कोरियाबाट गगनको शव नेपाल पठाउन लागेको खर्च र संकलित रकम सार्वजनिक

8094

दक्षिण कोरियामा चैत्र १८ गते हृदयघातका कारण मृत्यु भएका गगन रावलको शव नेपाल पठाउन लागेको सम्पूर्ण खर्च तथा सहयोगी दाताहरूबाट प्राप्त सहयोग रकम सुर्खेत समाज द.कोरियाले सार्वजनिक गरेको छ ।

कोरोना कहरका कारण चार्टर बिमान मार्फत शव नेपाल पठाउनु पर्ने अवस्थाका कारण यहाँ रहेका नेपालीमाझ कर्णाली प्रदेश समाज र सुर्खेत समाज द. कोरियाले अभियान चलाएर आर्थिक सहयोग गर्न अपिल गरेका थिए । जसमा ६१२ जना नेपालीबाट २ करोड १९ लाख ७४ हजार ८ सय ८ कोरियन वन संकलन भएको सुर्खेत समाज द. कोरियाका अध्यक्ष बखत थापाले जानकारी दिनुभयो । यसैगरि शव नेपाल पठाउन भनेर नेपाली राजदुतावास दक्षिण कोरियाबाट ३६ लाख कोरियन वन र कम्पनी मालिकको तर्फबाट ३० लाख वन सहायता भएको थियो ।

जस मध्ये शव नेपाल पठाउन १ करोड १३ लाख वन र कोरियामा अस्पतालमा १० लाख ७१ हजार ५०० वन खर्च भएको बताईएको छ । बाँकी रकम १७ लाख ४६ हजार ६ सय ७८ नेपाली रुपैयाँ मृतकका परिवारलाई पठाईएको बताईएको छ । सो रकम सुर्खेत समाज द कोरियाका निवर्तमान अध्यक्ष लोकेश खत्री, संस्थापक अध्यक्ष लक्ष्मीप्रसाद ढकाल र पुर्व सल्लाहकार अमर मर्साङ्गी, कुशल प्रसाद अधिकारी र कोरिया रिटन ग्रुपका पदाधिकारी मृतक रावलको घरमा पुगी वार्ड अध्यक्ष नमराज जैसी र राष्ट्रिय युवा परिषद सुर्खेत जिल्लाका अध्यक्ष निरज भट्टराईको रोहवरमा मृतकका परिवारलाई पठाईएको मृतकका साथी भोजराज घोडासैनीले बताउनु भयो ।

अप्ठ्यारो परिस्थितिमा कोरिया बासी नेपालीले साथ दिएकोमा सुर्खेत समाज कोरियाका अध्यक्ष बखत थापा र कर्णाली प्रदेश समाजका अध्यक्ष प्रकाश बस्नेतले सम्पूर्ण सहयोगीहरू लाई धन्यवाद दिनु भएको छ ।

प्रतिक्रियाहरू