सराङ हेयो आजसि

674

आन्सान बजारबाट पश्चिम-दक्षिण सिवा खोङदानमा मैले काम गर्ने कम्पनी थियो । काम दिवा र रात्रीकालीन गरी दुई चरणमा अघि बढेको थियो । म कम्पनी परिवर्तन गरी त्यहाँ नयाँ कामदार थिएँ । मलाई रात्रीकालीन कामको त्यती भेउ त थिएन तर आट गरेरै बस्ने अठोट गरेँ । दिवाकालीन काम त सजिलै गरिन्थ्यो तर रात्रीकालीन काम गर्न कठिन हुने गर्छ । किनकि, दिनमा पूर्ण मात्रामा निदाउँन सकिदैन । अनुभवले यस्तै बताउँछ । मलाई पनि त्यस्तै हुन्थ्यो । दिनमा सात पटक आँखा खोलेर निदाउँनु पर्ने बाध्यता जीवित थियो ।

कम्पनीको सुरक्षार्थ खटिएका दुई बृद्दहरु थिए, कम्पनीको गेट छेवैको अर्ध वृतकार ख्यङविसिलमा । उनीहरु त्यो घरमा २४ घण्टा रहने गर्थे तर आलोपालो गरेर । मलाई अचम्म लाग्थ्यो उनीहरुलाई देखेर । ती दुबै उमेरमा साठ्ठी कटिसकेका थिए तर बढो जाँगरिला र उत्साहित । फुर्तिलोपन उनीहरुबाट पूर्णरुपमा विलाइसकेको थिएन । हतारपन मभन्दा ज्यादा उनीहरुको हिँडाईमा प्रस्तुत हुन्थ्यो । कामको शुरुवात र अन्त्यमा त्यहीँ ठाउँमा कार्डलाई इन्ट्री गरेर जानुपर्थ्यो । यदि कुनै दिन कुनै कामदार नआएको खण्डमा उनीहरुले खातामा टिपिसकेका हुन्थे । कामदारले कार्ड चेक इन गर्न बिर्सियो भने उनीहरु कार्यस्थलमै खोज्दै आइपुग्थे । र अन्त्यमा, काम सकिनुभन्दा केही घण्टाअघि फाइल लिएर अन्तिम फाइनल गर्न । यो उनीहरुको दैनिकी हुन्थ्यो । उनीहरु हामीजस्ता विदेशी कामदारसँग नजिक थिए । उनीहरुलाई हामी दर्जन नेपाली कामदारको नाम कण्ठस्थ पनि थियो ।

दुई मध्ये एक कोरियन बृद्दसँग म बढी नजिक भएछु । सायद कुरा गर्दै जाँदा नजिकिएछु भनौँ । रातको समयमा खाजाको रुपमा रोटी र दुध लिन म त्यहाँ एक बज्नुभन्दा अगाबै पुग्थेँ । आधा सिसाले घेरीएको त्यो ख्यङविसिल कहिले सामसुम हुन्थ्यो भने कहिले झलमल्ल । रातमा एक सुरले मसिन वरपर चलिरहेको आवाज, अगाडि बाटामा गाडी गुडेको आवाज, र छिनछिनमा चुरोट तान्न कम्पनीबाहिर निस्कने कामदारहरुको चहलपहलले यो संकेत दिन्थ्यो कि रात दिनजस्तै अघि बढिरहेको थियो । कुनै काम पनि रोकिएको थिएन ।

