्ट
विश्वविद्यालयहरु केन्द्रिय सरकार वा प्रदेश/स्थानीय सरकारको आर्थिक सहयोगबाट वा धार्मिक,
सामाजिक वा ब्यापारिक समूहको सहयोगबाट प्राइभेट तर गैर-नाफामूलक शैक्षिक संस्थाको रुपमा
स्थापना र संचालन गरिन्छन । उदाहरणको लागि नेपाल भन्दा सानो देश तर छोटो समयमा चमत्कारिक
विकास गर्न सफल भएको दक्षिण कोरियामा करिब २०० विश्वविद्यालयहरु रहेका र स्थापनाका आधारमा
३ प्रकारका छन: १) केन्द्रिय सरकारद्वारा स्थापित नेशनल यूनिवर्सिटी, २) प्रान्त सरकार द्वारा स्थापित
पब्लिक यूनिवर्सिटी र ३) धार्मिक, सामाजिक गुठि वा ब्यापारिक समूहद्वारा स्थापित गैर-नाफामूलक
प्राइभेट यूनिवर्सिटी । विश्वविद्यालयले आफ्नो सेवा तथा कार्यक्रम विस्तार गर्न, गुणस्तरीय, आत्मनिर्भर र
विश्वस्तरीय रुपमा संचालन गर्न बिद्यार्थीबाट केहि शुल्क लिनुका साथै राष्ट्रिय तथा प्राइभेट अनुसन्धानका
कोष/अनुदान, व्यक्तिगत वा सामुहिक दान, र विभिन्न ठाउमा गरिएको लगानी/सेवा बाट रकम संकलन
गर्ने गर्दछ । तसर्थ मेडिकल विश्वविद्यालयको स्थापना गर्दा बुदा १ मा उल्लेख गरिए जस्तै ठूलो
संरचनामा, प्राध्यापक र विद्यार्थीहरुको संग्लनता रहने गरी स्वास्थ्य विज्ञानका विभिन्न विधामा अध्ययन
तथा अनुसन्धान सहितको विद्यावारिधि सम्मका कार्यक्रमहरु यथाशिघ्र संचालनमा ल्याइनु पर्दछ ।
अत्याधुनिक मेडिकल विश्वविद्यालयको परिकल्पना अनुरुप निर्माणाधीन संस्थालाई अगाडी बढाउन सके
सो संस्था सित आबद्ध विद्यार्थी, अनुसन्धानकर्ता, चिकित्सकटोलि तथा प्राध्यापकहरु सैद्वान्तिक ज्ञान मात्र
नभई ब्यबहारिक शीप सहितको अनुसन्धान र अन्वेषणमा संग्लग्न हुन पाउने र फलस्वरूप उत्कृष्ट
रोजगारीका अवसरहरु सिर्जना भई यस क्षेत्रको समग्र विकासमा दीर्घकालीन टेवा पुग्ने देखिन्छ ।

4) स्वदेश तथा बिदेशमा रहेका उच्च दक्ष जनशक्ति आकर्षण गर्न: भौतिक संरचना र लगानी जति भएपनि
विभिन्न शैक्षिक कार्यक्रम, अनुसन्धान र स्वास्थ्य सेवा प्रदान गर्न उत्कृष्ट, स्थिर र दूरदर्शी नेतृत्व (भिजनरी
लीडरशिप) दिन सक्ने उच्च दक्ष जनशक्तिको सक्रियताबाट मात्रै परियोजनाको उदेश्य पूरा गर्न सकिन्छ ।
केहि समय अगाडी ‘सुदूरपश्चिम साईन्स नेटवर्क’ द्वारा गरिएको एक अप्रकाशित तर बिश्वशनीय
सर्वेक्षणलाई मात्रै आधार मान्ने हो भनेपनि अहिले ठूलो संख्यामा मेडिकल तथा हेल्थ साईन्समा दख्खल
राख्ने सुदूरपश्चिम क्षेत्रसंग सम्बन्धित उच्च दक्ष जनशक्ति स्वदेश वा बिदेशका उत्कृष्ट विश्वविद्यालय,
अस्पताल, हेल्थकेयर कम्पनि वा शैक्षिक संस्थाहरुमा अध्ययन, अध्यापन, अनुसन्धान तथा नेतृत्व तहमा
क्रियाशील छन् । यति ठूलो संरचना र सम्भावना लाई गेटा मेडिकल कलेज वा प्रतिष्ठानमा सिमित
राख्नुको सट्टा मेडिकल विश्वबिद्यालयको रुपमा विकास र विस्तार गर्दा त्यो ठूलो उच्च जनशक्ति आफ्नै
क्षेत्रमा फर्किएर आफ्नो दक्षता अनुसार विभिन्न उच्च शिक्षा/ स्वास्थ्य सेवाका कार्यक्रमको योजना सहित

