कोरिया जान रोकिएका नेपाली युवा लैजान कोरिया सकारात्मक

8195

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गतका नेपाली श्रमिकलाई आफ्नो मुलुकमा लैजान कोरिया सकारात्मक देखिएको छ । नेपालसहित विदेशी श्रमिकलाई ल्याउने सम्बन्धमा कोरियाले अन्तरसरकारी निकायबीच छलफल अघि बढाएको छ । ईपीएसअन्तर्गत कोरिया जान रोकिएका नेपाली युवालाई प्रवेश गराउने सम्बन्धमा मानव संशाधन बोर्ड कोरियाले अन्य सरकारी निकायसँग छलफल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा काम गरिएका श्रम रोजगार मन्त्रालय, कानुन मन्त्रालय र एचआरडी कोरियाले विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा छलफल अघि बढाएको जनाइएको छ । नेपाल सरकारले भिसा लागेर बसेका श्रमिकलाई लैजान बारम्बार अनुरोध गर्दै आए पनि एचआरडीले छलफल र अध्ययन गरिरहेको बताउँदै आएको छ ।

कोरियाको संक्रमण रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले विदेशी श्रमिकको आगमन अनुमतिलाई रोक्का गरेका कारण एचआरडीले खुलाउने सम्बन्धमा पहल अघि बढाएको हो । विदेशी श्रमिकलाई प्रवेश गराउने सम्बन्धमा कोरियाको श्रम मन्त्रालय अन्तर्गतको एचआरडी र भिसा प्रक्रियाको लागि कानुन मन्त्रालय अन्तर्गतको अध्यागमन विभागले सहजीकरण गर्दै आइरहेका छन् । यी निकायले विदेश श्रमिक ल्याउँदा हुने जोखिम र अवसरका सम्बन्धमा रोग नियन्त्रण तथा रोकथाम एजेन्सीसँग छलफल गरिरहेका छन् ।
कोरियाले पहिलो चरणको कोभिड नियन्त्रण गरेपछि कम्बोडिया र श्रीलंकाबाट केही श्रमिक लैजान सुरु गरे पनि पछिल्लो समय पुनः रोकेको थियो । नेपाल लगायतका विदेशी श्रमिकलाई लैजाने बारे तयारी भइरहेका बेला कोभिड भाइरस संक्रमण दोस्रो चरणमा प्रवेश गरेपछि विदेशी श्रमिकलाई रोक्ने निर्णयलाई निरन्तरता दिएको थियो ।
वैदेशिक रोजगार विभाग ईपीएस शाखाका प्रमुख इन्द्र गौतमले नेपाली युवा कोरिया जाने कार्य रोकिए पनि माग भने निरन्तर आइरहेका कारण कोरियाले प्रवेश गराउने तयारी गरिरहेको बुझ्न सकिने बताए । कोरियाको कृषि क्षेत्रमा विदेशी श्रमिकको चरम अभाव भए पनि त्यहाँको रोग नियन्त्रण कार्यालयले तत्काल खुला नगरेपछि एचआरडीले प्रक्रिया सहजीकरण गरेको छ । कोरियाका रोजगारदाताले विदेशी श्रमिक माग गरिरहेको भएपनि त्यहाँको रोग नियन्त्रण तथा रोकथाम एजेन्सीले प्रवेश अनुमतिलाई निरन्तता दिएपछि एचआरडीले अवस्था हेरेर खोल्ने तयारी गर्न अनुरोध गरिरहेको छ । नेपालसहित १६ श्रम स्रोत मुलुकले प्रवेशलाई सहजीकरण गर्न सम्बन्धित देशको एनआरडीसँग अनुरोध गदै आइरहेको भएपनि संक्रमण नघटेका कारण प्रवेश अनुमति खुला हुन सकेको छैन ।
नेपाल पर्यटन बोर्डका कोरिया प्रतिनिधि एवम् एनआरएनए कोरियाका पूर्वअध्यक्ष केपी सिटौलाले कोरिया सरकारले दक्षिण एसियामा नेपालसहितका देशलाई कोरोनाको उच्च जोखिममा राखेका कारण केही ढिलो भएको बताए । कोरियाले गैरश्रमिक नागरिकलाई स्वास्थ्य मापदण्ड पालन गरेर आगमन र प्रस्थान अनुमति दिएपनि श्रमिकको सम्बन्धमा भने कडाइ गर्दै आएको छ । विदेशी श्रमिकलाई कडाई गरेपछि बिदामा नेपाल आउन चाहाने र भिसा लिएर कोरिया जाने तयारीमा रहेका हजारौं नेपाली दुवै देशमा रोकिएका छन् ।
कोभिड संकटका कारण चैतयता नयाँ र कमिटेड ६ हजार ५ सय नेपाली युवाले कोरिया प्रवेशमा अनुमति पाएका छैनन् । नेपालसहित १६ राष्ट्रबाट बर्सेनि ५० हजार युवा कोरिया प्रवेश गर्ने गरेको भए पनि १० महिनायता सो क्रम रोकिएको छ । कोभिड संकट लम्बिएपछि भिसा पाएका कमिटेड श्रमिक, श्रम सम्झौता गरेका र बिदामा आएका ६ हजार ५ सय मध्ये ७ सय जनाको रद्द भएको शाखाले जनाएको छ । कोरियाबाट हालसम्म २ हजार ५ सय ३६ नेपाली उद्धार उडान मार्फत नेपाल आए पनि कोरिया प्रवेशको अनुमति कसैले पनि पाएका छैनन् । कोरियाबाट फर्कनेमा विद्यार्थी र अन्य भिसामा गएकाहरूको संख्यासहित २ हजार ५ सय ३६ छ ।

प्रतिक्रियाहरू