रातमा म खाजा लिन पुग्दा उनीहरुको बढो रोचक दृष्यहरु म देख्थे । म पुग्दा त्यहाँ एक कोरियन बत्ती बालेर कुर्सिमा निदाइरहेको हुन्थ्यो । उसको चिउँडोले कुर्सिको मध्य भाग छोउँलाझैँ गरिरहेको हुन्थ्यो । मलाई उसको निन्द्रा भंग नगर्न पाए ऊ कति मीठो सुतिरहने हो भन्ने कुरा मनमा खेल्थ्यो । एकछिन त म बाहिरबाट ऊ सुतेको हेरिरहन्थेँ तर फेरि ढिलो गर्यो भने भित्रबाट फरक दृष्टी । सन्तुलन सबैतिर कायम राख्नुपर्ने । जे होस्, बाध्यता थियो भित्र जाने । भित्र पुगेर उसलाई बोलाउनु पर्ने । अचम्म यो छ कि ऊ ब्यूँझिने वित्तिकै आँखा मिचेर मलाई खाउँलाझैँ गर्थ्यो र एकोहोरो भुतभुताउँथ्यो । म भित्रभित्रै परिहासले बेरिन्थेँ । ऊ आफैँ फाइल हेरी उपस्थित कामदार गनेर रोटी र दुध मेरो भाडोमा हाल्दिने गर्थ्यो । ऊ जुर्मुरिदै मलाई अप्रत्यक्ष भन्थ्यो, ‘आजभोलि छाजाङ १२ बजेभन्दा अगाबै निस्किदैन । ऊ गएर भर्खर निदाउन मात्र के पाएको थिएँ, तँ आइहालिस होइन सेक्या फिमोल ?!’ यस बृद्दसँग म बढी नजिक हुन सकिँन किनकि ऊ सीमित कुरा गर्थ्यो । उसलाई कुनै प्रश्न तेर्सायो भने उत्तर नै दिँदैनथ्यो, बरु झिँझोँ पो मान्थ्यो । ऊ कहिलेकाहीँ राति ढोका लगाएर, बत्ति निभाएर सुतिदिन्थ्यो । फलस्वरुप, म बाहिरबाट जोडले कराउथेँ । मलाई लाग्थ्यो, उसलाई हामी विदेशी कामदारका समस्या र जीवनका बारेमा त्यति दिलचस्पी छैन । उसलाई बुढ्यौली उमेरले छोएर त्यो रेखामा ऊ घनिभूत भएको थियो । तर हिँडाईमा हतारपन, शरीरमा चाञ्चल्यता त बाँकी नै थियो जब ऊ दिनमा देखिन्थ्यो । ऊ कहिलेकाहीँ म खाजा लिन आएको देखिदेखि पनि मध्यरातमा ढोकामा चाबी लगाएर बाहिर निस्क्थ्यो । मलाई एकछिनमा आइज है सेक्या भन्थ्यो । अनि ह्वाजाङसिल पसेर चिसो पानीले मुख धुन्थ्यो र म पुन: फर्किएर एकछिनमा आउँने गर्थेँ ।

त्यस्तै, उसको विपरित समयमा अर्को बृद्द थियो जो ऊभन्दा केही वर्ष मात्र कम लाग्थ्यो । ऊ ज्यादै फुर्तिलो । उसको बोली नरम र मरनच्याँसे थिएन । हिँडाइ बढो हाँक बढाएर, कुरा गराई परिपक्क । चङ्ख र सिपालु लाग्थ्यो । ऊ मलाई र मजस्ता बिदेशी कामदारलाई माया गर्थ्यो । राती रोटी र दुध लिन जाँदा ऊ विस्वास गरेर मलाई नै जीम्मा दिन्थ्यो ।
ऊ म पुग्दा ज्यादै उत्सुक भएर पर्खिरहेको हुन्थ्यो । म पुग्ने बित्तिकै सोध्थ्यो, ‘फिमोल, तेँरो देशमा बुबाआमा के गर्नुहुन्छ ?’, ‘महिनामा कति रकम पठाउँछस् ?’, ‘घर बनाइस् ?’, ‘आमाबुबाको यादले सताउछ कि सताउदैन ?’ ‘अब कोरियाबाट गएर के गर्ने विचार छ ?’ ‘कोरिया फेरि आउँने बिचार छ ?’ आदि यस्तै पृच्छाहरु । ऊसँग मेरो देश-विदेश, परिस्थिति, बाध्यता, विकाश, अत्याचार, शोषण, हेयता, खानपान आदिका विषयमा कुराहरु बढो रोचक हुने गर्थे । ऊ विदेशी कामदारका कित्तामा उभिएर आफ्नो मत राख्थ्यो । मलाई थाहा थिएन ऊ किन मप्रति यति सहानूभुति दर्साइरहेछ ।

एक समय थियो, जनवरीको मध्य । बाहिरपट्टि भर्खर हिउँ झरेर सेताम्मे देखिन्थ्यो । हल्का सिमसिम पानी परिरहेको थियो । म रातको खाजा लिन भनेर एउटा कार्टुन बोकेर हानिएको थिए । ऊ कुर्सिमा रेडियो सुनेर बसिरहेको पाएँ । रेडियोमा निकै पुराना एक सुरका कोरियन गीतहरु घन्किरहेका थिए । म पुग्नेसाथ उसले एक कप कफी मेरो हातमा थमाइदियो । मैले समाएँ कफी । किनकि जाडोले सिँउसिँउ गर्दै भित्र पसेको थिएँ । उसले मेरो अनुहारको रंग देखेर सोध्यो, ‘आज उदास देख्छु त, के भयो ?’ हुन त केही पनि भएको थिएन । तर, भित्रपट्टि मसँग काम गर्ने कोरियन मदेखि च्याठिएको थियो । मैले भने, ‘आज निन्द्रा नपुगेर टाउको दुखिरहेको छ । काम पनि बढी छ ।’ उसले मलाई सहानुभूतिको नादमा भन्यो, ‘होसियारपूर्वक गर्नू । तँसँग गर्ने त्यो मिन्सु खालि बाहिर देख्छु, सबै काम तैँले नै गर्नुपर्छ होला । विस्तारै गर्नू ।’ मलाई उसको यही वाक्यले एकाकार बनाएको थियो ऊप्रति । उसलाई देखेपछि मलाई मेरो अभिभावक भेटेसमान हुन्थ्यो । कामले दिमाग खल्वलाएको क्षण यति भनिदिने मानिस पाउँनु पनि निकै ठूलो कुरा रहेछ । आधा तनाब कम हुने ।