अध्यापन, अनुसन्धान, विकासको ज्ञान र अनुभव संगै आफ्नो संचित पूजीलाई यहि क्षेत्रमा प्रयोग गर्ने गरी
आउने बाटो खुल्छ । यसका साथै अहिले बाध्यताले बाहिर अध्ययनरत बिद्यार्थीहरु पनि अध्ययन पछि
आफ्नै देश/क्षेत्रमा फर्कने तयारी गर्छन साथै विभिन्न उच्च जनशक्तिले मेडिकल विश्वविद्यालयको थलोमा
राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका नेटवर्क संग संगै अनुसन्धान र विकासको कोष/अनुदान भित्राउने ठूलो
सम्भावना हुन्छ ।

५) स्वस्थ र आर्थिक रुपमा सबल सुदूरपश्चिमको परिकल्पना: गेटामा स्थापना हुने मेडिकल
विश्वबिद्यालयको स्वास्थ्य सेवा संजाल र प्रभाबकारी प्रणालीको माध्यमबाट सुदूरपश्चिमका विभिन्न
जिल्लाका अस्पताल वा केन्द्रबाट भरपर्दो, गुणस्तरीय र सुलभ स्वास्थ्य उपचार सेवा प्रदान गरी
सुदूरपश्चिमका लाखौ नागरिकलाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्नेछ । मेडिकल विश्वबिद्यालय
अन्तर्गतका विभिन्न शैक्षिक र अनुसन्धानका गतिविधिले यो क्षेत्रको मुख्य स्वास्थ्य समस्या, त्यसको कारण,
र रोकथामका उपाय बारे ठोस निष्कर्ष, नीति, नियम र कार्यक्रम/बजेट बनाउन समेत स्थानीय तथा
केन्द्रिय सरकारलाई दिशानिर्देश गरी स्वस्थ र सम्बृद्ध सुदूरपश्चिम निर्माणमा प्रत्यक्ष सहयोग पुग्नेछ ।
प्रभाबकारी तृतीयक श्रेणीको (Tertiary care) सेवा सहित अन्तराष्ट्रिय स्तरको यूनिवर्सिटी हस्पिटल
संचालन पश्चात उपचारका लागि सुदूरपश्चिमबाट बाहिरिने ठूलो रकम रोकिनुका साथै छिमेकी भारतका
केहि राज्य तथा सुदूरपश्चिम वरपरका बिरामीका लागि समेत आकर्षक उपचार केन्द्रको रुपमा विकास
हुनेछ । त्यसैगरी मेडिकल विश्वविद्यालयद्वारा मेडिसिन, नर्सिङ् मात्र नभई डेन्टल, फार्मेसी, पब्लिक
हेल्थ, मेडिकल ल्याबोरेटरी, फिजिओथेरपि, अप्टोमेट्री, फूड साईन्स तथा टेक्नोलोजी, बायोमेडिकल साईन्स
तथा इन्जीनीएरिंग, हेल्थ केएर म्यानेजमेन्ट, स्पोर्ट्स साईन्स आदि बिषयमा क्रमस स्नातक, स्नाकोत्तर र
विद्याबारिधि अध्ययन गर्न कलेज संचालन पश्चात उच्च शिक्षाका लागि सुदूरपश्चिमबाट बाहिरिने ठूलो
रकम र जनशक्ति रोकिनुका साथै छिमेकी भारत तथा नेपालका अन्य भूभागका विद्यार्थीलाई समेत
आकर्षण गर्न सकिनेछ । मेडिकल विश्वबिद्यालयको सहयोग र समन्वयमा विभिन्न अनुसन्धान, विकास र
राष्ट्रलाई नै फाइदा पुग्ने उद्यमशीलता / ब्यापारिक गतिबिधि बढ्नेछ । यसरी शैक्षिक, स्वास्थ्य,
अनुसन्धान, विकास तथा उद्यमका बिबिध कार्यक्रमहरुको वृद्धि हुन गई सुदूरपश्चिममा आर्थिक कारोबारको
नयाँ आयाम र ठूलो रोजगारी समेत सिर्जना गर्नेछ । यो क्रममा विश्वब्यापी बौद्धिकता, प्रबिधि, पूजी,
नेटवर्कलाई भित्राउने र स्थानीय रुपमा बिकसित ज्ञान, प्रतिभा, शीपलाई अन्तराष्ट्रिय बजारमा प्रबर्धन गर्न
सकिन्छ र संकलित ठूलो रकम यहि क्षेत्रको विकासमा प्रयोग हुन सक्छ ।

कस्तो हुनुपर्छ प्रस्तावित मेडिकल विश्वविद्यालय ?
नेपालमा केहि विश्वविद्यालय र ती अन्तर्गतका सम्बन्धन वा आंगिक थुप्रै क्याम्पस/कलेज छन् र केहि समय यता
सरकारले बिभिन्न प्रतिष्ठान र केहि थप विश्वविद्यालय स्थापनाको तयारी गरी रहेको छ । तर केहि अपबाद बाहेक
सबै जसो विश्व बिद्यालय/प्रतिष्ठानमा कमजोर संचालन प्रणाली सहित धेरै समस्याले बधिनु परेकोले नेपाली
बिद्यार्थी आफ्नो इच्छा, सपना र प्रतिभाले भन्दा अरु बिकल्प नभएकाले भर्ना हुनु पर्ने बाध्यता मा छन् । धेरै जसो
प्राध्यापक र कर्मचारीहरु पनि आफ्नो काम प्रति सन्तुष्ट नभएको र भबिस्य प्रति चिन्तित भई
विश्वविद्यालय/प्रतिष्ठानको जागीर छोडी अरु संस्था संग जोडिने वा विदेश उड्ने बिकल्पको खोजीमा हुन्छन ।
तसर्थ गेटा मेडिकल विश्वविद्यालय संचालन बिधि र नीति तर्जुमा गर्दा कम्तिमा देहायका ५ बुंदाहरु सम्बोधन गरिनु
बान्छनीय देखिन्छ ।
१) राजनैतिक पार्टीको प्रभाब मुक्त हुनुपर्छ: आधुनिक समयमा संसार भरि शैक्षिक थलोमा विद्यार्थी, प्राध्यापक र
कर्मचारी कुनै पनि राजनैतिक पार्टीको कार्यकर्ता भई वा राजनैतिक पार्टीमा सक्रिय भई काम गर्न प्रतिबन्धित हुन्छन

वा सो काममा लाग्न कसैलाई फुर्सद वा चाहना नै हुदैन । बिडम्बना नेपालका ठूला, पुराना विश्वबिद्यालय सहित
नयाँ विश्वविद्यालय, प्रतिष्ठान र तिनका क्याम्पस कलेज मा समेत राजनैतिक पार्टीको प्रभाब र गतिविधिले दुर्गन्धित
बनाई सक्दा पनि राजनीति कर्मी, सरकार, नागरिक समूह, समाजसेवी, नागरिक अधिकारबादी, र शिक्षाविदहरुले
अहिले सम्म शैक्षिक थलोमा राजनीति प्रतिबन्ध गर्न सकेको छैन । विश्वविद्यालय र प्रतिष्ठानमा विद्यार्थी,
प्राध्यापक र कर्मचारीहितमा खोलिएका संघ-संगठनले राजनैतिक पार्टीका कार्यकर्तालाई विश्वबिद्यालय र
प्रतिष्ठानमा विद्यार्थी, प्राध्यापक वा कर्मचारीको रुपमा भर्ति गर्ने केन्द्रको रुपमा विकास गरी विश्वविद्यालयको
भबिस्य अन्धकार बनाउने मुख्य भूमिका खेलेको छ । शिक्षा क्षेत्रमा भएको चरम राजनैतिक हस्तक्षेप विरुद्ध
बेलाबखत उठ्ने आवाजहरु पनि राजनैतिक कोलाहल्मै बिलाउने गरेका छन् । प्रस्तावित मेडिकल
विश्वविद्यालयलाई विशुद्व रुपमा अध्ययन, अध्यापन, अनुसन्धान, विकास, स्वास्थ्य सेवा र उद्यमकेन्द्रको रुपमा
अनिवार्य विकास गर्न सरोकारवाला सबैले मिलेर राजनैतिक हस्तक्षेप मुक्त र पूर्णरुपमा स्वायत्त शैक्षिक क्षेत्रको
रुपमा विकास गर्ने प्रण गर्नु पर्दछ । यसको पहिलो सर्त भनेको प्रस्तावित विश्वविद्यालयका पदाधिकारीहरुको
नियुक्ति विशिष्ट शैक्षिक योग्यता, उत्कृष्ट नेतृत्व क्षमता, र उच्च नैतिक आचरणका शसक्त मापदण्डका आधारमा
राजनैतिक प्रभाव रहीत विश्वविद्यालयको ‘न्यासिक परिषद’ (Board of Trustee) ले आफ्नो नियमित तालिका
अनुरुप खुला र पारदर्शीरूपमा गर्ने गराउने व्यवस्थाको सुनिश्चितता हुनु हो ।