म त्यो बृद्दसँग बढी नजिक थिए । तर केही नेपाली साथीहरुलाई ऊ पटक्कै मन पर्दैनथ्यो । कहिलेकाहीँ उसले केही प्रश्न सोध्यो भने साथीहरु झिँझो मान्थे । मलाई अचम्म लाग्थ्यो, किन उनीहरुले त्यस बृद्दलाई वेवास्था गरे ? हाम्रो पीडामा आत्मासाथ गर्ने उसको भित्री मनसिजलाई नबुझेर पो हो कि ? या ऊ बृद्द भएर हेला पो गरेको हो कि ? या आफूलाई उसको भूमिमा सर्वश्रेष्ठ जनाउन पो खोज्या हो कि ? मलाई अहिलेसम्म थाहा छैन ।

उसले मलाई कम्पनीको बारेमा सुनाउँनु हुने/नहुने सबै कुरा सुनाउँथ्यो । ऊ भन्थ्यो, ‘यो नयाँ थिमजाङ आएर कामदारलाई झन् गार्हो बनायो । यो इन्छनको कम्पनीबाट यता आएको रे । आज यहाँ आएर यो हिटर नबाल्नू भन्यो । रेडियो नबजाउनू भन्यो । यो रात कसरी काट्नु हिटर र रेडियोबिना । तिमीहरु पनि होसियार हुनु । कम्पनीको नियम झन कडा बनाइदैछ । हरे शिव !’

उसले कम्पनीमा के भइरहेको छ मलाई सुनाइहाल्थ्यो र सजग रहन आग्रह गर्थो । कम्पनीले बासस्थामा खाना बनाउन अनुमति दिएको थिएन । तर उसले कोठामै लुकिलुकि खाना बनाएर खानू भन्थ्यो । उसका सुझाबहरु यस्ता थिए । ‘रक्सी नखानू, बजार पुगेर चाँडै खिसुक्सा आउँनू, व्यायम गर्नू, आमाबुबासँग दैनिक कुराकानी गर्नू, अनावश्यक पैसा खर्च नगर्नू, टन्न खाना खानू र निदाउनू, अल्छि लाग्यो भने मसँग कुराकनी गर्न आउँनू इत्यादि ।’

उसले उतर कोरियालाई मन पराउँदैनथ्यो । ऊ भन्ने गर्थे, ‘त्यो केटो हो, तातो रगत छ त्यसको ।’ अनि म सोध्थे, ‘ मिगुक(अमेरिका) नि ?’ ऊ जोडले भन्थ्यो , ‘एक नम्बर ।’ मिगुकले गर्दा नै हामी यो स्थानमा छौँ । मिगुक पुग्ने मेरो पनि इच्छा थियो तर अब त बुढो भइयो । फिमोल, तँ एकचोटि त्यहाँ पुग्नू ।’

एकदिन मैले उसलाई आफ्नो परिवारको बारेमा जिज्ञासा देखाएँ र सोधेँ, ‘आजसि, तपाईँको परिवारमा को को हुनुहुन्छ नि ?’ ऊ कुर्सिमा निकै बेर हाँस्यो र भन्यो, म त श्रीमतीसँग बस्छु ।’ उसले यति भन्यो । मेरो जिज्ञासा मेटिएको थिएन र फेरि सोधेँ, ‘अनि तपाईँको छोराछोरी ?’ ऊ फेरि हाँस्यो र भन्यो, एउटा छोरो छ, खिँमेतिर बस्छ उसकै परिवारसँग । नातिनातिना पनि छन् । महिनामा एक चोटि आउँछन् भेट्न । नाति सानै छ । मलाई बुढो मान्छेको नाटक गरेर जिस्क्याउछ नातिले ।’ यति भनेर ऊ फेरि हाँस्यो । अनि अर्पझट घडी हेरेर भन्यो, ‘जा जा अब मिन्सुले कराउछ फेरि ।’