२) निजि शैक्षिकसंस्थाहरुलाई सम्बन्धन कहिल्यै नदिने हुनुपर्छ: विश्वविद्यालयको मर्म र उदेश्य नबुझेझै गरी धेरै
जसो नेपाली विश्वविद्यालयहरुले अचम्म र असुहाउँदो निजि शैक्षिक संस्थाहरु लाई सम्बन्धन दिएको तथ्य छन् ।
यसको मुख्य कारण प्रत्यक्ष राजनैतिक हस्तक्षेप मात्र नभई विश्वविद्यालयका पदाधिकारीहरुको निजि स्वार्थ र
शिक्षाको व्यापार गर्ने कथित माफियाहरुको प्रलोभन र खेल हो । संसारका राम्रा देशहरुका शिक्षा वा स्वास्थ्य सेवा
क्षेत्र नाफा बाड्ने हुदैनन् । तर नेपालमा धन कमाउने मुख्य उदेश्य राखी खोलिएका सयौ सम्बन्धन प्राप्त कलेजहरुले
विद्यार्थीको शोषण मात्रै हैन समग्र समाजको भबिस्य प्रति प्रश्न उठाएको तथ्य बारम्बार डा. गोविन्द केसी ज्यू को
अनसन र धेरै समाचारले जनाईसकेको छ | तसर्थ प्रस्तावित मेडिकल विश्वविद्यालयद्वारा निजि-नाफाखोर शैक्षिक
संस्थाहरुलाई सम्बन्धन दिने अनुमति कदापि दिनु हुदैन |

३) उत्कृष्ट विद्यार्थी, प्राध्यापक वा कर्मचारीलाई प्रबर्धन गर्ने हुनुपर्छ: विश्वविद्यालयको श्रेणी र प्रतिष्ठा त्यहाका
विद्यार्थी र कर्मचारी संगै मुख्यतया प्राध्यापकको भूमिकाले निर्धारण गर्छ । प्रस्तावित मेडिकल विश्वविद्यालयमा
शिक्षण सहित अनुसन्धान र बिकासका क्रियाकलापमा दख्खल राख्ने प्राध्यापकहरुलाई आकर्षण र प्रबर्धन गर्ने नीति
तथा कार्यक्रम हुनु पर्दछ ।

४) आत्मनिर्भर हुनु पर्छ: विश्वविद्यालय र प्रतिष्ठानको भौतिक संरचना निर्माण गर्ने देखि संचालन सम्मको सम्पूर्ण
आर्थिक भार सरकारलाई भई रह्यो भने न त संस्थाको दिगो विकास हुन्छ न त त्यसले समाजमा परिबर्तनको आभास
दिन्छ । तसर्थ प्रस्तावित मेडिकल विश्वविद्यालय सुरु देखि नै विश्वस्तरीय शैक्षिक, अनुसन्धान, विकास, र उद्यमका
कार्यक्रम र नीति सहित आत्मनिर्भर हुने बाटोमा जानु पर्छ र सरकारलाई आर्थिक बोझ कम गर्न मदत गर्नु पर्दछ ।

५) बलियो लीडरशिप प्रणाली हुनु पर्छ: विश्वविद्यालय र प्रतिष्ठानको प्रमुख हुन योग्यता, क्षमता र इच्छाशक्ति
नहेरी राजनैतिक दलको कोटामा वा प्रभावमा आउने लीडरशिपले संस्थाको दिगो विकास भन्दा पनि आफ्नो र
राजनैतिक दलको हितलाई प्राथमिकता दिएको कारण आज हाम्रा ठुला देखि साना सरकारी/सार्बजनिक लगानीका
शैक्षिक संस्थाको हालत गिर्दो छ । कमजोर प्रणालीका कारण विश्वबिद्यालय र प्रतिष्ठानको संचालनको लीडरशिप

सूचिमा प्रधानमन्त्री र शिक्षा मन्त्रीको आधिकारिक नाम भएतापनि प्रत्यक्ष रुपमा कुनै भूमिका नखेल्नाले कतिपय
महत्वपुर्ण तर आकस्मिक निर्णय गर्नु पर्ने काम/कुरा पनि बर्षौ सम्म अड्किरहेको देखिन्छ । तसर्थ प्रस्तावित
मेडिकल विश्वविद्यालयको लीडरशिप प्रणाली विश्वविद्यालय को हितमा तुरुन्त निर्णय गर्ने र निरन्तर लागि रहने र
समय सापेक्ष सजिला तर अत्यावश्यक नीति परिबर्तन वा निर्माण तथा कार्यन्वयन गर्न सक्ने बलियो लीडरशिप
प्रणाली हुनु पर्छ ।

(औषधि बिज्ञानमा अध्ययन, अध्यापन, अनुसन्धान र अन्वेषणको अनुभव सहित फार्मेसी विधामा विद्याबारिधी गर्नु
भएका डा तारामान कडायत हाल कोरियन सरकारको विज्ञान मन्त्रालय अन्तर्गत दक्षिण कोरियाको मेडिकल
इन्नोवेसन प्रतिष्ठानमा औषधि अनुसन्धानमा फेलोशिप गर्दै हुनुहुन्छ ।)

प्रतिक्रियाहरू