म परदेशमा एक नेपालीभन्दा माथि उसलाई पाउँथेँ । किनकि उसमा मप्रति मायैँ माया मात्र  छल्केको थियो । ऊ मेरो चेहराभाव नियालिरहन्थ्यो । कोरियामा नेपालीभाषी समुदायको बारेमा सोधिरहथ्यो । म सुनाउँथे उसलाई, ‘कोरियामा नेपालीहरुको डरलाग्दो आत्महत्या श्रृङ्खला रोकिएको छैन आजसि ।’ ऊ बढो चिन्तित हुँदै भन्थ्यो , धेरै कारण छन्- काम धेरै छ, तनाब धेरै छ । पराई भूमिमा परिवारविहिन अवस्था छ, एक्लोपन छ । भनेजस्तो साथी भेटिदैन, दु:ख कसलाई बाढ्ने ? साथीहरुमा ठूलो सानो होला । सबै एकै सोचे त भै गयो । तर, तिमीहरु त कामै नगरेका हौ नि । यहाँ आएर एकैचोटि गर्नुपर्दा गार्हो छ नि ।’ मैले उसलाई सुनाएँ, ‘आज कम्पनीमै एउटा नेपालीले आत्महत्या गर्यो !’ ऊ केही पनि बोल्न सकेन । ऊ सिसा बाहिर हेरेर बसिरह्यो । त्यस रात म पनि रोटी र दुध लिएर उदास हुँदै भित्र लागेँ ।

उनीहरु हरेक चौबिस घण्टा त्यहाँ रहने गर्थे । चौबिस घण्टा विताएपछि अर्को बृद्दको पालो आउँथ्यो । तुलनात्मक रुपमा उनीहरुको काम सजिलो भएर पनि हुन सक्छ । म पनि कहिलेकाहीँ उसलाई सहानुभूति दिन्थेँ, ‘चौबिस घण्टा विताउँन बहूदै गार्हो छ आजसिलाई पनि ।’ ऊ भन्थ्यो, ‘बुढ्यौलिले छोएपछि कम सुतेपनि हुन्छ । म रातमा यसो तीन घण्टा मात्र निदाउँछु, एक बजेपश्चात । त्योभन्दा अघि त छाजाङ नै निस्किदैन ।’

त्यसपश्चात म त्यो कम्पनीबाट निस्किएँ र दिवा काम हुने कम्पनीमा दाखिल भएँ । म निस्किने बखत त्यो बृद्द निकै उदास देखियो । उसले कम्पनी छाड्नुको कारण सोध्यो । मैले सम्पूर्ण बताएँ । उसले मलाई काममा नलागुञ्जेलसम्म फोन गरिरह्यो । मार्गदर्शन गरिरह्यो । ऊ यसो भन्थ्यो, तैँले छिट्टै काममा लाग्नुपर्दछ । किनकि यहाँबाट धेरै पैसा कमाएर जानुछ । तैँले बिहे गर्नु छ । घर बनाउनु छ । होइन ?’

म पनि उसलाई भन्थेँ । ‘आजसि चिन्ता नलिनू । म कम्पनीमा औपचारीक रुपमा नलागे पनि दाईको कम्पनीमा काम गरिराको छु । म तपाईँलाई भेट्न आन्सान आउँछु ।

यसैकारण, म स्वदेश फिर्नुभन्दा केही दिनअगाडि आन्सान बजार पुगेको थिएँ । आन्सानको मध्य भागमा रहेको ग्राउन्डमा उसलाई बोलाए । उसले भन्यो, ‘म पनि अहिले बेरोजगार छु । मैले काम छाडेको एक महिना भयो । सायद बुढो भइयो, कचकच गरिरह्यो । कहिले हिटर नबाल भन्ने, कहिले रेडियो नबजा भन्ने, कहिले रातमा आँखा नचिम्लि बसिरहनु पर्छ भन्ने, कहिले कम्पनी सरसफाई गर भन्ने । मलाई पनि चित्त बुझेन नि ।’ त्यसपछि हामी त्यहाँ अवस्थित नेपाली रेष्टुरेन्टमा नेपाली खाना खायौँ । उसले निकै मीठो मानेर खायो खाना । हामीले खोजू पनि पियौँ । दुई तीन घण्टा बितायौँ । त्यसको एक हप्तापछि त म नेपाल आइपुगेको थिएँ । आज हाम्रो कुरा हुन नपाएको अढाई बर्ष नाघेछ । मलाई थाहा छैन ऊ मलाई कति सम्झिरहेछ तर म कहिलेकाहीँ सपनामा उसलाई देख्ने गर्छु । साराङ हेयो आजसि ।

प्रतिक्रियाहरू